ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोरोना बीमा : बीमा समिति, पुनर्बीमा कम्पनी र बीमा कम्पनीहरूको दायित्व सकियो

अबको दाबी भुक्तानी सरकारबाट

२०७७ माघ, २५  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । कोरोना बीमामा बीमा समिति, नेपाल पुनर्बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीहरूको दायित्व सकिएको छ । कोरोना बीमाको दाबी भुक्तानी रकम ३ अर्ब ५० करोड पुगेपछि उनीहरूको दायित्व सकिएको हो । यससँगै अबको दायित्व अर्थात् दाबी भुक्तानी नेपाल सरकारबाट हुने भएको छ ।

कोरोना बीमा मापदण्डमा ३ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको दाबी भुक्तानी सरकारले बेहोर्ने व्यवस्था छ । सोहीअनुसार अबको दाबी भुक्तानी नेपाल सरकारबाट हुने बीमा समितिले बताएको छ । बीमा समितिका प्रवक्ता निर्मल अधिकारीले कोरोना बीमाको अबको दाबी भुक्तानी सरकारबाट हुने बताए ।

समितिको तथ्यांक अनुसार कोरोना बीमामा बिहीवारसम्ममा रू. ३ अर्ब ५५ करोड २९ लाख बराबरको दाबी भुक्तानी भएको छ । यद्यपि, अब हुने दाबी भुक्तानीलाई पनि बीमा कम्पनीले निरन्तर रूपमा अगाडि बढाउनेछन् । त्यसबापतको रकम भने पछि सरकारबाट शोधभर्ना हुने बताइएको छ । यसमा सरकार नै ग्यारेण्टी बसेको हुनाले बीमा कम्पनीहरूलाई भुक्तानी गर्न समस्या नहुने समितिको भनाइ छ ।

प्रवक्ता अधिकारीले सरकारबाट दाबी भुक्तानी हुने भए पनि हाललाई दाबी भुक्तानी निरन्तर अगाडि बढ्ने बताए । ‘सरकारले दायित्व वहन गर्ने भए पनि भुक्तानीमा भने ढिलाइ हुँदैन,’ उनले भने, ‘यद्यपि त्यसलाई कसरी व्यवस्थापन भन्नेबारे नेपाल बीमक संघ, बीमा कम्पनीहरू र समितिबीच छलफल हुँदै छ । अबको केही दिनमै यससम्बन्धी निर्णय हुनेछ ।’

मापदण्डमा रू. १ अर्बसम्मको दाबी निर्जीवन बीमा कम्पनीको लघु बीमा पुलमार्फत हुने व्यवस्था छ । त्यसभन्दा बढी अर्थात् २ अर्बसम्मको दाबी परेमा नेपाल पुनर्बीमा कम्पनीबाट १ अर्बको भुक्तानी गर्ने व्यवस्था छ । त्यसभन्दा पनि बढी दाबी परेमा बीमा कम्पनीहरूको महाविपत्ति कोषमार्फत ५० करोड भुक्तानी र २ अर्ब ५० करोडभन्दा बढी दाबी परेमा बीमा समितिले १ अर्ब भुक्तानी गर्ने व्यवस्था छ ।

कोरोना बीमामा ३ अर्ब ५० करोडभन्दा बढीको दाबी परेमा भने सरकारमार्फत दाबी भुक्तानी दिने व्यवस्था मापदण्डमा छ । सोही मापदण्ड अनुसार अहिलेसम्म बीमा कम्पनी, पुनर्बीमा कम्पनी र बीमा समितिले तोकिए अनुसारको भुक्तानी गरिसकेका छन् ।

कोरोना बीमामा ८ अर्बदेखि १० अर्बसम्मको हाराहारीमा दाबी पर्ने अनुमान गरिएको छ । त्यसमा साढे ३ अर्ब रुपैयाँ बराबरको भुक्तानी बीमा क्षेत्रबाटै भएको छ । त्यसअनुसार कोरोना बीमाको दाबीबापत सरकारले ५ अर्बको हाराहारीमा भुक्तानी गर्नुपर्ने देखिएको छ ।

समितिले गत वैशाख ४ गते कोभिड–१९ बीमालेखको खाका जारी गरेपछि वैशाख ७ गतेदेखि यसको कारोबार शुरू गरिएको थियो । उक्त बीमामा आम मानिसको आकर्षण बढ्दै गएपछि दायित्व पनि बढ्दै गएको थियो । विदेशी पुनर्बीमा कम्पनीले उक्त व्यवसायको पुनर्बीमा गर्न नमान्दा बीमा कम्पनीको पूँजीभन्दा दायित्व बढी भएपछि बीचमा कोरोना बीमा नै स्थगित गरिएको थियो । पछि सरकारले पनि दायित्व वहन गर्नेगरी व्यवस्था भएपछि कोरोना बीमा पुनः सुचारु गरिएको छ । सरकारले चालू आवको बजेट मार्फत बीमाशुल्कमा ५० प्रतिशत अनुदान दिएर कोरोना बीमा अगाडि बढाउने व्यवस्था गरेको थियो ।

अब कोरोना बीमासम्बन्धी तथ्यांकहरू संकलन गरेर सरकारसँग आवश्यक रकम माग गर्ने तयारी समितिको छ । सरकारबाट भुक्तानी हुन समय लाग्ने भएकाले तत्काललाई बीमा समिति, बीमा कम्पनीहरूबाटै भुक्तानी व्यवस्थापन हुन सक्ने बताइएको छ ।

बीमा समितिको तथ्यांक अनुसार कोरोना बीमामा हालसम्म ६५ हजार ५१९ जनाको पूर्ण कागजपत्रसहित आवेदन प्राप्त भएको छ, जसमध्ये ३६ हजार ५६९ जनाले दाबी रकम पाइसकेका छन् । यस्तै, ३६५ ओटा आवेदन भने दाबीका लागि अयोग्य देखिएको छ । यसबाहेक अन्य आवेदन भने दाबी भुक्तानीको प्रक्रियामा छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)