ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आधा करोड निक्षेप खाता निष्क्रिय

२०७७ माघ, २७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप खातामध्ये करीब आधा करोड निक्षेप खाता निष्क्रिय (डोरमेन्ट) रहेका छन् । बैंकहरूले ३ वर्षसम्म कारोबार नभएका बचत खाता निष्क्रिय (डोरमेन्ट) खातामा राख्ने गरेका छन् भने ६ महीना कारोबार नभएका चल्ती खाता र कल (तुरुन्तै भुक्तानी पाइने) खातालाई निष्क्रियमा राख्ने गरेका छन् ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बैंकमा निक्षेप खाता खोल्ने अर्थात रजिस्ट्रेशन गर्ने तर नियमित सञ्चालन नगर्ने निष्क्रिय (डोरमेन्ट) खाताको संख्या चालू आर्थिक वर्ष (आव) को मङ्सिरसम्ममा कुल खाता संख्याको १८ दशमलव ६१ प्र्रतिशत रहेको छ । सो अवधिमा बैंकहरूमा निक्षेप खाताका लागि कुल दर्ता संख्या २ करोड ९४ ३५ हजारमध्ये ५४ लाख ७८ हजार खाता निष्क्रिय छन् भने २ करोड ३९ लाख ५६ हजार खाता सक्रिय रूपमा सञ्चालनमा रहेका छन् । गत आवको सो अवधिसम्म बैंकमा खोलिएका खातामध्ये २२ दशमलव ९५ प्रतिशत खाता निष्क्रिय थिए । गत आवमा कुल खाता संख्या २ करोड ५१ लाख ८१ हजार रहेकोमा ५७ लाख ७९ हजार खाता निष्क्रिय थिए भने १ करोड ९४ लाख २ हजारओटा खाता मात्र सञ्चालनमा थिए ।

यसअघिका वर्षमा खाता खोलेकामध्ये आधा खाता निष्क्रिय रहेने गरेको थियो । केन्द्रीय बैंकको अनुसार आर्थिक वर्ष २०७४/७५ तिर बैंकमा खाता खोलेको तर कारोबार नगरेर निष्क्रिय रहेको संख्या आधाभन्दा बढी देखिन्थ्यो । एउटै व्यक्तिले दुईभन्दा बढी खाता खोल्ने तर एउटामा मात्र नियमित कारोबार गर्ने प्रवृत्तिका कारण पनि यस्तो खाताको संख्या बढेको बैंकरहरू बताउँदै आएका छन् । निक्षेप खातामा लामो समयसम्म कारोबार भएको छैन । तर, रकम थुप्रो छ भने बैंकका कर्मचारीले फ्रड गर्न नसकून् भनेर कारोबार गर्न नपाउने गरी डोरमेन्ट भनी लक गरेर राख्ने गरेको बैंकरहरू बताउँछन् । खातावाला स्वयम् आए पनि केही डकुमेन्ट पेश गरेपछि मात्र खाता सक्रिय हुन्छ ।

एउटै व्यक्ति वा संस्थाले विशेष कामका लागि विभिन्न बैंकमा खाता खोल्ने तर सबैमा नियमित कारोबार नगर्ने हुँदा यस्ता खाताको संख्या बढेकोे नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहाल बताउँछन् । सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका दाहाल अधिकांश बैंकले शून्य मौज्दातमा खाता खोल्ने गरेका छन् र त्यस्ता खाता खोल्नेहरूले बिर्सेपछि पनि निष्क्रिय भएको हुनसक्ने बताउँछन् । ग्राहकको खाता सुरक्षित गर्न पनि निष्क्रिय खातामा परिणत गर्न जरुरी भएको उनले औंल्याए । ‘एउटै व्यक्तिको धेरै खाता हँुदा एउटामा नियमित कारोबार हुने तर बाँकीमा नहुने गर्दा पनि खाता निष्क्रिय भएको देखिन्छ,’ उनले अभियानसँग भने, ‘दशौं वर्षदेखि कारोबार नभएका खाताहरूको रकम कर्मचारीबाट हिनामिना नहोस् भनेर पनि यस्तो व्यवस्था गरिएको हो । कारोबार नभएका खाता निष्क्रिय भए पनि ग्राहक आएमा प्रक्रियाअनुसार खुलाइन्छ ।’

यसैगरी, राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट बैंक वा वित्तीय संस्थाले १० वर्षदेखि चल्ती नभएको वा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ बमोजिम हक दाबी नपरेको निक्षेप खाताहरूको विवरण प्रत्येक आर्थिक वर्षको पहिलो महीनाभित्र केन्द्रीय बैंकमा पठाउनुपर्ने नीतिगत व्यवस्था भएको बताउँछन् । साथै, यस प्रकारको निक्षेप रकम लिन आउने सूचना सम्बद्ध बैंक वा वित्तीय संस्थाले प्रत्येक ५ वर्षमा एकपटक राष्ट्रिय स्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्ने र यसको विस्तृत विवरण आप्mना वेबसाइटमा समेत राख्नुपर्ने व्यवस्था छ । उनका अनुसार २० वर्षसम्म बुझ्न नआएको वा कसैको हकदाबी पर्न नआएको निक्षेप रकम भने राष्ट्र बैंकको ‘बैंकिङ विकास कोष’ मा जम्मा हुने गर्छ । ‘केन्द्रीय बैंकले उक्त कोषको रकम भने वित्तीय साक्षरतालगायतका क्षेत्रमा प्रवर्तन गर्नेतर्फ उपयोग गरिन्छ । साथै पुनर्कर्जामा पनि लगाउन सकिन्छ,’ उनले अभियानसँग भने ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)