ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बुक बिल्डिङ विधिमा १८ कम्पनी थपिए

२०७७ माघ, २२  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar प्रजिता बुढाथोकी

काठमाडौं । बुक विल्डिङ विधिमार्फत निष्कासन हुने शेयरमा लगानी गर्न १८ संस्थागत लगानीकर्ता थपिएका छन् । यसअघि ४६ संस्थागत लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट योग्य संस्थागत लगानीकर्ताको स्वीकृति पाएका थिए । माघ २० गते थप १८ कम्पनीले स्वीकृति पाएका हुन् ।

स्वीकृत पाउने थप कम्पनीमा एनएमबी बैंक, नागरिक लगानी कोष, नागरिक स्टक डिलर लगायतका कम्पनी रहेका छन् ।  अब योग्य संस्थागत लगानीकर्ताको संख्या ६४ पुगेको छ ।

बोर्डका उपकार्यकारी निर्देशक रूपेश केसीले संस्थागत लगानीकर्ताको स्वीकृति पाउने क्रम निरन्तर चलिरहने हुनाले यो संख्या बढ्दै जाने बताए । थप केही कम्पनीले बोर्डमा संस्थागत लगानीकर्ताको स्वीकृतिका लागि निवेदन दिएको समेत केसीको भनाइ छ ।

यसअघि एफपीओमार्फत बोर्डले नै निर्धारण गरेको प्रिमियम थप गरेर एफपीओ जारी हुदैं आएकोमा अब बजारले नै मूल्य निर्धारण गर्नेगरी बोलकबोल विधिमार्फत आईपीओ विक्री हुने केसीको भनाइ छ ।  हालसम्म बोर्डमा यो विधिबाट आईपीओ निष्कासनका लागि आवेदन परेको छैन । सर्वोत्तम सिमेण्टले बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्ने प्रस्ताव वार्षिक साधारण सभाबाट पारित गरिसकेको समेत उनले जानकारी दिए ।

वास्तविक क्षेत्रका कम्पनीहरूको आईपीओको मूल्य बजारले निर्धारण गर्नेगरी बोर्डले बुक बिल्डिङ विधि लागू गरेको हो ।

अहिलेको शेयर लिलामी प्रक्रियाकै स्वरूपमा बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन हुनेछ । यो विधिमार्फत आईपीओ निष्कासन गर्दा योग्य संस्थागत लगानीकर्ताहरूबाट आशय मूल्य प्राप्त गर्नुपर्ने हुन्छ । निष्कासन कम्पनीले संस्थागत लगानीकर्ताका लागि बोलकबोलमार्फत आईपीओ निष्कासन गर्नुपर्ने हुन्छ । स्वीकृति प्राप्त गरेका योग्य संस्थागत लगानीकर्ताहरूले आईपीओ निष्कासन गरेको कम्पनीको प्राविधिक, वित्तीय, व्यवस्थापन, भावी योजनाको अध्ययन गरी मूल्य पेश गरी मूल्य निर्धारणमा सहयोग गर्नुपर्ने हुन्छ ।

आईपीओ निष्कासन गर्ने कम्पनीले योग्य संस्थागत लगानीकर्ताबाट प्राप्त आशय मूल्यको अध्ययन गरी आधार मूल्य तय गर्नुपर्ने र उक्त आधार मूल्यमा २० प्रतिशत थप गर्दा कायम हुने मूल्य माथिल्लो सीमा र २० प्रतिशत घटाउँदा कायम हुने मूल्य तल्लो सीमा हुने गरी मूल्य सीमा निर्धारण गर्नुपर्ने हुन्छ ।

यो विधिमार्फत कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई निष्कासन गरेको धितोपत्र पूर्ण रूपमा विक्री हुँदा कायम हुने कट अफ मूल्य निर्धारण गरी सो मूल्य वा सो भन्दा माथिल्लो मूल्यमा कबोल गर्ने सबै आवेदकलाई मागबमोजिम धितोपत्र बाँडफाँट गर्नुपर्नेछ ।

कट अफ मूल्यमा आवेदन गर्ने लगानीकर्तालाई माग बमोजिम धितोपत्र बाँडफाँट गर्न नपुगेमा समानुपातिक रूपमा बाँडफाँट गर्नुपर्नेछ । यसरी बाँडफाँट गर्दा नपरेको रकम बाँडफाँट भएको तीन कार्यदिनभित्र आर्जित ब्याजसहित फिर्ता गर्नुपर्ने वा खाता फुकुवा गर्नुपर्ने व्यवस्था समेत बोर्डले गरेको छ ।

संस्थागत लगानीकर्तामा आईपीओ बाँडफाँट गर्दाको कट अफ मूल्यलाई आधार बनाएर सर्वसाधारणमा आईपीओ जारी गर्नुपर्ने हुन्छ ।

बुक बिल्डिङ विधिमार्फत निष्कासित शेयरमा संस्थागत लगानीकर्ताको रूपमा सूचीकृत कम्पनी, सामूहिक लगानीकोष व्यवस्थापक, विशेष ऐनद्वारा स्थापित वित्तीय संस्था, सामूहिक लगानीकोष योजना, मान्यता प्राप्त अवकाश कोष, मर्चेण्ट बैंकर, धितोपत्र व्यापारी र नेटवर्थ न्यूनतम रू. १० करोड भएका धितोपत्र लगानी गर्ने उद्देश्यले स्थापित लगानी कम्पनीहरू रहन पाउने व्यवस्था छ ।

बोर्डले गत भदौ ३ गते सूचना जारी गरी बुक बिल्डिङ विधिमार्फत निष्कासन हुने शेयरमा लगानी गर्नका लागि संस्थागत लगानीकर्ताको स्वीकृति लिन आग्रह गरेको थियो ।

बुक बिल्डिङ विधिबाट संस्थागत लगानीकर्ताहरूलाई निष्कासन गरिएको शेयर धितोपत्र बजारमा सूचीकरण भएको मितिले ६ महिनासम्म विक्री वा हस्तान्तरण गर्न सकिने छैन । सर्वसाधारणतर्फको शेयर भने सूचीकरण भएको भोलिपल्टैदेखि कारोबार योग्य हुनेछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)