ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दोस्रो त्रैमासमा २.२६% ले घट्यो वाणिज्य बैंकहरूको औसत नाफा

२०७७ माघ, १६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा author avatar मिलन विश्वकर्मा

काठमाडौं । चालू आर्थिक वर्ष (आव)को दोस्रो त्रैमासमा वाणिज्य बैंकहरूको औसत नाफा घटेको पाइएको छ । कोरोना विपद्का कारण गत आवको चौथो त्रैमासदेखि नै वाणिज्य बैंकहरूको औसत नाफा घट्न शुरू गरेको थियो । त्यो क्रमले चालू आवको दोस्रो त्रैमासमा पनि निरन्तरता पाएको छ । यद्यपि, घट्ने दर भने कम हुँदै गएको छ ।

चालू आवको दोस्रो त्रैमासमा २७ वाणिज्य बैंकमध्ये २६ ओटाको (नेपाल स्टक एक्सचेन्जमा दर्ता भएकाको मात्र) नाफा औसतमा २ दशमलव २६ प्रतिशतले घटेको हो । बिहीवारसम्म उनीहरूले सार्वजनिक गरेको दोस्रो त्रैमासको वित्तीय विवरणले यस्तो देखाएको हो ।

राष्ट्रिय वाणिज्य बैंकले भने यस अवधिको वित्तीय विवरण सार्वजनिक गरेको छैन । उक्त बैंक नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छैन । समीक्षा अवधिमा २६ वाणिज्य बैंकहरूले कुल २९ अर्ब ३२ करोड ४३ लाख खुद नाफा कमाएका छन् । जुन गत आवको सोही अवधिको भन्दा ६७ करोड ७७ लाख रुपैयाँले घटी हो । गत आवको सोही अवधिमा बैंकहरूले रू. ३० अर्ब २१ लाख नाफा कमाएका थिए ।

गत आवको चौथो त्रैमाससम्ममा २७ वाणिज्य बैंकहरूको औसत नाफा १३ दशमलव २१ प्रतिशतले घटेको थियो । यस्तै, चालू आवको पहिलो त्रैमास उनीहरूको औसत नाफा ६ दशमलव ५३ प्रतिशतले घटेको छ ।

अहिले भने २६ वाणिज्य बैंकलाई आधार मान्दा २ दशमलव २६ प्रतिशतले औसत नाफा घटेको छ । त्यसअनुसार कोरोना संकटबाट बैंकहरूको व्यवसाय विस्तारै लयमा फर्किंदै गएको पनि देखिएको छ ।

केही वाणिज्य बैंकहरू मर्जरमा जाँदा नाफा कम मात्रामा घटेको बताइएको छ । पछिल्लो समय एनएमबी बैंक, कुमारी बैंक, प्राइम बैंक, मेगा बैंकलगायत वाणिज्य बैंकहरूले केही विकास बैंकहरूलाई गाभेका छन् । यसरी दुई बैंक मर्ज हुँदा उनीहरूको नाफा बढेको हो । त्यसैको असरले समग्र नाफामा कम असर देखिएको बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बताए । ‘मर्जरको प्रभावले पनि नाफामा कम असर देखिएको हो ।

मर्जर नभएको भए नाफा अझै प्रभावित हुने थियो,’ उनले भने, ‘मर्जरलाई छुट्ट्याएर हेर्ने हो भने गत आव ६ महीना र चालू आवको ६ महीनाको नाफाको अन्तर अझै लामो हुने थियो ।’

आर्थिक गतिविधि कम हुँदा, बैंकहरूको व्यावसायिक गतिविधि कम हुँदा आम्दानी घट्न गई नाफा पनि घटेको उनको भनाइ छ । ‘अहिले हामीले ठूलो मात्रामा लोन लस प्रोभिजनिङ पनि गरेका छौं, त्यसैको असरले पनि नाफा रकम बढ्न नसकेको हो,’ उनले भने ।

अघिल्ला आवहरूमा बैंकहरूको नाफा उलेख्य रूपमा वृद्धि हुने गरेको थियो । तर, गत आवको शुरूदेखि भनेबैंकहरूको नाफा वृद्धिदर कम हुँदै  आयो । कोरोना संकट शुरू भएपछि गत आवको चौथो त्रैमासबाट भने बैंकहरूको नाफा नै घट्न थालेको छ । तर, अब भने विस्तारै नाफा रकम बढ्दै जाने बैंकहरूको अपेक्षा छ ।

बैंकर्स संघका अध्यक्ष दाहालले अबका दिनमा बैंकहरूको व्यवसाय राम्रो हुँदै जाने बताए । ‘अहिले बैंकहरूको व्यावसायिक अवस्था सुधारउन्मुख नै छ । अबका दिनमा कोरोनाको संकट कम हुँदै जाने अपेक्षा गरेका छौं,’ उनले भने ।

कोरोना भाइरस नियन्त्रण गर्न झन्डै ४ महीनासम्म लगाइएको बन्दाबन्दीको असर उद्योग क्षेत्रसहित बैंकबाट ऋण लिएका ऋणीहरूमा प¥यो । त्यसपछि राष्ट्र बैंकले मौद्रिक नीतिमार्पmत कोरोना प्रभावित ऋणीहरूको ब्याज तथा किस्ता तिर्ने म्याद थप गरिदियो । फलस्वरूप बैंकको मुख्य आम्दानीका रूपमा लिइने ब्याज आम्दानी पूर्ण रूपमा हुन सकेको थिएन । त्यसैको असरले नै बैंकको नाफा प्रभावित भएको बैंकरहरू बताउँछन् ।

समीक्षा अवधिमा १० वाणिज्य बैंकको मात्रामा नाफा बढेको छ भने १६ ओटाको घटेको छ । समीक्षा अवधिमा ग्लोबल आईएमई बैंकको ३७ प्रतिशत, एनआईसी एशिया बैंकको ३ प्रतिशत, प्राइम कमर्शियलको ३९ प्रतिशत, एनएमबीको ४७ प्रतिशत र प्रभु बैंकको ४० प्रतिशतले नाफा बढेको छ । यसैगरी मेगा बैंकको ३७ प्रतिशत, कुमारी बैंकको ५१ प्रतिशत, सनराइज बैंकको १ प्रतिशत, नेपाल बैंगलादेश बैंकको ३६ प्रतिशत र सिटिजन्स इन्टरनेशन बैंकको २७ प्रतिशतले नाफा बढेको छ । अन्य बैंकहरूको भने नाफा घटेको सम्बद्ध बैंकहरूको वित्तीय  विवरणले देखाएको छ ।

नेप्सेमा सूचीकृत बैंकमध्ये नाफा कमाउने मामलामा यसपटक ग्लोबल आईएमई बैंक पहिलो नम्बरमा आएको छ । समीक्षा अवधिमा उक्त बैंकले रू. २ अर्ब ३१ करोड ५१ लाख नाफा कमाएको छ । यस्तै, दोस्रो नम्बरमा रहेको एनआईसी एशियाले रू. २ अर्ब ६ करोड ५ लाख नाफा कमाएको छ । यस्तै, तेस्रो स्थानमा रहेको नबिल बैंकले रू. २ अर्ब १ करोड ६० लाख नाफा कमाएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)