ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

स्वदेशी प्याकेजिङ उद्योग प्रवर्द्धनको नीति बजेटमै सीमित

२०७७ माघ, ८  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल

वीरगञ्ज । सरकारले चालू आर्थिक वर्ष (आव) २०७७/७८ को बजेटमार्फत स्वदेशी औषधि उद्योगले स्थानीय उद्योगबाट किनेको प्याकेजिङ मेटेरियलमा मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता दिने घोषणा गरेपछि प्याकेजिङ उद्योगी उत्साहित भए । विगत १७ वर्षदेखि उठाइएको माग पूरा भएको भन्दै प्याकेजिङ उद्यमीमा पलाएको यो उत्साह धेरै दिन टिक्न भने पाएन ।

औषधि उद्योगले स्वदेशी उद्योगबाट प्याकिङ मेटेरियल नकिनेपछि प्याकेजिङ उद्योगी निराश बनेका छन् । सरकारले बजेटमार्फत औषधि उद्योगले स्वदेशमा किनेको मेटेरियलमा भ्याट फिर्ता दिने भने पनि औषधि उद्योग उदासीन देखिएको प्रिन्टो प्याक उद्योगका प्रबन्ध निर्देशक रवीन्द्र बरनवालले बताए ।

औषधि उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ, सहायक कच्चा पदार्थ र प्याकिङ मेटेरियल किन्दा तिरेको भ्याट छूट दिने घोषणा बजेटमा गरिएको थियो । तर, औषधि उद्योगहरूले यो सुविधा उपयोगमा चासो देखाएका छैनन् ।

प्याकिङ मेटेरियलमा भन्सारमै भन्सार महसुल र भ्याट छूट हुने भएपछि औषधि उद्योगले स्वदेशी उद्योगबाट यस्ता सामग्री नकिनेका हुन् । औषधि उद्योगले कच्चा पदार्थ, सहायक कच्चा पदार्थ र प्याकिङ मेटेरियलमा १ प्रतिशत पैठारी महसुल तिरे पुग्छ ।

नाकामै सहुलियत पाएपछि स्वदेशी उद्योगबाट किनेर फिर्ता प्रक्रियामा जान नचाहेको एक औषधि उद्योगीले बताए । ‘भ्याट फिर्ता हुने भएपछि हामीले कैयौं उद्योगलाई प्याकिङ मेटेरियल किन्न आग्रह ग¥यौं । तर, उनीहरूले रुचि देखाएनन्,’ उद्योगी बरनवालले आर्थिक अभियानसँग भने ।

आयातको बेला भन्सार बिन्दुमै पाइने सुविधाका लागि स्वदेशमा समान किनेर पुनः अर्को निकायमा पुग्नुपर्ने व्यवस्था नै व्यावहारिक नभएको औषधि उद्योगीको भनाइ छ । ‘स्वदेशी प्याकेजिङ उद्योगको उत्पादन तुलनात्मक सस्तो भए सोच्न पनि सकिन्थ्यो । तर, मूल्य उस्तै परेपछि औषधि उद्योगले झन्झट लिन नखोज्नु स्वाभाविक हो,’ उनले भने ।

अहिले १५ ओटा प्याकेजिङ उद्योगमा करीब ४ अर्ब रुपैयाँको लगानी छ । यस्ता उद्योगले आयात गर्ने कच्चा पदार्थको मूल्यांकन र महसुलमा नीतिगत समस्या रहेको उद्यमीहरूले बताएका छन् ।

प्याकेजिङ उद्योगको कच्चा पदार्थमा मूल्यांकन र राजस्वका कारण प्याकिङ मेटेरियल महँगो परेको उद्योगी बरनवालले बताए । प्याकेजिङ उद्योगले कच्चा पदार्थमा १५ प्रतिशत भन्सार र १३ प्रतिशत भ्याट तिर्नुपर्छ ।

सरकारले स्वदेशी उद्योग प्रवद्र्धनको नीति अवलम्बन गर्न नसकेको मेट्रिक्स प्रिन्टर्सका सञ्चालक अरबिन्द अमात्यको टिप्पणी छ । ‘कच्चा पदार्थमा लिइने राजस्व कम्तीमा एक तह कम हुनुपर्छ । कतिपय अवस्थामा तयारी वस्तुभन्दा कच्चा पदार्थमा राजस्व बढी हुन्छ । यस्तोमा उद्योगको प्रवद्र्धन हुन सक्दैन,’ उद्योगी अमात्यले भने ।

स्वदेशका ४ दर्जन औषधि उत्पादकले वर्षमा कम्तीमा १ अर्ब रुपैयाँबराबरको प्याकिङ मेटेरियल आयात गर्छन् । यस्ता अधिकांश उद्योगले भारतबाट सामग्री ल्याउँछन् । स्वदेशमै किनेको प्याकिङ मेटेरियलमा भ्याट छूट पाउने भएपछि स्थानीय उद्योगको प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास गरिएकोमा सरकारी नीति कार्यान्वयनमै समस्या देखिएको उद्यागीहरू बताउँछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)