ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दोलखामा स्वास्थ्य चौकी पुनर्निर्माणको गति सुस्त

२०७७ माघ, ११  
Aarthik Abhiyan 18th Anniversary Image Not Found
निर्माणाधीन सुस्पाक्षमावती स्वास्थ्य चौकी भवन । तस्वीर : नवराज शिवकोटी/ आर्थिक अभियान
author avatar नवराज शिवाकोटी

माघ ११, दोलखा । विनासकारी भुकम्प २०७२ पछि दोलखामा स्वास्थ्य चौकी भवनहरुको निर्माणको गति सुस्त देखिएको छ । भूकम्प गएको पाँच वर्षको समयावधिमा दोलखामा एउटा मात्र स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न भइ हस्तान्तरण हुनुले भुकम्प पछि स्वास्थ्य चौकिहरुको पुनर्निर्माण सुस्त देखिएको हो । 

भुकम्पपछि तामाकोशी गाउँपालिकाको मालु स्वास्थ्य चौकीको मात्र पूनर्निर्माण सम्पन्न भइ हस्तान्तरण भएको जिल्ला आयोजना कार्यन्वयन एकाई भवन, दोलखाका सब–इञ्जिनीयर रामशरण न्यौपानेले बताए ।

 हाल भीमेश्वर नगरपालिकाको सुस्पाक्षमावती, तामाकोशी गाउँपालिकाको च्यामा र हाँवा तथा  शैलुङ गाउँपाललिकाको फस्कुमा स्वास्थ्य चौकि भवनहरु निर्माणाधिन रहेको न्यौपानेको भनाइ छ । 

जिल्ला आयोजना कार्यन्वयन इकाई भवनका अनुसार विगु गाउँपालिकाको ओराङ, मेलुङ गाउँपालिकाको पवटी, भिमेश्वर नगरपालिकाको मकैवारी  तथा शैलुङ गाउपालिकाको शैलुङ स्वास्थ्य चौकीको पक्की भवन निर्माण कार्यको ठेक्का लगाई सकिएको छ । 

यस्तै जिल्लाका विभिन्न स्थानीय तहरुमा रहेको १७ ओटा स्वास्थ्य चौकी भवनहरुको निर्माणकालागि टेन्डर प्रक्रिया शुरु भएको जिल्ला आयोजना कार्यन्वयन इकाई भवन दोलखाले बताएको छ ।  त्यसैगरी वाग्मती प्रदेश सरकारबाट तामाकोशी गाउँपालिकाको जफेमा स्वास्थ्य चौकी निर्माण प्रक्रिया शुरु भएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभु झाले बताए ।

भुकम्प अघि नै निर्माण गरिएका तथा भुकम्प अघि निर्माण शुरु गरी भुकम्प पछि सम्पन्न भएका  विगु गाउँपालिकाको लादुक, बुलुङ र खोपाचागु तथा कालिञ्चोक गाउँपालिकाको सुनखानी  र सुन्द्रावतीमा भने मापदन्ड अनुसारकानै पक्की स्वास्थ्य चौकी भवनहरु रहेका छन् ।

ग्रामिण जनतालाई प्रत्यक्ष स्वास्थ्य सेवा उपलब्ध गराउने  सरकारी कार्यालयको पक्कि भवन नहुँदा सेवा उपलब्ध गराउन समस्या भएको स्वास्थ्य चौकीहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुको गुनासो छ ।

भूकम्पपछि कतिपय स्वास्थ्य चौकीहरुमा प्रि–फ्याब भवनहरु बनेका छन् भने कतिपय ट्रसबाट सेवा दिइरहेका छन् ।  जस्ताबाट बनेका ट्रसबाट स्वास्थ्यसेवा उपलब्ध गराइरहँदा स्वास्थ्य कर्मीहरुको स्वास्थ्यमै नकारात्मक अशर परिरहेको उनीहरुको भनाई छ । 

आम जनताको स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्ध राख्ने स्वास्थ्य चौकीको निर्माणमा ढिलाईले स्वास्थ्य क्षेत्रलाई सरकारले कम प्राथमिकतामा राखेको हो कि भन्ने आफूहरुलाई लागेको स्वास्थ्य क्षेत्रमा लामो समय सम्म काम गरी सेवा निवृत्त भएका भीमेश्वर नगरपालिका- १ का गोपाल शिवाकोटीले बताए ।
हाल दोलखामा दुई सरकारी अस्पत्ताल, स्वास्थय केन्द्र दुई तथा स्वास्थ्य चौकी ५३ ओटा रहेको जिल्ला स्वास्थ्य कार्यालय दोलखाको तथ्याङ्क छ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)