काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०७७/७८ को कात्तिकको तुलनामा मङ्सिरमा घटेको विदेशी विनिमय सञ्चिति पुस मसान्तसम्म आइपुग्दा बढेर नयाँ उचाइमा पुगेको छ । पुस मसान्तसम्म कुल विदेशी विनिमय सञ्चिति १२ अर्ब ७८ करोड डलर पुगेको छ, जुन डलरको आधारमा हालसम्म कै उच्च हो ।
यसअघि गत कात्तिकमा विदेशी विनियम सञ्चितिले १२ अर्ब ६५ करोड डलरमा पुगेर नयाँ रकेर्ड बनेको थियो । त्यसपछि मङ्सिर १२ अर्ब ५४ करोड डलरमा झरेको विदेशी विनिमय सञ्चिति अहिले बढेर पहिलेको भन्दा पनि माथिल्लो उचाइमा पुगेको हो ।
गत आवको सोही अवधिमा विदेशी विनिमय सञ्चिति ९ अर्ब ६९ करोड डलर रहेको थियो । डलरका आधारमा विदेशी विनियम सञ्चिति ९ दशमलव ७ प्रतिशतले बढेको देखिन्छ ।
नेपाल राष्ट्र बैंकको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति विषयक पुससम्मको प्रतिवेदनले यस्तो देखाएको हो । प्रतिवेदनअनुसार नेपाली मुद्रामा विदेशी विनियम सञ्चिति रू. १४ खर्ब ९३ अर्ब ८४ करोड पुगेको छ । यसअघि गत कात्तिकमा यस्तो सञ्चिति रू. १५ खर्ब ६ करोड रहेको थियो । तर, पुससम्म आउँदा डलरको मूल्य घटेपछि नेपाली रुपैयाँमा विदेशी विनिमय सञ्चिति कम देखिएको हो ।
अहिलेको विदेशी विनियम सञ्चितिले १३ दशमलव ९ महीनाको वस्तु आयात र १२ दशमलव ६ महीनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकको भनाइ छ । चालू आवको ६ महीनाको आयातलाई आधारमा यस्तो प्रक्षेपण गरिएको राष्ट्र बैंकले बताएको छ ।
पुस महीनामा विदेशी विनिमय सञ्चिति बढ्नुको मुख्य कारण वैदेशिक ऋण परिचालल बढी हुनु हो । नेपाल सरकारले पुस महीनामा मात्र ३१ अर्ब ३७ करोड रुपैयाँ वैदेशिक ऋण परिचालन गरेको छ । त्यसै कारणले नै पुस महीनामा विदेशी विनिमय सञ्चिति बढेको नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताए ।
गत मङ्सिर मसान्तसम्म सरकारले रू. ३१ अर्ब २३ करोड वैदेशिक ऋण परिचालन गरेको थियो । तर, पुसमसान्तसम्म आइपुग्दा त्यो बढेर रू. ६२ अर्ब ६० करोड पुगेको छ । ‘यसरी सरकारको वैदेशिक ऋण परिचालन ≈वात्तै बढेपछि पुस महीनामा विदेशी विनिमय सञ्चिति बढेको हो,’ प्रवक्ता भट्टले भने, ‘साथै, गत आवको सोही अवधिको तुलनामा आयात कम नै हुनु र विप्रेषण आप्रवाह बढ्दा पनि विदेशी विनिमय सञ्चिति बढ्न मद्दत पुगेको छ ।’
समीक्षा अवधिमा विदेशी विनिमय सञ्चिति बढे पनि लगातार दोस्रो महीनासम्म मुलुकको चालू खाता भने घाटामा गएको छ । चालू आवको ४ महीनासम्म नाफामा रहेको चालू खाता मङ्सिरसम्म आउँदा रू. २१ अर्ब ३१ करोडले घाटामा गएको थियो । पुससम्म आउँदा चालू खाता घाटा अभैm बढेर ४९ अर्ब ५३ करोड रुपैयाँ पुगेको तथ्यांकमा उल्लेख छ ।
समीक्षा अवधिमा सेवा खाता घटेपछि चालू खाता पनि प्रभावित भएको हो । समीक्षा अवधिमा सेवा खाता रू. २५ अर्ब ६७ करोडले घाटामा रहेको छ । गत आवको सोही अवधिमा भने त्यो रू. ३ अर्ब ७३ करोडले घाटामा थियो । यसरी सेवा खाता घाटामा गएपछि चालू खाता पनि प्रभावित भएको हो ।
कोरोना कारण अहिले विदेशी पर्यटकमार्पmत हुने आम्दानी घटेको छ । साथै, वैदेशिक अध्ययनको नाम पनि ठूलै रकम बाहिरिएको छ । फलस्वरूप सेवा खाता घाटामा गएको हो । त्यसको असरले नै चालू खाता घाटामा गएको राष्ट्र बैंकका प्रवक्ता भट्टले बताए ।
विदेशी विनियम सञ्चितिमार्फत हुने ब्याज आम्दानी घट्दा पनि चालू खाता प्रभावित भएको उनको भनाइ छ । गत आवको यसै अवधिमा विदेशी विनिमय सञ्चितिबाट रू. ४१ अर्ब ७२ करोड ब्याज आम्दानी भएको थियो ।
तर, अहिले विदेशी विनिमय सञ्चिति बढी हुँदा पनि रू. ३३ अर्ब १२ करोड मात्र ब्याज आम्दानी भएको छ । यसरी विदेशी विनिमय सञ्चितिबाट हुने ब्याज आम्दानी घटेपछि चालू खाता प्रभावित भएको प्रवक्ता भट्टको भनाइ छ ।
‘कोभिड–१९ संकटलाई लक्षित गर्दै संसारभर लचिलो मौद्रिक नीति ल्याइयो र अन्तरराष्ट्रिय बजारमा नै ब्याजदर घट्यो,’ उनले भने, ‘ब्याजदर घटेपछि विदेशी विनियम सञ्चितिबाट हुने ब्याज आम्दानी पनि घट्यो । त्यसको असर पनि चालू खातामा देखिएको छ ।’
यस्तै, समीक्षा अवधिमा रेमिट्यान्स (विप्रेषण) आप्रवह ११ दशमलव १ प्रतिशतले बढेको छ । गत आवको ६ महीनामा रू. ४ खर्ब ४७ अर्ब विप्रेषण नेपाल भित्रिएको थियो । चालू आवको ६ महीनामा भने त्यो भन्दा बढी अर्थात् रू. ४ खर्ब ९५ अर्ब विप्रेषण भित्रिएको छ ।
कोरोना विपद्का कारण नेपालको विप्रेषण आप्रवाह घट्ने भनेर विभिन्न निकाय तथा क्षेत्रले अनुमान गरे पनि नेपालमा विप्रेषणको आप्रवाह बढ्दो क्रममा नै रहेको तथ्यांकले देखाएको छ ।
समीक्षा अवधिमा शोधनान्तर स्थिति रू. १ खर्ब २४ अर्ब ९२ करोडले बचतमा रहेको छ । गत आवको सोही अवधिमा शोधनान्तर स्थिति २६ अर्ब ६५ करोडले बचतमा थियो । त्यो अनुसार चालू आवको समीक्षा अवधिमा मुलुकबाट बाहिरिने र भित्रिने रकमबीचको अन्तर (शोधनान्तर स्थिति) बढेको छ ।
समीक्षा अवधिमा प्रत्यक्ष वैदेशिक लगानी ३७ दशमलव २ प्रतिशतले घटेको छ । गत आवको ६ महीनामा रू. १२ अर्ब २० करोड रहेको वैदेशिक लगानी अहिले घटेर रू. ७ अर्ब ६६ करोड कायम भएको छ ।
पुसमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति (मूल्यवृद्धि) ३ दशमलव ५६ प्रतिशत रहेको छ । गत आवको सोही महीनामा यस्तो मुद्रास्फीति ६ दशमलव ८२ प्रतिशत रहेको थियो ।
पुसमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४ दशमलव २७ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति २ दशमलव ९९ प्रतिशत रहेको छ ।
यस्तै, समीक्षा अवधिमा वस्तु निर्यात ६ दशमलव १ प्रतिशतले वृद्धि भई रू.६० अर्ब ८० करोड पुगेको छ । गत आवको सोही अवधिमा रू. ५७ अर्ब २८ करोड वस्तु निर्यात भएको थियो ।
यस अवधिमा वस्तु आयात ४ दशमलव ८ प्रतिशतले घटेर रू.६ खर्ब ६१ अर्ब २५ करोड कायम भएको छ । गत आवको सोही अवधिमा रू. ६ खर्ब ९४ अर्ब ६९ करोडको वस्तु आयात भएको थियो ।