ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चुनौतीका चाङबीच बीमा समिति सम्हाल्दै सिलवाल

२०७७ माघ, २२  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । सरकारले बीमाक्षेत्रको नियामक निकाय बीमा समितिको अध्यक्षमा पूर्वसचिव सूर्यप्रसाद सिलवाललाई नियुक्ति गरेको छ । गत सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई समितिको आठौं अध्यक्षका रूपमा नियुक्त गरेको थियो ।

यसअघिका अध्यक्ष चिरञ्जीवी चापागाईंको कार्यकाल सकिएपछि उक्त पद गत पुस २३ गतेदेखि रिक्त थियो । सम्भवतः उनले अर्काे हप्ता समितिको अध्यक्षका रूपमा कार्यभार सम्हाल्ने छन् । सोही दिनदेखि लागू हुने गरी उनको कार्यकाल ४ वर्षको हुनेछ । यसअघि गृह, उद्योगजस्ता मन्त्रालयमा सचिव भएर प्रशासकीय क्षेत्रमा काम गरेका सिलवालका लागि बीमा समितिको अध्यक्ष चुनौतीपूर्ण देखिन्छ । उनीमाथि चुनौतीको चाङ नै भएको बीमाक्षेत्रका विज्ञहरू बताउँछन् ।

तत्काललाई कोरोना बीमाको दाबी भुक्तानीलाई उचित ढंगले व्यवस्थापन गर्नुपर्ने चुनौती देखिएको छ । नेपालमा कोरोना विपद् भर्खर शुरू हुँदा जोखिमको कुनै पनि मूल्यांकन तथा एक्चुरियल प्रक्रिया नै पूरा नगरी शुरू गरिएको कोरोना बीमाको व्यवस्थापनमा अहिले साँच्चै नै चुनौती देखिएको छ । यसको दाबी भुक्तानीमा ठूलो चुनौती देखिएको बताइन्छ ।

दाबी भुक्तानीको काम भइरहे पनि धेरै बीमितहरूले भुक्तानी पाएका छैनन् । भुक्तानी दिएर पनि कम्पनीहरूको छवि बिग्रिसकेको छ । यस अवस्थामा नव नियुक्त अध्यक्ष सिलवाललाई कोरोना बीमाको व्यवस्थापन गर्न चुनौती हुने बीमाविज्ञ रवीन्द्र घिमिरे बताउँछन् ।

एक निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)ले पनि कोरोना बीमालाई व्यवस्थापन गर्न चुनौती देखिएको बताए । ‘अहिले कोरोना बीमाको व्यवस्थापनमा साँच्चै नै चुनौती छ । हामीले यसको दाबी भुक्तानी कुनै पनि हालतमा दिनुपर्छ,’ उनले भने, ‘तर, अहिले सहज रूपमा यसको भुक्तानी हुन सकेको छैन नै । यस मामलामा नव नियुक्त अध्यक्षले आवश्यक नीति बनाउनुपर्ने चुनौती छ ।’

नेपालमै बीमांकीय जनशक्ति ल्याउन तथा व्यवस्थापन गर्नमा पनि समितिको नयाँ अध्यक्षका लागि चुनौतीको विषय बनेको छ । बीमा समितिले बीमांकीको रोस्टर बनाउने भने पनि त्यो अझै पूरा हुन सकेको छैन । नयाँ बीमा कम्पनीहरूले बीमांकी नै पाउन मुश्किल छ ।

बीमांकीकै अभावका कारण बीमा कम्पनीहरूको बीमांकीय मूल्यांकन समयमा हुन नसक्दा साधारणसभा पनि १ वर्ष ढिला हुने गर्छ । नेपालमा बीमांकी जनशक्तिको संख्या लगभग शून्य छ । यस अवस्थामा नव नियुक्त अध्यक्षलाई बीमांकीको व्यवस्थापन गर्न पनि चुनौती हुने बीमाविज्ञ रवीन्द्र घिमिरे बताउँछन् ।बीमा समितिको नयाँ भवन बनाउने, बीमासम्बन्धी तथ्यांक राख्न डेटा बैंक बनाउने, गरीबीको रेखामुनि रहेका नागरिकमा बीमाको पहुँच विस्तार गर्ने, दक्ष जनशक्ति तयार गर्नेजस्ता विषयमा सिलवाललाई चुनौती देखिए सरोकारवालाहरू बताउँछन् । ‘अहिले बीमाको बजार बढे पनि सर्वसाधारण तथा न्यून वर्गका जनतामा यसको पहुँच विस्तार हुन सकेको छैन । त्यसमाथि बीमासम्बन्धी राम्रोसँग जानकारी नै नदिई बीमा गराउँदा ल्याप्स हुने पोलिसीको संख्या बढ्दो छ,’ घिमिरेले भने, ‘त्यसमाथि बीमा क्षेत्रमा थुप्रै विकृति, विसंगति पनि छन् । त्यसलाई व्यवस्थापन गर्ने विषयमा चुनौती देखिएको छ ।’

बीमा कम्पनीहरूमा नेपाल फाइनान्सियल रिपोर्टिङ सिस्टम (एनएफआरएस) कार्यान्वयन गर्न, क्यापिटल बेस अन्डरराइटिङका लागि आवश्यक नीति ल्याउन, निर्जीवन बीमा कम्पनीको दायरा बढाउन, प्रस्तावित नयाँ बीमा ऐन लागू गर्ने विषयमा पनि उनले काम गर्नुपर्ने बीमा कम्पनीहरूको भनाइ छ ।

‘अब निर्जीवन बीमामा नयाँनयाँ सम्पत्ति तथा वस्तुहरूलाई समेट्ने गरी काम गर्नुपर्छ,’ एक कम्पनीका सीईओले भने, ‘विशेषगरी सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमालाई बीमा समितिको नियमनमा हामीले नै सञ्चालन गर्न पाउने व्यवस्था गर्नुपर्छ । यसमा उहाँले विशेष योगदान दिनुपर्ने देखिन्छ ।’ यसका अलावा बीमा कम्पनीहरूबीच रहेको अस्वस्थ प्रतिस्पर्धालाई पनि हटाउने गरी काम गर्नुपर्ने उनको भनाइ छ । बीमा बजारमा कालोधन पसेको पनि आशंका गरिएको छ । विशेषगरी जीवन बीमामा कालोधनले प्रवेश पाएको बताइन्छ । एउटै व्यक्तिले पनि २०औं करोडको बीमा गरेको बताइन्छ । यस अवस्थामा बीमाक्षेत्रको सम्पत्ति शुद्धीकरण सम्बन्धी व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न चुनौती रहेको बीमाक्षेत्रकै अधिकारीहरू बताउँछन् ।

नेपाल पुनर्बीमा कम्पनीका सीईओ शंकर रायमाझी पनि सिलवालका लागि बीमा क्षेत्रको प्रवेश चुनौतीपूर्ण नै हुने बताउँछन् । ‘उहाँले विभिन्न मन्त्रालयमा बसेर लामो समय काम गर्नुभयो । त्यो आफैमा राम्रो पक्ष हो,’ उनले भने, ‘तर, बीमाक्षेत्र त्योभन्दा फरक हो । बीमाक्षेत्रमा पनि विभिन्न विकृति छन् । त्यस अवस्थामा उहाँलाई अबका दिन चुनौतीपूर्ण नै छ ।’

पुनर्बीमा कम्पनीका सीईओ रायमाझीले पनि सिलवाललाई काम गर्न ठूलो अवसर भएको बताए । ‘बीमाक्षेत्रमा विकृतिहरू धेरै छन् । त्यसलाई सुधार सक्नुभयो भने उहाँ पनि बीमाक्षेत्रका लागि ऐतिहासिक व्यक्ति बन्नुहुन्छ,’ उनले भने, ‘तर, यो विषयमा उहाँमा नै निर्भर छ । उहाँ गर्न सक्नुभयो भने यो सम्भव छ ।’ समितिको अध्यक्ष नियुक्त भएको विषयमा सिलवालले भने कुनै प्रतिक्रिया दिएनन् । आर्थिक अभियानसँग उनले पदभार ग्रहण गर्दा यस विषयमा औपचारिक रूपमा नै आफ्नो प्रतिक्रिया कार्ययोजनाहरू बताउने रहेको बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)