ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपालले बिजुली किन्थ्यो, अब बेच्छ : प्रधानमन्त्री

कालीगण्डकी कोरिडोर प्रसारण आयोजना उद्घाटन

२०७७ माघ, २३  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशन तिवारी

पर्वत । कालीगण्डकी कोरिडोर प्रसारण लाइन अन्तर्गत २२०÷१३२ केभी खुर्कोट–दाना प्रसारण लाइन र पर्वतको खुर्कोट तथा म्याग्दको दानामा रहेका सबस्टेशनको उद्घाटन गरिएको छ । बिहीवार ऊर्जामन्त्री टोपबहादुर रायमाझीको भौतिक उपस्थितिमा प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट आयोजनाको प्रसारण लाइन र सबस्टेशनको उद्घाटन गर्नु भएको हो ।

पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटबाट म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दाना जोड्ने प्रसारण लाइन र दुई ठाउँमा रहेका सबस्टेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपाल भारतबाट विद्युत् किन्ने स्थितिबाट अब बेच्ने अवस्थामा पुगेको बताउनुभयो । अहिलेसम्म नेपाल ऊर्जामा परनिर्भर भए पनि अबका केही वर्षमै निर्यात गर्न योग्य हुन थालेको दाबी उहाँको छ । बिमस्टेकमा आबद्ध देशहरूसँग विद्युत् व्यापारको सम्झौता भएको जानकारी दिँदै ओलीले देशमा ठूलो मात्रामा उत्पादन हुने बिजुली बिमस्टेक सदस्य राष्ट्रहरूमा बेचेर आम्दानी लिन सकिने बताउनुभयो ।

उद्घाटन कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले ठूलादेखि साना आयोजना अहिले निर्माणको चरणमा रहेकाले अबको २० वर्षमा नेपालमा ४२ हजार मेगावट विद्युत् उत्पादन हुने जानकारी दिए ।

एशियाली विकास बैंकको सहयोगमा नेपाल विद्युत् प्राधिकरणले सन् २०१६ देखि निर्माण शुरू गरेको यो परियोजना सन् २०१८ को नोभेम्बरमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । आयोजना निर्माणमा २ अर्ब ७४ करोड रुपैयाँ खर्च भएको नेपाल विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिए ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दानादेखि पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोट जोड्ने यो प्रसारण लाइनको दोस्रो खण्ड पर्वतको खुर्कोट हुँदै बुटवलसम्म जोडिनेछ । दाना–खुर्कोट सबस्टेसनको दूरी ३९ किलोमिटर र खुर्कोट–बुटवलको दूरी ८८ किलोमिटर छ । यो प्रसारण लाइन निर्माणपछि ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला, पाँच मेगावाटको घलेम्दीखोला र १३ दशमलव ६ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजनाको विद्युत् केन्द्रीय लाइनमा जोडिएका छन् । थापाखोला र घलेम्दी आयोजना यसअघि नै निर्माण सम्पन्न भए पनि प्रसारण लाइनको अभावमा पूर्ण क्षमतामा सञ्चालन हुन सकेका थिएनन् । निर्माणको अन्तिम चरणमा पुगेको मिस्ट्रिखोला जलविद्युत् आयोजनाले संरचनाको परीक्षण शुरू गरेको छ ।

पर्वतको मोदीखोलामा निर्माणाधीन आयोजनाको विद्युत् पनि यो प्रसारण लाइनमार्फत केन्द्रीय लाइनमा जोड्ने तयारी छ । दानादेखि खुर्कोटसम्म ५०० मेगावाट र खुर्कोटदेखि बुटवलसम्मको प्रसारण लाइनमा १५ सय मेगावाट विद्युत् प्रसारण क्षमता रहेको विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशक शाक्यले जानकारी दिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)