ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विद्युत्को आयात ६८० मेवा पुग्यो

२०७७ माघ, १५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । विद्युत्को आन्तरिक उत्पादन घटेपछि भारतबाट हुने विद्युत्को आयात नयाँ उचाइमा पुगेको छ । आन्तरिक माग आपूर्ति गर्न अहिले ‘पिक आवर’ मा ६८० मेगावटसम्म विद्युत् आयात भएको छ, जुन हालसम्मकै उच्च हो ।

गत पुसमा पिक आवरमा ६३८ मेगावाटसम्म विद्युत् आयात भएको थियो । पछिल्लो समय विद्युत्को माग पनि बढ्दै गएको र उत्पादन पनि घटेपछि विद्युत् आयात बढाउन परेको हो ।

नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको भारप्रेषण केन्द्रका प्रमुख सुरेश भट्टराईले हाल पिक आवरमा ६८० मेगावाटसम्म विद्युत् आयात गरिएको बताए । त्यो हालसम्मकै उच्च भएको पनि उनको भनाइ छ । अहिले प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर, रक्सौल–परवानीपुर, कुशाहा–कटैयालगायत अन्तरदेशीय प्रसारणलाइनबाट भारतीय विद्युत् आयात गर्दै आएको छ ।

विद्युत्को आन्तरिक उत्पादन घटेपछि आयात बढाउनु परेको हो । यसपटक आन्तरिक उत्पादन बढी मात्रामा घटेको र माग पनि बढेकाले बढी मात्रामा विद्युत् आयात गर्नु परेको प्राधिकरणको भनाइ छ ।

नेपालमा रहेको अधिकांश विद्युत् आयोजना नदी प्रवाहमा आधारित छन् । हिउँदको समयमा खोला÷नदीमा पानीको प्रवाह कम हुने भएकाले विद्युत् उत्पादन कम हुन्छ । अहिले निजीक्षेत्रका जलविद्युत् आयोजनाबाट २७० मेगावाटसम्म मात्र विद्युत् उत्पादन भएको छ ।

वर्षा याममा भने उनीहरूबाट ७०० मेगावाटको हाराहारीमा विद्युत् उत्पादन हुन्छ ।

वर्षा याममा प्राधिकरणअन्तर्गतका विभिन्न आयोजनाबाट ६३६ मेगावाटसम्म विद्युत् उत्पादन गर्न सकिन्छ । तर, अहिले प्राधिकरणको जलाशययुक्तसहित विभिन्न आयोजनाबाट करीब ४९० मेगावाटको हारहारीमा मात्र विद्युत् उत्पादन भइरहेको छ । यसरी विद्युत् उत्पादन कम भएपछि विद्युत् आयात बढाउनु परेको भट्टराईले बताए ।

पछिल्लो समय विद्युत्को माग पनि बढ्दै गएको उनले बताए । पछिल्लो समय औद्योगिक क्षेत्रबाट पनि विद्युत्को माग बढ्दै गएको उनको भनाइ छ । ‘पछिल्लो समय विद्युत्को मागपछि बढ्दै गएको छ । विशेषगरी औद्योगिक क्षेत्रको विद्युत् माग बढेको छ,’ उनले भने, ‘अहिले पिक आवरसम्म १४५० मेगावाटसम्म विद्युत्को माग हुने गरेको छ ।’ यसरी विद्युत् माग पनि बढेपछि अघिपछि भन्दा बढी विद्युत् आयात गर्नु परेको उनको भनाइ छ ।

कोरोना भाइरस नियन्त्रण गर्न लगाइएको बन्दाबन्दी कारण उद्योग बन्द हुँदा औद्योगिक क्षेत्रबाट विद्युत्को माग भएको थिएन । बन्दाबन्दी खुले पनि कोरोनाका त्रासका कारण पूर्ण रूपमा उद्योगहरू सञ्चालन भएनन् । तर, अहिले कोरोनाको त्रासका बीच पनि उद्योगहरू पूर्ण रूपमा सञ्चालनमा आउँदै छन् । त्यसैले औद्योगिक क्षेत्रबाट विद्युत्को माग बढदै गएको हो ।

अहिले विद्युतको आपूर्ति व्यवस्थापन गर्न कुलेखानी जलाशययुक्त जलविद्युत् आयोजनालाई २४ सै घण्टा चलाइएको छ । उक्त आयोजना प्रायः पिक आवरमा मात्र सञ्चालन गरिन्छ । तर, अहिले २४ घण्टा नै सञ्चालन गरिएको प्राधिकरणको भनाइ छ ।

प्राधिकरणका अर्ध जलाशय आयोजनाहरूबाट पनि पिक आवरमा उच्च क्षमतामा विद्युत् उत्पादन गरिएको छ ।

भारप्रेषण केन्द्रका प्रमुख भट्टराईले अबका दिनमा थप विद्युत् आयात गर्नुपर्ने अवस्था आउने बताए । ‘खोला/नदीमा पानी प्रवाह (बहाव) घट्दै छ । त्यसअनुसार आन्तरिक उत्पादन अझै घट्ने देखिन्छ,’ उनले भने, ‘त्यसमाथि विद्युत्को माग पनि बढ्दै छ । त्यो अवस्थामा विद्युत्को आयात अझै गर्नुपर्ने हुन सक्छ ।

नेपालमा वर्षात्मा पानी पर्याप्त मात्रामा हुने भएकाले आवश्यकभन्दा पनि बढी विद्युत् उत्पादन गर्न सकिन्छ । त्यस अवस्थामा पावर एक्सचेन्जमार्फत प्राधिकरणले भारतमा विद्युत् निर्यात पनि गर्छ । तर, हिउँदमा भने पानी प्रवाह कम हुँदा विद्युत् उत्पादन कम हुन्छ । फलस्वरूप हिउँदमा भारतबाट विद्युत् आयात गर्नुपर्ने बाध्यता रहेको छ ।

अधिकांश आयोजना नदी प्रवाहमा आधारित अर्थात् आरओआर हुँदा यस्तो समस्या भएको जानकारहरू बताउँछन् । जलाशलय युक्त तथा स्टोरेज आयोजनाहरूको विकास गर्न सके यस्तो समस्या नहुने प्राधिकरणको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)