ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दर्जनभन्दा बढी वस्तुको निर्यात घट्यो

२०७७ माघ, ८  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । नेपालबाट समग्रमा निर्यात बढ्दो क्रममा रहे पनि केही वस्तुको निर्यात भने घटेको छ । चालू आर्थिक वर्षको पहिलो ५ महीनामा कुल वस्तु निर्यात ५ दशमलव १२ प्रतिशतले बढेको छ । तर, यसै अवधिमा दर्जनभन्दा बढी वस्तुको निर्यात घटेको छ ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र (टीईपीसी)को चालू आवको मङ्सिर मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो । केन्द्रका अनुसार समीक्षा अवधिमा प्रशोधित पाम आयल, दलहन, छाला, तामाका उत्पादन, हस्तकलाका सामग्री, आइरन तथा स्टीलका उत्पादन, जुताचप्पल, धागो जस्ता सामग्रीको निर्यात घटेको छ । यस्तै, रोजिन तथा रेजिन एसिड, तयारी पोशाक, कपडा, जुस, कार्पेट जस्ता सामग्रीको निर्यात घटेको केन्द्रको तथ्यांकले देखाएको छ ।

उक्त अवधिमा प्रशोधित पाम आयलको निर्यात सबैभन्दा धेरै घटेको छ । नेपाली व्यवसायीले मलेशिया लगायत मुलुकबाट कच्चा पाम आयल ल्याएर प्रशोधन गरी भारतमा निर्यात गर्दै आएका थिए । तर, गत चैतदेखि भारतले यसको आयातमा प्रतिबन्ध लगाएपछि नेपालबाट निर्यात ठप्पप्रायः रहेको केन्द्रका वरिष्ठ अधिकृत कृष्ण बजगाईंले बताए । समीक्षा अवधिमा पाम आयल निर्यात ४ लाख ४३ हजार बराबरको मात्र भएको छ । गत आवको सोही अवधिमा ११ अर्ब ५२ करोडको पाम आयल निर्यात भएको थियो ।

अधिकांश वस्तुको निर्यातमा कमी आउनुको कारण कोरोना कहर पनि भएको बुझिएको छ । कोरोनाका कारण उत्पादनका साथै निर्यात गन्तव्य मुलुकमा माग घट्दा निर्यात प्रभावित भएको बजगाईंको भनाइ छ । यद्यपि, यस विषयमा गहन अध्ययन भने भइनसकेको उनले बताए ।

धागो, कपडा, तयारी पोशाक, फलाम तथा स्टीलका उत्पादन, सुतीका झोला लगायत सामग्रीको माग घटेसँगै निर्यातमा कमी आएको हो । धागो, कपडाको ठूलो बजार टर्की हो । तर, अहिले त्यहाँ यसको माग घटेको छ । यस्तै, भारतमा निर्माण कम हुँदा आइरन तथा स्टीलका उत्पादनको निर्यात घटेको बजगाईंले बताए । यसैगरी तयारी पोशाक, सुतीका कपडा लगायत सामग्रीको मुख्य बजार यूरोप, अमेरिकामा यस्ता वस्तुको माग खस्किएको उनको भनाइ छ ।

‘कुल निर्यात बढे पनि दर्जनभन्दा बढी वस्तुको निर्यात घटेको देखियो । यसमा केही प्रभाव कोरोनाको पनि हो,’ उनले भने, ‘सम्बन्धित मुलुकमा माग घट्दा यी वस्तुको निर्यातमा ह्रास आएको हो ।’ समीक्षा अवधिमा दलहन सामग्रीको निर्यात ७५ प्रतिशत घटेको छ । मङ्सिर मसान्तसम्ममा यस्ता सामग्री १८ करोड ५३ लाख रुपैयाँको निर्यात भएको छ । गत आवको यसै अवधिमा रू. ७३ करोड १५ लाख बराबरको निर्यात भएको थियो ।

यसैगरी छालाको निर्यात ५८ प्रतिशत घटेको छ । गत आवको समीक्षा अवधिमा ११ अर्ब १० लाखको छाला निर्यात भएको थियो । तर, अहिले रू. ४ करोड ६२ लाखको मात्र निर्यात भएको छ । तथ्यांकअनुसार समीक्षा अवधिमा तामाका सामग्रीको निर्यात ३७ प्रतिशत र हस्तकला सामग्रीको निर्यात ३३ प्रतिशतले घटेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)