ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भटमासको तेल निर्यात २९०% ले बढ्यो

२०७७ माघ, १९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar काशीराम बजगाईं

काठमाडौं । चालू आर्थिक वर्ष (आव)को पहिलो ६ महीनामा भटमासको तेलको निर्यात २९० प्रतिशतले वृद्धि भएको छ । नेपाल व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र (टीईपीसी)का अनुसार यस अवधिमा नेपालबाट रू. १७ अर्बको भटमासको तेल निर्यात भएको छ । अघिल्लो वर्षको यही अवधिमा नेपालले रू. ४ अर्बको भटमासको तेल निर्यात गरेको थियो ।

यस अवधिमा अघिल्लो वर्ष शीर्षस्थानमा रहेको पाम तेलको निर्यात भने २७औं नम्बरमा पुगेको छ । अघिल्लो आवको पहिलो ६ महीनामा रू. १३ अर्ब ८९ करोडको पाम तेल निर्यात भएकोमा चालू आवको सोही अवधिमा रू. ४ लाखको मात्रै निर्यात भएको छ ।

पाम तेलको निर्यात आव २०७५/७६ को शुरूदेखि नै बढ्दै गएको थियो । अघिल्लो वर्ष पुस अन्तिम साता भारतले कुल निर्यातको करीब २४ प्रतिशतसम्म अंश रहेको पामको निर्यातमा भारतले प्रतिबन्ध लगाएको थियो । नेपालका लागि पाम र भटमासको तेलको बजार भारत हो ।

नेपाली व्यवसायीहरूले तेस्रो मुलुकबाट कच्चा पाम आयलको आयात गरी प्रशोधन गरी भारततर्फ निर्यात गर्ने गरेका थिए ।

भारतले प्रतिबन्ध लगाएपछि व्यवसायीहरूले पामको सट्टा भटमासको तेलको उद्योगमा भटमासको तेलको उत्पादन गर्न शुरू गरेका हुन् ।

भारतले प्रतिबन्ध लगाउनुअघि वीरगञ्ज र विराटनगर गरी १८ ओटा उद्योगबाट व्यवसायीले ८० प्रतिशतसम्म पाम र बाँकी भटमासको तेल उत्पादन गर्ने गरेका थिए । भारतले प्रतिबन्ध लगाएपछि व्यवसायीले पामको विकल्पको रूपमा भटमासको तेललाई अघि सारेका हुन् ।

पाम तेलको बजार अभावपछि पामको ठाउँमा भटमासको तेल उत्पादन गर्न शुरू गरिएको विराटनगरका व्यवसायी तथा मुरारका इन्डस्ट्रिजका सञ्चालक प्रदीप मुरारकाले बताए । ‘पाम तेलको निर्यातमा लगाएको प्रतिबन्ध र कोरोनाका कारण बन्द भएका उद्योगहरू क्रमशः खुल्न थालेका छन्,’ उनले भने, ‘पछिल्लो समय भटमासको तेलको माग बढ्दै गएकोमा पामको विकल्पका रूपमा भटमासको तेलको उत्पादन शुरू गरिएको छ ।’

भटमासपछि नेपालबाट सबैभन्दा बढी निर्यात हुने वस्तुमा क्रमशः ऊन, अलैंची, कार्पेट, जुट, रेडिमेट गार्मेन्ट, चियालगायत वस्तु रहेको टीईपीसीका वरिष्ठ अधिकृत कृष्ण बजगाईले जानकारी दिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)