ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

३२.१२% ले बढ्यो जीवन बीमा व्यवसाय

२०७७ माघ, १२  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । कोरोना भाइरसका महामारीका बीच पनि चालू आर्थिक वर्ष (आव) २०७७/७८ को पहिलो ६ महीनामा बीमाशुल्क संकलन ३२ दशमलव १२ प्रतिशतले बढेको छ । कोरोना नियन्त्रण गर्न लगाइएको बन्दाबन्दी तथा निषेधाज्ञाले गत चैतदेखि असार/साउनसम्म नै जीवन बीमा व्यवसाय प्रभावित भएको थियो । तर, चालू आवको पुस मसान्तसम्म आउँदा जीवन बीमा व्यवसायमा उच्च सुधार देखिएको छ ।

बीमा समितिबाट प्राप्त पुस मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो । हाल नेपाल १९ जीवन बीमा कम्पनी सञ्चालनमा छन् । समितिका अनुसार पुस मसान्तसम्म उनीहरूले रू. ६२ अर्ब ८५ करोड बीमाशुल्क संकलन गरेका छन् । गत आवमा उनीहरूले ४७ अर्ब ५७ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए ।

कुल बीमाशुल्कमध्ये रू. २१ अर्ब ४ करोड प्रथम बीमाशुल्क (बीमा गर्दा पहिलोपटक बुझाइने किस्ता) रहेको छ । समितिका अनुसार प्रथम बीमाशुल्क संकलन भने ३७ दशमलव ५१ प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा रू. १५ करोड ३० लाख प्रथम बीमाशुल्क संकलन भएको थियो ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले कोरोना संकटमा पनि जीवन बीमा व्यवसायमा राम्रो वृद्धि देखिएको बताए । ‘कोरोना महामारीले जीवन बीमामा जति असर पुग्ने अनुमान गरेको थियौं, त्यो अनुसार भएन,’ उनले भने, ‘शुरूका समयमा केही अप्ठ्यारो भए पनि अहिले जीवन बीमा व्यवसायले गति लिइसकेको छ ।’

विशेषगरी कम्पनीहरूले नयाँ प्रडक्ट ल्याउनु, कोरोनाका कारण बीमाको महŒव बढ्नुलगायत कारण व्यवसाय बढेको उनले बताए । साथै, कम्पनीहरूले परिस्थितिअनुसार व्यावसायिक योजना बनाएर काम गर्दा पनि व्यवसाय बढेको उनको भनाइ छ । ‘यहीअनुसार नै व्यवसाय बढ्दै गए चालू आवको अन्त्यसम्म जीवन बीमाबाट मात्र १ खर्ब ३० करोड रुपैयाँ बीमाशुल्क संकलन हुन सक्छ,’ उनले भने ।

यता, प्राइम लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार भट्टराईले पनि कोरोना महामारीका बीच व्यवसायमा राम्रो वृद्धि देखिएको बताए । ‘कोरोना भाइरसका कारण अहिले जुन अप्ठ्यारो परिस्थिति उत्पन्न भएको छ । यस्तो हुँदाहुँदै पनि बीमाशुल्क संकलन राम्रो भएको छ,’ उनले भने, ‘साथै, यो यस तथ्यांकले अबका दिनमा पनि जीवन बीमा व्यवसाय बढ्दै जाने नै देखिएको छ ।’

कोरोना त्रासमा पनि भर्चुअल माध्यमबाट अभिकर्तालाई उत्पे्ररण दिने, नयाँ प्रडक्टका विषयमा जानकारी दिनेजस्ता कामहरू बीमा कम्पनीहरूबाट भएको छ । नवीकरण बीमाशुल्क अनलाइनमार्पmत पनि भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ भने अनलाइनमार्फत नै बीमा पोलिसी जारी गर्न सकिने व्यवस्थासमेत केही कम्पनीहरूले गरेका छन् । यी कारणले पनि यस अवधिमा जीवन बीमाको व्यवसाय बढेको उनको भनाइ छ ।

कुल बीमाशुल्क संकलन गर्ने मामलामा नेपाल लाइफ अग्र स्थानमा देखिएको छ । उक्त कम्पनीले रू. १७ अर्ब ६२ करोड बीमाशुल्क संकलन गरेको छ । दोस्रो बढी बिमा शुल्क बढी संकलन गर्नेमा लाइफ इन्स्योरेन्स कम्र्पाेरेशन छ, जसले रू. ९ अर्ब ६१ करोड बीमाशुल्क संकलन गरेको छ । साथै, राष्ट्रिय बीमा संस्थानले रू. ५ अर्ब ५१ करोड बीमाशुल्क संकलन गरेको छ भने नेशनल लाइफले रू. ५ अर्ब ५४ करोड र युनियन लाइफले ३ अर्ब ३० करोड बीमाशुल्क संकलन गरेका छन् ।

प्रथम बीमाशुल्क संकलनको मामलामा पनि नेपाल लाइफ नै अग्र स्थानमा देखिएको छ । उक्त कम्पनीले रू. ४ अर्ब ६७ करोड बीमाशुल्क संकलन गरेको छ । यस्तै, दोस्रो नम्बरमा पनि एलआईसी नेपाल रहेको छ, उक्त कम्पनीले रू. २ अर्ब ५ करोड प्रथम बीमाशुल्क संकलन गरेको छ । तेस्रोमा नेशनल लाइफ छ । कम्पनीले रू. १ अर्ब ८५ करोड प्रथम बीमाशुल्क संकलन गरेको छ । युनियन लाइफले रू. १ अर्ब ७६ करोड र एशियन लाइफले रू. १ अर्ब १७ करोड प्रथम बीमाशुल्क संकलन गरेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)