ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोलकाता बन्दरगाह भन्सार : नेपाली कार्गो सहजीकरणमा बढ्दो सक्रियता

२०७७ माघ, २३  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल

वीरगञ्ज । नेपाली आयातकर्ताले समुद्रपार व्यापारमा उपयोगमा ल्याएको भारतको पश्चिम बंगालस्थित श्यामाप्रसाद मुखर्जी (कोलकाता) बन्दरगाह भन्सार प्रशासन कार्गो सहजीकरणमा सक्रिय भएको छ । पछिल्लो समय बन्दरगाह भन्सारले तेस्रो मुलुकबाट नेपालका लागि आउने कार्गो ढुवानीलाई छरितो बनाउन प्रक्रियागत सुधारमा सक्रियता देखाएको हो ।

बन्दरगाह भन्सारले सूचनामार्फत कन्टेनरमा लगाइएको वन टाइम लक (सिल) फुटेको वा अक्षर नबुझिएको अवस्थामा कन्टेनर खोलेरै मालसामान जाँच गर्नुपर्ने बाध्यता हटाएको छ । बन्दरगाह भन्सारले बुधवार यस्तो सूचना जारी गरेको हो ।

यसअघि वस्तुको उत्पत्तिमा लोड भएको कन्टेनरमा लगाइएको सिल ढुवानीको क्रममा टुटफुट भएमा बन्दरगाहमा सम्पूर्ण सामान चेकजाँच गर्नुपर्ने बाध्यता थियो । बन्दरगाह भन्सारले प्रावधान संशोधन गरेकाले अब यो समस्या हटेको कोलकातास्थित नेपाली महावाणिज्यदूतावासका उपमहावाणिज्यदूत सेवन्तक पोखरेलले बताए ।

यसअघि समुद्रपारबाट कोलकाता बन्दरगाहमा ल्याइएका कन्टेनरको सिलमा सामान्य कैफियत भेटिए पनि कन्टेनर खोलेर चेकजाँच गर्नु परेको आयातकर्ता बताउँछन् । यसले नेपाली आयातमा लोडअनलोड, चेकजाँचका लागि हुने समय र खर्च बढेको थियो ।

भन्सारको पछिल्लो सूचनामार्फत गरिएको व्यवस्थाले सिलमा उल्लेख भएको अक्षर र अंकमा सामान्य अन्तर देखिनेबित्तिकै कन्टेनर खोल्ने र चेकजाँचको झमेला समाधान भएको आयातकर्ताका प्रतिनिधिले बताए । सिलमा सामान्य कैफियत फेला परेमा भन्सारले कस्टम ट्रान्जिट डिक्लियरेन्समा नयाँ सिल उल्लेख गरेर गन्तव्यसम्म ढुवानी गर्न दिने भएको छ ।

तेस्रो मुलुकबाट नेपालका लागि आएका कन्टेनरको भन्सार प्रक्रिया सरलीकरण हुँदै गएको उपमहावाणिज्यदूत पोखरेलको भनाइ छ । ‘पछिल्लो समय कोलकाता बन्दरगाह भन्सारले नेपाली आयातका प्रक्रियागत समस्या समाधानमा निकै सक्रियता देखाएको छ । यो नेपालको समुद्रपार व्यापार सहजीकरणका सन्दर्भमा महŒवपूर्ण विषय हो,’ पोखरेलले आर्थिक अभियानसित भने ।

केही दिनअघि बन्दरगाह भन्सारले तेस्रो मुलुकबाट आउने कन्टेनर कार्गोमा रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेशन (आरएफआईडी) सिल अनिवार्य गरेको थियो । सडकमार्गबाट हुने  ढुवानीमा आरएफआईडीमार्फत यसअघिको बोटल सिल विस्थापित गरिएको हो ।

पुरानो प्रविधिमा आधारित बोटल सिलभन्दा आरएफआईडी सुरक्षित र बढी प्रभावकारी हुने कोलकातास्थित नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेलको भनाइ छ । कोलकातामा लगाइएको आरएफआईडी सिल सीमावर्ती रक्सौल, जोगबनी, पानीटंकी, नौतनवा, गौरीफन्टा र नेपालगञ्ज नाकामा चेकजाँच गरिन्छ । कोलकाता पोर्ट ट्रस्टमातहतको हल्दिया बन्दरगाहमा पनि यो प्रविधि अपनाइएको छ ।

कोलकातामा नेपालले लिजमा लिएको जग्गामा निर्माण गरिएको कन्टेनर फ्रेट स्टेशनलाई पनि बन्दरगाह भन्सारले आफ्नो क्षेत्राधिकारमा समेटेको छ । प्रक्रियाको पूर्णतापछि यो संरचना नेपाली आयातकर्ताले उपयोग गर्ने बाटो खुलेको छ ।

त्यसअघि कोलकातामा इलेक्ट्रोनिक डाटा इन्टरचेन्ज (ईडीआई प्रणाली अनिवार्य गएिको थियो । यो प्रणालीलाई व्यवस्थित र पूर्णस्वचालित बनाउँदा कागजी प्रक्रियाका लागि भन्सारमा धाउनुपर्ने बाध्यता अन्त्य हुने नेपाली आयातकर्ताका कोलकातास्थित प्रतिनिधि अमृत श्रेष्ठ बताउँछन् ।

दुई वर्षअघि बन्दरगाहमा डाइरेक्ट ट्रान्ससिपमेन्ट प्रणाली लागू भएको थियो । तर, ढुवानीमा सिपिङ कम्पनीको मनोमानी नियन्त्रणबाहिर भएकाले डाइरेक्ट ट्रान्ससिपमेन्टबाट खर्च झन् बढेको गुनासो आयातकर्ताको छ ।

तेस्रो मुलुकसितको व्यापारलाई प्रभावकारी र पारदर्शी बनाउन प्रक्रियागत र प्रविधिमा सुधारका लागि निरन्तर पहल भइरहेको पोखरेलले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)