ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

४ अर्ब लगानी थप्दै आरती स्ट्रिप्स

२०७७ माघ, २६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर । बहुराष्ट्रिय कम्पनी आरती स्ट्रिप्स प्रालिले यही फागुनबाट ग्यालभोलुम रंगिन तथा सादा जस्तापाताको नयाँ प्लान्ट र सीआर सीटको अर्काे प्लान्टसहित ४ अर्बको लगानीमा नयाँ दुई प्लान्ट सञ्चालन गर्ने भएको छ । यो थप लगानीसमेत आरतीको कुल लगानी १६ अर्ब रुपैयाँ पुगेको छ । ग्यालभोलुम जस्ता पातामा जिंकसहित आल्मुनियम, सिलिकन पनि थप गरेर तयार गरिन्छ, जुन हेर्दा अन्य जस्ता जस्तै देखिए पनि उच्च गुणस्तरीय हुन्छ ।

मोरङको बूढीगंगामा रहेको बहुराष्ट्रिय कम्पनी आरती स्ट्रिप्स प्रालिको १७ विगामा फैलिएको उद्योगमा यो वर्षभित्र सीआर रोल मिल सञ्चालनमा आउनेछ । यसअघि आरतीले सीआर रोल भारतबाट मगाएर जस्ता बनाउँदै आएको थियो ।

यसअघि आरती स्ट्रिप्सले जिंक कोटेड र कर्कट पाता २ लाइनबाट उत्पादन गर्दै आएको थियो । अहिले नयाँ उत्पादन गर्न लागेको ‘ग्यालभोलुम रंगिन र सादा कर्कट जस्तापाता’ टिकाउमा साधरण जस्तापाता भन्दा ४ गुणा बढी हुने कम्पनीको दाबी छ । ‘बजारमा आउन लागेको ‘ग्यालभोलुम रंगिन र सादा कर्कट जस्तापाता’ अत्याधुनिक हो,’ आरती स्ट्रिप्स प्रालिका प्रशासन प्रमुख दिवस नेपालले भने, ‘यो कर्कट जस्तापाता चम्किलो र नेपालको हावापानीमा सुहाउँदो छ ।’

वार्षिक ३० हजार मेट्रिक टन ग्यालभोलुम जस्ता उत्पादन गर्ने लक्ष्य लिएको कम्पनीले सन् २०१४ बाट कालो पाइपको उत्पादन शुरू गरेको थियो । यो पाइप वार्षिक ४० हजार टन उत्पादन हुँदै आएको छ । यो पाइप कम्पनीले पूर्वी उत्तर भारत र भुटानसम्म निर्यात गर्दै आएको छ ।

सीआर मिल सञ्चालनमा आएपछि जस्तापाताका लागि आवश्यक पर्ने कच्चा पदार्थ भारतबाट आयात गर्नु पर्दैन । ‘आरतीले ल्याउन लागेको ग्याल्भोलुमको नेपालमा पहिलो प्लान्ट हो,’ प्रशासन प्रमुख नेपालले भने, ‘ग्यालभोलुम कर्कट जस्तापाता विभिन्न रंगहरूमा आकर्षक डिजाइनमा आउनेछ ।’ यसले घरलाई सुन्दरता प्रदान गर्नुको साथै ठूला कलकारखाना बनाउन, घरको सिलिङ लगाउन तथा घरको छानामा बहुउपयोगी हुनेछ ।

दुवै प्लान्ट सञ्चालनमा आएपछि आरती स्ट्रिप्सको कुल लगानी १६ अर्ब रुपैयाँ पुग्नेछ । ७२५ जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरेको उद्योगले दुई प्लान्ट सञ्चालनमा आएपछि थप मजदूरले रोजगारीसमेत पाउनेछन् ।

मजदूरको समस्या समाधान
आरती स्ट्रिप्स प्रशासन र मजदूरबीच सहमति भएपछि मजदूर समस्या समाधान भएको छ । पुस १० र ११ गते काम गर्न गएका मजदूरलाई उद्योगको गेटबाटै फर्काइएपछि १ सय ८४ जनाले रोजगारी गुमाएका थिए । नेपाल कारखाना श्रमिक संघ र उद्योग प्रशासनबीच सबै मजदूरलाई काममा फर्काउने सहमति भएपछि मजदूरको समस्या समाधान भएको हो । अहिले सबै मजदूर काममा फर्किसकेका छन् । श्रम कार्यालयसमेत उद्योगलाई सबै मजदूरलाई रोजगारीमा फर्काउन पत्र लेखेको थियो । श्रमिक संघका अध्यक्ष सुरेशकुमार साहले सबै मजदूरहरू काममा फर्किएर निर्बाध काम थालेको बताए । उनले आफूहरूको संघ पनि नवीकरण भइसकेको जनाए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)