ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नागढुंगा–मुग्लिन सडक स्तरोन्नति

२०७७ माघ, २०  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar हिमा वि.क.

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गतको नागढुंगा–मलेखु–मुग्लिन सडक खण्डको स्तरोन्नतिका लागि ४२ ओटा स्वदेशी तथा विदेशी कम्पनी प्रि–क्वालिफिकेशन (पीक्यू)मा छनोट भएका छन् । सडक विभागले डेढ महीनाअघि निकालेको ग्लोबल टेन्डर आह्वानमा सडक विभागले तोकेको सबै मापदण्ड पूरा गरेका ती कम्पनीलाई पीक्यूमा छनोट गरिएको हो । तीमध्ये अधिकांश चिनियाँ कम्पनी रहेका छन् ।

नागढुुंगा–मलेखु–मुग्लिनको ९६ किलोमीटर (किमी) सडक स्तरोन्नति गर्न कुल रू. १६ अर्बको प्याकेज भए पनि अहिले रू. ९ अर्बको ठेक्का निकालिएको हो । तीनओटा प्याकेजमा ठेक्का व्यवस्थापन गर्ने तयारी गरेको विभागले पहिलो र दोस्रो क्रमशः नागढुंगा–नौबीसे र नौबीसे–मलेखु प्याकेज निर्माणको प्रस्ताव गरेका ती कम्पनीलाई पीक्यूमा छनोट गरेको हो । यी दुईओटा प्याकेजको लम्बाइ भने ५६ किमी रहेको छ ।

यी खण्ड निर्माणका लागि पीक्यू छनोटमा नेपाल, चीन र भारतका निर्माण कम्पनी रहेका छन् । यीमध्ये चिनियाँ कम्पनीको संख्या उल्लेख्य रहेको छ । चीनका ३० भन्दा बढी कम्पनी छनोट भएका छन् भने त्यसपछि भारतका कम्पनी छन् । सडक स्तरोन्नति गर्न नेपाली निर्माण कम्पनीले पनि बिड हालेका थिए भने पीक्यूमा पाँचओटा कम्पनी छनोट भएका छन् ।

विभागको विकास सहायता कार्यान्वयन महाशाखाका उपमहानिर्देशक अर्जुनजंग थापाले सडक स्तरोन्नतिका लागि राखिएका मापदण्डहरू पूरा गर्ने सबैलाई सहभागी बनाउने जानकारी दिए । ‘पीक्यूमा जति छनोट भएका छन्, उनीहरूबीचको बिडमा प्रतिस्पर्धा हुनेछ,’ थापाले भने, ‘पीक्यूपछि अब आर्थिक प्रस्ताव आह्वान हुन्छ ।

सहभागी कम्पनी धेरै भए प्रतिस्पर्धा बढी हुने भएकाले मापदण्ड पुगेकालाई छनोटमा कन्जुस्याइँ गरिँदैन ।’

मलेखु–मुग्लिन खण्डको ४० किमी सडक स्तरोन्नतिको रू. ७ अर्बको तेस्रो प्याकेजको टेन्डर पनि छिटै निकालिने थापाले बताए । नागढुंगा–नौबीसे खण्ड पहिलो, नौबीसे–मलेखु दोस्रो र मलेखु–मुग्लिन तेस्रो गरी ३ प्याकेज बनाइएको छ ।

विकास साझेदार विश्व बैंकको सहायतामा २९ वर्षअघि निर्माण भएको नागढुुंगा–मलेखु–मुग्लिन सडक खण्ड स्तरोन्नति गर्न सोही बैंकले गत जेठमा ऋण सहायता उपलब्ध गराएपछि निर्माणको प्रक्रिया अघि बढेको हो ।

उक्त सडक खण्डको स्तरोन्नतिका साथै २२ ओटा नयाँ पुल निर्माण पनि हुनेछन् । २०५० सालमा बनेका तीनओटा आग्रा, बेलपुर र मलेखु पुलबाहेक नयाँ पुल थपिनेछ । ‘यो वर्ष टेन्डर गर्ने, ठेक्का सम्झौता र साइट क्लियर जस्ता अन्य काम सम्पन्न गरिनेछ,’ थापाले भने, ‘उक्त सडक खण्डको काम भने आगामी आर्थिक वर्ष २०७८÷७९ को हिउँदबाट शुरू गरिनेछ ।’ अहिलेको भन्दा धेरै स्तरीय र गुणस्तरको बन्ने यो सडक २ देखि ६ लेनमा स्तरोन्नति गरिनेछ । गजुरी, मलेखुजस्ता बस्ती बसेका स्थानमा ५ देखि ६ लेनको पनि हुन सक्नेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)