ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निक्षेप र कर्जा वृद्धि ऋणात्मक

२०७७ माघ, ११  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा

काठमाडौं । माघको पहिलो साता बैंकिङ प्रणालीमा निक्षेपको वृद्धिदर ऋणात्मक देखिएको छ । निक्षेप मात्र होइन, सुधारोन्मुख कर्जा वृद्धिदर पनि संकुचनमा आएको छ ।

नेपाल बैंकर्स संघले सार्वजनिक गरेको तथ्यांकअनुसार २७ ओटा वाणिज्य बैंकहरूको माघको पहिलो साता निक्षेप वृद्धिदर रू. ३ अर्बले घटेर कुल निक्षेप ३७ खर्ब ७९ अर्ब रुपैयाँमा सीमित भएको छ । यसअघिको सातामा २१ अर्ब रुपैयाँले निक्षेप वृद्धि हुँदा कुल निक्षेप रू. ३७ खर्ब ८२ अर्ब रुपैयाँसम्म पुगेको थियो ।

यसैगरी कर्जावृद्धिमा पनि माघ पहिलो साता रू.८ अर्बले संकुचन आउँदा कुल कर्जा रू ३२ खर्ब ३६ अर्बमा सीमित भएको छ । यसअघि पुस मसान्तसम्म यस्तो कर्जा रू. ५९ अर्बले थपिँदा रू. ३२ खर्ब ४४ अर्ब रुपैयाँ पुगेको थियो ।

पुस मसान्तसम्ममा उद्योगी तथा व्यवसायीहरूले सरकारलाई कर बुझाउनुपर्ने भएकाले माघ पहिलो साता निक्षेप तथा कर्जा दुवैको वृद्धिदरमा संकुचन आएको नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहाल बताउँछन् । उनका अनुसार विशेष गरेर संस्थागत निक्षेपकर्ताहरूले बचतबाट सरकारलाई कर तिर्ने गर्छन् र अन्य संस्थाहरूले ऋण लिएर भए पनि कर तिर्ने गर्छन् । ‘दूरसञ्चार, विद्युत् प्राधिकरण, आयल निगमजस्ता संस्थाहरूले निक्षेपबाटै कर तिर्ने गर्छन् । व्यवसायीहरूले भने कर्जा लिएरै भए पनि कर तिर्ने गरेका छन् । यसकारण पुस मसान्तपछि निक्षेप वृद्धिमा कमी आएको हो,’ उनले अभियानसँग भने ।

बैंकहरूबाट प्रवाह हुने कर्जाको ब्याजदर घटेपछि निक्षेपको व्याजदरसमेत घटाउँदै आएका छन् । निक्षेपको ब्याजदर घटेकाले निक्षेप संकलनसमेत ऋणात्मक भएको आकलन गरिन्छ । तर, पछिल्लो समय आयात बढ्न थालेकाले निक्षेप घटेको हुनसक्ने उनको भनाइ छ ।

गत कात्तिकमा पनि निक्षेप संकलन ऋणात्मक भएको थियो । तर, मङ्सिरमा आएर सुधार देखिएको थियो । गत कात्तिकमा यस्तो निक्षेप ६ अर्बले ऋणात्मक हुँदा कुल निक्षेप रू. ३६ खर्ब ४८ अर्ब रुपैयाँमा सीमित थियो । यस्तै, गत मङ्सिरसम्ममा निक्षेप संकलन ४६ अर्ब रुपैयाँले वृद्धि भएर कुल निक्षेप संकलन रू. ३६ खर्ब ९४ अर्ब पुगेको थियो ।

मङ्सिरसम्म आइपुग्दा निक्षेपसँगै कर्जामा पनि क्रमशः सुधार भएको संघले बताएको छ । संघका अनुसार गत कात्तिकमा रू. १७ अर्बले कर्जा प्रवाह बढ्दा यस अवधिसम्म कुल कर्जा रू. ३० खर्ब ५२ अर्ब रुपैयाँमा सीमित थियो ।

गत मङ्सिरमा कर्जाप्रवाह थप ४९ अर्ब रुपैयाँ वृद्धि हुँदा कुल ३१ खर्ब १ अर्ब रुपैयाँ पुगेको थियो । यो वृद्धिदर कात्तिकको तुलनामा बढी हो । तिहारपछि आर्थिक गतिविधिहरू एकदमै बढेकाले बैंकहरूको कारोबार कोभिडपूर्व जस्तो नभए पनि धेरै सुधार भने भएको देखिन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)