धनगढी । कैलालीमा विभिन्न प्रकृतिका सहकारी संस्था ७ सय हाराहारीमा दर्ता भएको पाइएको छ । यद्यपि क्रियाशील सहकारीको संख्या ६२० मात्र रहेको जिल्ला सहकारी संघ कैलालीले बताएको छ । क्रियाशील सहकारी संस्थाको ऋण लगानी ४ अर्ब ६ करोड पुगेको संघको तथ्यांक छ ।
बहुउद्देश्यीय, दुग्ध, बचत तथा ऋण, कृषि, ग्रामीण विद्युतीकरण लगायत प्रकृतिका ६२० सहकारीको शेयर पूँजी ६० करोड र निक्षेप संकलन ४ अर्ब रहेको जिल्ला सहकारी संघ कैलालीका अध्यक्ष फणीराज सापकोटाले जानकारी दिए । जिल्लामा पछिल्लो समय सहकारी खोल्ने क्रम बढेको भन्दै उनले जिल्ला सहकारी संघमा मात्र ४४६ सहकारी आबद्ध रहेको बताए ।
जिल्लामा क्रियाशील सहकारीहरूमा महिला शेयर सदस्य संख्या ७१ हजार ८०० र पुरुष शेयर सदस्य संख्या ८९ हजार ४५३ रहेको संघले बताएको छ । ती सहकारीको कोष रकम ५१ करोड ३१ लाख र अनुदान रकम १६ करोड ४३ लाख रहेको जानकारी अध्यक्ष सापकोटाले दिए । जिल्लामा सञ्चालित सहकारीमा ६५३ पुरुष र ४५४ महिलाले प्रत्यक्ष रोजगारी पाएको संघको तथ्यांक छ । जिल्लामा सहकारी खोल्ने होडबाजी चलेको र केही समयपछि निष्क्रिय हुने क्रम पनि बढेकाले लगानीको जोखिम देखिएको जिल्ला सहकारी संघका उपाध्यक्ष भूपेन्द्र थापाले बताए ।
सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी घोषणासँगै कैलालीको गोदावरी नगरपालिकाभित्र पनि पछिल्लो समय धेरै सहकारी खुलेका छन् । सरकारले सहकारीलाई तीनखम्बे अर्थनीति अन्तर्गत परिभाषित गरेपछि गाउँगाउँमा सहकारी खोल्ने होडबाजी चलेको देखिन्छ । आर्थिक वर्ष २०७६/७७ मा मात्र गोदावरी नगरपालिकाभित्र सञ्चालित विभिन्न प्रकृतिका २३ ओटा सहकारीले ३८ करोड ४० लाख ६ हजार ६४८ रुपैयाँ ऋण लगानी गरेको पाइएको छ ।
गोदावरी नगरपालिकाभित्र ४३ सहकारी संस्था स्थापना भएको नगरपालिका सहकारी शाखाका प्रमुख दिव्यराज जोशीले जानकारी दिए । यीमध्ये दुईओटा सहकारी निष्क्रिय रहेको र दुईओटा सहकारी भर्खरै खुलेको उनले बताए । ‘केही सहकारीले अझै हिसाब मिलान नगरेकाले त्यस सम्बन्धमा हामीले पटकपटक पत्राचार गरेका छौं,’ उनले भने । दर्तामा भएका ४३ सहकारीमध्ये २३ ओटाको मात्र आव २०७६/७७ मा पूँजी, बचत, ऋण, शेयर सदस्य संख्या र कर्मचारी विवरण प्राप्त भएको नगरपालिकाले बताएको छ ।
सो अवधिसम्ममा उक्त सहकारीको बचत ३० करोड ४६ लाख ५५ हजार, कुल पूँजी २० करोड २२ लाख ५१ हजार र कुल ऋण लगानी ३८ करोड ४० लाख ६ हजार पुगेको तथ्यांकले देखाएको छ । हिसाब मिलान गरेका २३ ओटा सहकारीमा कुल शेयर सदस्य संख्या १४ हजार ४३७ र कार्यरत कर्मचारीको संख्या ८५ रहेको सहकारी शाखा प्रमुख जोशीले बताए । पछिल्लो समय गोदावरी नगरपालिकामा सहकारी खोल्ने लहर चले पनि प्रायः सहकारी अझै पनि सहकारी ऐनअनुसार समयमै हिसाब मिलानदेखि आर्थिक स्थायित्वमा चुक्ने गरेको अधिकारीहरू बताउँछन् ।
कतिपय शेयर सदस्यले सहकारी पनि हुनेखाने वर्गको पहुँचमै सीमित रहेको गुनासो गर्ने गरेका छन् । यस्तै कतिपय सहकारी सञ्चालकले आफूअनुकूल ऋण लगानी गर्ने, लक्षित समुदायलाई भन्दा आफू निकटका लागि सहज रूपमा ऋण उपलब्ध गराउने जस्ता प्रवृत्तिले साना व्यवसायी मारमा पर्ने गरेको गुनासो पनि वर्षेनि बढ्दो छ ।