ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अनलाइन सुविधाले खाता खोल्न सहज

२०७७ माघ, २३  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा खाता खोल्न चाहनेलाई अनलाइनको सुविधा दिएपछि निक्षेपकर्ताको संख्या बढेको छ । हालसम्म वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूबाट ४२ लाख ४४ हजार खाता थपिँदा मङ्सिरसम्ममा कुल निक्षेप खाताको संख्या ३ करोड ३५ लाख पुगेको छ ।

गत आर्थिक वर्षमा यस्तो संख्या २ करोड ९२ लाख थियो । पछिल्लो समय सर्वसाधारणले शेयरबजारको प्रारम्भिक शेयर (आईपीओ)मा लगानी गर्ने उद्देश्यले डिम्याट खोल्न बैंकको खाता खोलेकाले पनि यस्तो संख्या बढेको बैंकरहरू बताउँछन् ।

यस अवधिमा बैंकहरूले अनलाइन बचत खाता खोल्न सुविधा दिएका थिए । कोभिड महामारीका कारण भौतिक दूरी कायम गर्नुपर्ने बाध्यतालाई ध्यानमा राखी भुक्तानी गर्न, निक्षेप खाता खोल्नदेखि कर्जासमेत अनलाइनबाटै आवेदन दिएर उपयोग गर्न सकिने प्रडक्टहरू बैंक तथा वित्तीय संस्थाहरूले सञ्चालनमा ल्याए ।

सबैभन्दा बढी खाता संख्या वाणिज्य बैंकहरूको वृद्धि भएको छ । वाणिज्य बैंकहरूमा गत आवमा कुल २ करोड ४२ लाखको संख्यामा रहेको निक्षेप संख्या बढेर २ करोड ८८ लाख पुगेको छ ।

विकास बैंकको निक्षेप खातामा भने संकुचन आएको छ । ४४ लाख २६ हजारको संख्यामा रहेको निक्षेप खाता गतवर्ष ३ लाख ७४ हजारको संख्यामा घटेको थियो । चालू आवमा विकास बैंकमा ४० लाख ५२ हजार मात्र निक्षेप खाता रहेको छ । करीब आधा दर्जन विकास बैंकहरू वाणिज्य बैंकसँग गाभिएकाले विकास बैंकको निक्षेप खाताको संख्यामा कमी देखिएको डेभलपमेन्ट बैंकर्स एशोसिएशन नेपालका अध्यक्ष गोविन्दप्रसाद ढकाल बताउँछन् ।

निक्षेप खाता संख्या मात्र होइन, ऋणीको संख्याको वृद्धि पनि घटेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत आवमा ३ लाख ३० हजारको संख्यामा रहेको विकास बैंकको ऋणी यस वर्ष २८ हजारको संख्यामा घटेका छन् ।

पछिल्लो समय कन्काई विकास बैंक र कैलाश विकास बैंक, प्राइम कमर्शियल बैंकसँग गाभिएका थिए । यसैगरी, सहयोगी विकास बैंक सिटिजन्स बैंकसँग, गण्डकी विकास बैंक मेगासँग र देव विकास बैंक कुमारीसँग मिसिएका थिए । यस्तै, ओम डेभलपमेन्ट बैंक र एनएमबी बैंक मर्ज भएका थिए भने एनएमबीले कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेको छ ।

‘यसरी धेरै विकास बैंक मर्जर तथा प्राप्ति भएर वाणिज्य बैंकमा गएकाले वृद्धि संख्या घटेको देखिएको हो । तर, जति संस्था छन्, तिनीहरूको निक्षेप खाता संख्या बढेकै छन्,’ अध्यक्ष ढकालले अभियानसँग भने, ‘विकास बैंकहरू पनि अनलाइन खाता खोल्ने काममा पहिलादेखि नै अगाडि छन् ।’

यसैगरी, वित्त कम्पनीहरूको निक्षेप खाता संख्या भने ९१ हजारको संख्यामा वृद्धि भएर चालू आवमा ६ लाख ६९ हजार पुगेको छ । गत आवमा यस्तो संख्या ५ लाख ७७ हजार थियो ।

बैंक तथा वित्तीय संस्थाहरूले खाता खोल्न अनलाइन सुविधा दिए पनि यो पूर्ण अटोमेशनमा नगएको नेपाल वित्त कम्पनी संघका अध्यक्ष सरोजकाजी तुलाधर बताउँछन् । ‘अनलाइन खाता खोलेर पैसा मात्र जम्मा गर्न पाइन्छ । तर, झिक्नुपर्‍यो भने बैंक पुग्नैपर्छ । ग्राहक पहिचान अर्थात् केवाईसी अपडेट गर्न तथा खाता भेरीफाई गर्न बैंक पुग्नैपर्छ ।

‘आजकल सबै बैंक तथा वित्तीय संस्थाहरूको वेबसाइटमा अनलाइन फारम भर्न सकिन्छ । यो सुविधाले अनलाइन खाता खोल्न सजिलो भयो । तर, यो पूर्ण अनलाइनमा अजै गएको छैन,’ उनले भने ।

कोरोना महामारीले करीब ३–४ महीना समग्र अर्थतन्त्र ठप्प रहँदा बैंक तथा वित्तीय संस्थाको अनलाइनमार्फत हुने कारोबार भने सुचारु नै रहे । बैंकहरूले अनलाइन खातालाई बढी प्रचार गरेर खाता संख्या बढाउन प्रयास गरेका थिए । नबिल, एनआईसी एशिया, सिटिजन्स, एनएमबीलगायत बैंकले अनलाइनमार्फत खोलिने खातालाई प्रभावकारी बनाउन फेसबुक तथा भाइबरबाट समेत खाता खोल्ने सुविधा शुरू गरे । यस्तो सुविधाले गर्दा बन्दाबन्दीमा मात्रै करीब १० हजारको हाराहारीमा खाता खुलेको एनएमबी बैंकले जानकारी दिएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले आफूहरूले ल्याएको यस्तो सुविधाले खाता खोल्ने सुविधाको धेरै राम्रो प्रतिक्रिया आएको बताउँछन् । ‘अबका दिनमा अनलाइन खाता तथा डिजिटल कारोबारलाई जोड दिनुपर्छ,’ उनले भने ।

एनआईसी एशिया बैंकले घरैबाट निःशुल्क अनलाइन खाता खोल्न दिएको सुविधा प्रभावकारी हुन थालेको बताएको छ ।

अनलाइनबाट खाता खोल्ने बढ्दै गएकाले यसलाई निरन्तरतामा जोड दिने बैंकहरूको भनाइ छ । यस्तो सुविधाबाट विगतमा विदेशमा भएका नेपाली बढी लाभान्वित भएको बैंकरहरू बताउँछन् । अनलाइनमा अभ्यस्त नहुनेहरू भने बैंक नै धाउने गरेको बैंकरहरूको भनाइ छ । त्यसैले डिजिटल कारोबारमा बानी बसाल्न अझै चुनौती रहेको नेपाल बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्माको भनाइ छ । शर्माले भने, ‘आइडल खाता खोलेर मात्र हुँदैन । खुलेका खाताहरूलाई अब निरन्तर डिजिटल कारोबारमा सक्रिय बनाउनुपर्छ ।’

सानिमा बैंकले करीब ६ वर्षअघिदेखि यस्तो खाता सञ्चालनमा ल्याए पनि यतिबेला अनलाइनबाट खाता खोल्न जोड दिएको छ । बैंकका सीईओसमेत रहेका संघका अध्यक्ष दाहालका अनुसार अनलाइनबाट नेपालीहरूले फाट्टफुट्ट अनलाइन खाता खोल्ने गर्थे । तर, अहिले भने यसको संख्या बढेको छ । ‘खाता खोलेपछि खातामा रकम जम्मा गर्न पाइन्छ तर झिक्न तथा भुक्तानी गर्न भने एकपटक बैंकमा उपस्थित भएर ग्राहक पहिचान फारम बुझाई खातावाला व्यक्ति हो वा होइन भनेर प्रमाणित गर्नुपर्छ,’ उनले भने । यससँगै अब बैंकहरू क्रमशः कागजरहित कारोबारमा फड्को मार्नुपर्ने उनको तर्क छ । केवाईसी समेत अनलाइनबाट प्रमाणित गराउन सक्ने र भुक्तानीसमेत गर्न पाउने व्यवस्था भए यो अझै प्रभावकारी हुने बैंकरहरूको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)