ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भीसीटीएस प्रभावकारी : राजस्व विभाग

२०७७ माघ, २१  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे

काठमाडौं । सरकारले लागू गरेको भेइकल एन्ड कन्साइन्मेन्ट ट्र्याकिङ सिस्टम (भीसीटीएस) कार्यान्वयन पक्ष प्रभावकारी बन्दै गएको छ ।

राजस्व अनुसन्धान विभागका अनुसार भीसीटीएस प्रणाली कार्यान्वयनमा शुरूआती चरणमा केही अलमल देखिए पनि पछिल्ला दिनमा बिल तथा कारोबार विवरण प्रविष्टि गर्ने क्रम बढ्दै गएको छ ।

सरकारले व्यावसायिक प्रयोजनका मालवस्तु तथा ढुवानीका साधनको अनुगमन प्रणाली (भीसीटीएस) को सफ्टवेयर तयार गरी २०७६ साउन १ गतेबाट लागू गरेको थियो ।

गत भदौसम्ममा दैनिक १८ हजारले विवरण भीसीटीएस प्रणालीमा प्रविष्टि गर्दै आएकोमा अहिले त्यस्तो संख्या बढेर २१ हजारको हाराहारीमा पुगेको छ । विभागका अनुसार यो प्रणाली कार्यान्वयनको १७ महीनामा १ करोड २२ लाख ४४ हजारभन्दा बढी बिल दर्ता भएका छन् । त्यस्तो संख्या गत असारमा ७३ लाख मात्रै थियो । पछिल्ला दिनहरूमा व्यावसायिक फर्म तथा प्रतिष्ठानले आफूले कारोबार गरी सामान ओसारपसार गर्दाको विवरण प्रविष्टि गर्ने क्रम उल्लेखनीय रूपमा बढेको राजस्व अनुसन्धान विभागका अधिकारीहरूको भनाइ छ ।

यो प्रणालीको प्रभावकारी कार्यान्वयनका लागि यो अवधिमा करीब ६ सयओटा सवारीसाधन र फर्मको अनुगमन विभाग र मातहतका कार्यालयले गरेका छन् । प्रणालीको बेवास्ता गर्ने फर्म तथा व्यवसायीहरूबाट ३ करोड ५० लाखभन्दा बढी जरीवाना उठाइएको छ ।

विभागका महानिर्देशक दीर्घराज मैनालीका अनुसार जरीवाना गर्दा पहिलोपटक ५० हजारसम्म र त्यसपछि पटकैपिच्छे रू. १ लाखसम्म जरीवाना गर्न सकिने कानूनी व्यवस्था रहेकाले सोहीअनुसार कारबाही गर्ने गरिएको छ ।

उनले अवैध आर्थिक कारोबारलाई अन्त्य गर्दै औपचारिक अर्थतन्त्र निर्माण गर्नका लागि प्रणाली उपयुक्त बन्दै गएको दाबी गरेका छन् । ‘भीसीटीएसले आर्थिक सुशासन कायम गर्न मद्दत गर्नुका साथै व्यवसायीको पनि समय र लागत बचत गराएको छ,’ उनले भने, ‘करछली, चोरीपैठारी नियन्त्रणदेखि करको दायरा बढाउनसमेत भीसीटीएसले महत्त्वपूर्ण भूमिका खेलेको पाइयो ।’

मैनालीका अनुसार यो व्यवस्था लागूपछि मालवाहक सामान पटके चेकजाँच र रोकिनु पर्ने बाध्यता हटेको छ । राजमार्गमा रहेका सबै चेकपोस्टहरू राख्नुपर्ने अवस्थासमेत अन्त्य हुने क्रममा रहेको विभागको भनाइ छ ।

नेपाल उद्योग परिसंघका अध्यक्ष सतीशकुमार मोरले पनि भीसीटीएस प्रणाली कार्यान्वयनपछि स्वच्छ रूपमा व्यवसाय गर्ने वातावरण बनेको बताएका छन् ।

उनका अनुसार शुरुआती दिनमा सरकारले यो प्रणालीबारे निजीक्षेत्रलाई स्पष्ट पार्न नसके पनि पछिल्ला दिनमा यो प्रणाली अति उपयोगी रहेको महसूस व्यवसायीहरूले गरेका छन् । ‘निजीक्षेत्र खुशी छ, यो प्रणालीबारे कुनै उद्योगी÷व्यवसायीबाट समस्या परेको गुनासाहरू आएका छैनन्, अझ प्रभावकारी बनाउन हामीले के गर्नुपर्ने हो ? सरकारलाई मद्दत गर्नेछौं,’ उनले भने ।

के हो भीसीटीएस ?
एक ठाउँबाट अर्को ठाउँमा मालसामान ओसारपसार गर्नुपूर्व ढुवानी गरिने मालसामानको विवरण वेबमा आधारित केन्द्रीय सूचना प्रणालीमा प्रविष्टि गरेर मात्रै ओसारपसार गर्नुपर्ने प्रणाली नै भीसीटीएस हो ।

कारोबारको पारदर्शिता तथा व्यावसायिक प्रयोजनका लागि मालवस्तु तथा ढुवानी साधनको संक्षिप्त विवरण प्रविष्टि गरेर मात्र मालसामान ओसारपसार गरिन्छ ।

यसमा व्यावसायिक प्रयोजनका मालवस्तु आयात र निर्यातकर्ता, उद्योग, भन्सार एजेन्ट, ढुवानी कम्पनी र वितरक तथा थोक विक्रेताले विवरण भर्नुपर्छ ।

यो प्रणालीमा प्रवेश गर्दा प्रयोगकर्ताले आफैले युजर आईडी र पासवर्ड बनाउन सक्छन् । राजीव अनुसन्धान विभागको वेबसाइटमा लग इन गरी प्राप्त निर्देशानुसार मालवस्तु र ढुवानी साधनको संक्षिप्त विवरण प्रविष्ट गरिन्छ । मालसामान गन्तव्यमा पुगेपछि चालक र प्रयोगकर्ताले पुगेको जनाउ दिन सक्छन् । राजस्व अनुसन्धान विभागको वेबसाइटमा गएर उद्योगी व्यवसायीहरूले आफ्नो ढुवानी गर्ने वस्तु र साधनको संक्षिप्त विवरण सो प्रणालीमा प्रविष्ट गराउने व्यवस्था गरिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)