ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आधार दर घट्दा सस्तो बन्दै कर्जाको ब्याजदर

२०७७ माघ, २१  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar ममता थापा

काठमाडौं । चालू आर्थिक वर्ष (आव) को शुरूदेखि नियन्त्रणमा आएको वाणिज्य बैंकहरूको आधार दर दोस्रो त्रैमासमा झन् घटेको छ । विशेष गरेर बैंकहरूले धमाधम निक्षेपको लागत घटाएपछि आधार दरसमेत घटेको हो । आधार दर घटेसँगै ऋणीहरूले कम ब्याजदरमा कर्जा पाउनेछन् ।

सञ्चालनमा रहेका २७ ओटा वाणिज्य बैंकको पुस मसान्तमा आधार दर क्रमशः घटेर सबैभन्दा कम ५ दशमलव ६१ प्रतिशतदेखि सबैभन्दा बढी ८ दशमलव ४५ प्रतिशत पुगेको छ । यसअवधिमा सबैभन्दा कम आधार दर सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकको रहेको छ । सबैभन्दा बढी आधार दर सिभिल बैंकको रहेको छ । एक वर्ष अघिसम्म बैंकहरूको आधार दर दोहोरो अंकसम्म रहेको थियो । जसले गर्दा कर्जाको ब्याजदरसमेत उच्च थियो । तर, चालू आवमा भने बैंकहरूको आधार दर एकल अंकमा झरेको छ ।

गत आवको दोस्रो त्रैमासकोे तुलनामा वाणिज्य बैंकहरूको आधार दर न्यूनतम शून्य दशमलव ९९ प्रतिशत विन्दुदेखि २ दशमलव ५३ प्रतिशत विन्दुसम्म घटेको छ । यसअनुसार बैंकहरूको आधार दर गत आवको दोस्रो त्रैमासको तुलनामा औसत २ दशमलव ३० प्रतिशत विन्दुले घटेरको छ । यसरी घटेर चालू आवको पुसमा आधार दर औसत ७ दशमलव १९ प्रतिशतमा सीमित छ ।

वाणिज्य बैंकहरूको आधार दर घटेसँगै अब फ्लोटिङ ब्याजदर पनि घट्ने तर स्थिर ब्याजदरमा यसले कुनै प्रभाव नपार्ने नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहालले बताए । ‘सबै बैंकको आधार दर घटेको छ । अब ऋणीले सस्तो फ्लोटिङ ब्याजदरमा कर्जा पाउँछन्,’ उनले भने । चालू आवको पुसमा सानिमा बैंकको आधार दर ६ दशमलव ८३ प्रतिशत रहेको छ । गत आवको यही अवधिमा ८ दशमलव ६२ प्रतिशत रहेको थियो ।

गत आवको पुसमा १० दशमलव ३५ प्रतिशत आधार दर भएको सिटिजन्स इन्टरनेशनल बैंकको चालू आवको सोही अवधिमा ८ दशमलव ४५ प्रतिशतमा झरेको छ । बैंकको आधार दर घटे पनि वाणिज्य बैंकहरूमध्ये यो दोस्रो बढी आधार दर हो । सिटिजन्स इन्टरनेशनल बैंकका प्रवक्ता बोधराज देवकोटा अहिले बैंकहरूको निक्षेपको ब्याजदरमा आएको नियन्त्रणले गर्दा आधार दर घट्न गएको बताउँछन् । उनका अनुसार बैंकहरूले माघ १ गतेदेखि लागू हुनेगरी निक्षेपको ब्याजदर घटाउने बताएका थिए ।  

‘विगतमा मुद्दती निक्षेपमा १० प्रतिशतसम्म पाइन्थ्यो । तर, अहिले घट्दै धेरै बैंकको १ वर्षे निक्षेप ६–७ प्रतिशतमा सीमित भएको छ । साथै सामान्य बचतको ब्याजदर पनि न्यूनतम विन्दुमा आएको छ,’ देवकोटाले अभियानसँग भने, ‘कुन बैंकले कतिसम्म निक्षेपको ब्याजदर घटाए त्यहीअनुसार आधार दरमा प्रभाव पर्छ ।

अरू फ्याक्टर पनि हुन्छन् तर निक्षेपको ब्याजदर घटेकाले आधार दर कम भएको हो ।’

सबैभन्दा कम आधार दर हुने राष्ट्रिय वाणिज्य बैंकपछि दोस्रो बैंक नबिल हो । यस्को आधार दर ५ दशमलव ७६ प्रतिशत रहेको छ । यसैगरी क्रमशः स्ट्यान्डर्ड चार्टर्डको ६ दशमलव शून्य ७, नेपाल बैंकको ६ दशमलव १९, एभरेष्टको ६ दशमलव ३४, नेपाल इन्भेष्टमेन्टको ६ दशमलव ५६, एनआईसी एशियाको ६ दशमलव ६५, ग्लोबल आईएमईको ६ दशमलव ६७, सानिमा र हिमालयनको ६ दशमलव ८३ प्रतिशत आधार दर कायम रहेको छ । यसबाहेक प्रभु, लक्ष्मी, सनराइज, मेगा, सिद्धार्थ, एनएमबी, नेपाल एसबीआई, माछापुच्छ्रे, बैंक अफ काठमाडौं, कृषि विकास बेंक, प्राइम, सेञ्चुरी, कुमारी, नेपाल क्रेडिट एन्ड कमर्श र नेपाल बंगलादेश बैंकको आधार दर ७ प्रतिशतदेखि ८ प्रतिशतको बीचमा रहेको छ ।

बजारमा पर्याप्त तरलता पनि रहेको र आधार दर पनि घटेकाले ऋणीहरूलाई फाइदा भएको सिटिजन्स बैंकका प्रवक्ता देवकोटाको भनाइ छ ।

‘केही हदसम्म सस्तो दरमा ऋण उपभोग गर्दा उनीहरूको लागत पनि घट्छ । यसले संस्थागत रूपमा र समग्र अर्थतन्त्रमा राम्रो प्रभाव पार्छ,’ उनले भने ।

दोस्रो त्रैमासको आधारमा अहिले पाँचओटा बैंकको कर्जा पूँजी निक्षेप अनुपात (सीसीडी) भने केही कसिलो देखिन्छ । मेगा, एनएमबी, सानिमा, प्राइम बैंक र बैंक अफ काठमाडौंको सीसीडी ८० प्रतिशतभन्दा माथि छ । यसबाहेकका २२ बैंकको सीसीडी ७९ प्रतिशत कम छ । सबैभन्दा बढी लगानीयोग्य पूँजी स्ट्यान्डर्ड चार्टर्ड, राष्ट्रिय वाणिज्य बैंक, प्रभु र नेपाल बैंकको छ । यी बैंकको सीसीडी ६२ दशमलव ७५ प्रतिशतदेखि ७० प्रतिशतको बीचमा रहेको छ । केन्द्रीय बैंकले चालू आवमा सीसीडी ८० बाट बढाएर ८५ प्रतिशतसम्म पुर्‍याएको छ ।

राष्ट्र बैंकका अनुसार पुस मसान्तसम्म वाणिज्य बैंकको सीसीडी औसत ७४ प्रतिशतको हाराहारीमा थियो भने माघमा सीसीडी औसत ७५ प्रतिशत पुगेको छ ।

अहिले बजारमा करीब ८६ अर्ब रुपैयाँबराबरको अधिक तरलता रहेको नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट बताउँछन् । ७१ अर्ब रुपैयाँ बराबरको तरलता राष्ट्र बैंकले खिचेर राखेको उनले बताए । ‘बजारमा ७७ अर्ब रुपैयाँ पुनर्कर्जाबापतको रकम दिइसकेको छ । यसैले बजारमा अहिले देखेको तरलता पुनर्कर्जा दिएकाले हो ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)