ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विद्युत् विक्री गर्न भारतमा हालेको टेन्डरबाट बाहिरियो प्राधिकरण

२०७७ माघ, ११  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । वर्षा याममा २५ मेगावाट विद्युत् आपूर्ति गराउने गरी भारतको बीआरपीएल नामक कम्पनीमा हालेको टेन्डरबाट नेपाल विद्युत् प्राधिकरण बाहिरिएको छ । प्रतिस्पर्धामा सहभागी भएका अन्य कम्पनीहरूको भन्दा प्राधिकरणले प्रस्ताव गरेको विद्युत् महसुल दर बढी भएपछि उक्त टेन्डरबाट प्राधिकरण बाहिरिएको हो ।

हाल प्राधिकरणले भारतबाट प्रतियुनिट ६ रुपैयाँ ६२ पैसा (४ दशमलव १४ भारतीय रुपैयाँ) मा भारतीय विद्युत् किन्दै आएको छ । भारतमा पनि सोही दरमा विद्युत् विक्री गर्ने गरि प्राधिकरणले बोलपत्र पेश गरेको थियो । तर, अन्य कम्पनीहरूले त्यो भन्दा पनि कम दरमा विद्युत् उपलब्ध गराउने गरी बोलपत्र पेश गरेपछि प्राधिकरण बाहिरिएको हो । प्राधिकरणका निमित्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्रस्ताववित विद्युत् महसुलदर अन्यको तुलनामा बढी भएपछि प्रतिस्पर्धाबाट बाहिरिएको पुष्टि गरे ।

‘हामीले जुन दरमा विद्युत् उपलब्ध गराउँछौं भनेका थियौं । त्यो भन्दा पनि सस्तो दरमा नै विद्युत् उपलब्ध गराउने गरी अन्य कम्पनीहरूले बोलपत्र पेश गरेका रहेछन्,’ उनले भने, ‘यसरी हामीले प्रस्ताव गरेको महसुलदर बढी भएपछि उक्त प्रतिस्पर्धाबाट बाहिरिनुपर्‍यो ।’

विद्युत् आपूर्ति गराउने सम्बन्धमा भारतको बीआरपीएल कम्पनीले भारतकै एनभीभीएन कम्पनीमार्फत टेन्डर आह्वान गरेको थियो । बीआरपीएल भारतको विद्युत्् वितरण गर्ने कम्पनी हो । उक्त कम्पनीले २५ देखि ७०० मेगावाट सम्म विद्युत् आपूर्ति गर्नेगरी टेन्डर आह्वान गरेको थियो । त्यसमा प्राधिकरणले विद्युत् नियमन आयोगको स्वीकृति लिएर २५ मेगावाट विद्युत् उपलब्ध गराउने गरी एनभीभीएनमार्फत बोलपत्र पेश गरेको थियो ।

विशेषगरी प्राधिकरणले जुनदेखि सेप्टेम्बरसम्म (४ महीना) २५ मेगावाट विद्युत् उपलब्ध गराउने गरी बोलपत्र पेश गरेको थियो । नेपालमा वर्षा याममा आवश्यकभन्दा बढी बिजुली उत्पादन हुन्छ । त्यो अवस्थामा खेर जाने बिजुली प्राधिकरणले भारतीय बजारमा व्यापारिक रूपमा नै विक्री गर्न खोजेको थियो ।

प्राधिकरणले पछिल्लो केही वर्षदेखि पावर एक्सचेन्जमार्फत भारतीय बजारमा विद्युत् निर्यात गरे पनि व्यापारिक रूपमा निर्यात गरेको थिएन । विदेशी बजारमा प्रतिस्पर्धात्मक रूपमा नै बिजुली निर्यात गर्ने प्राधिकरणको यो पहिलो प्रयास पनि थियो । तर, यस मामलामा प्राधिकरणको पहिलो प्रयास नै असफल भएको छ । यद्यपि, भारतीय बजारमा बिजुली विक्री गर्ने बाटो बन्द नै नभएको प्राधिकरणको भनाइ छ ।

प्राधिकरणका निमित्त कार्यकारी निर्देशक शाक्यले यसपटकको प्रयास सफल भए पनि भारतीय बजारलाई बुझ्न भने सहज भएको बताए । ‘टेन्डरमा पहिलो प्रयास नै सफल हुन्छ भन्ने हुँदैन । यो एउटा स्वाभाविक प्रक्रिया पनि हो,’ उनले भने, ‘यद्यपि, हामीलाई भारतीय विद्युत् व्यापारको बजार बुझ्ने अवसर भने भयो ।’

यस्तै, उनले अबको बोलपत्रमा सहभागी हुँदा सस्तोदरमा नै विद्युत् उपलब्ध गराउने गरी प्रस्ताव पेश गर्ने बताए । ‘हामीले भारतदेखि खरीद गर्ने बिजुलीको दर महँगो थियो । सोही दरमा नै विद्युत् विक्री गर्छांै भन्दा नै असफल भइएको हो,’ उनले भने, ‘अब सम्बद्ध निकायले अख्तियारी दियो भने त्योभन्दा पनि कमदरमा बोलपत्र पेश गर्न सक्छौं ।’ नेपालमा विद्युत् उत्पादन तथा खरीदको लागत त्योभन्दा पनि कम छ । त्यो अवस्थामा अबका दिनमा लागत मूल्य बराबरको विक्री दर राखेर बोलपत्र पेश गर्न सकिने उनको भनाइ छ । ‘यद्यपि, भारतमा बिजुलीको मूल्यदर सधैं तल हुन्छ भन्ने पनि छैन । कुनै समयमा बढ्न पनि सक्छ,’ उनले भने, ‘तर, अब तत्काल आउने सक्ने टेन्डरमा भने लागत मूल्य बराबरको विक्रीदर राखेर नै सहभागी हुने योजनामा छौं ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [1]
User Image

Ram simkhada

[Jan 24, 2021 04:01am]

लाभ लागतकाे अाधारमा टेण्डर गर्नु पर्नेमा हचुवाकाे भरमा टेण्डर हाल्ने यस्तााेाे हचुवा तालले प्राधिकरण नडुवाउलान भन्न के बेर ? भारतकाे मामिलामा उसकाे लाभ लागत त्यति नै हाेला ,तर हाम्राे लागत त्याे भन्दा बढि वा कम हुन पनि त सक्छ नि । विश्लेषण नै नगरि हचुवाकाे भरमा टेण्डर हाल्ने यस्ता पनि त जि एम भएकाे देख्न पाईंदाे रहेछ,जीवन बांचिरहे । राजनितिमा भारतकाे भर परेकाे त खुलेअाम थाहा थियाे अब हुंदा हुंदा लाभ लागतकाे विश्लेषण नै नगरि हचुवामा भारतकाे मूल्यदरलाई नै कायम गर्ने यस्ता जिएम पनि भेटिदा अब नेपाल बैचारिक र भाैतिक दुबैमा भारत केन्द्रित नै भएकाे हाे त ? अब याे बगेर खेर गएकाे २५ मे वाटकाे पुर्ति गर्न भगवान नै दाहिना हुनु पर्ने भयाे त ? कुलमानकाे अनुपस्थित खड्किएकै हाृ त ?



   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)