ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गत आवभन्दा तीन गुणाले बढ्यो भटमासको तेल निकासी

२०७७ माघ, २८  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर । चालू आर्थिक वर्ष (आव) को दोस्रो त्रैमासमा आइपुग्दा विराटनगर नाकाबाट मात्रै ४ अर्ब ८५ करोड ४० लाख मूल्य बराबरको भटमासको तेल निकासी भएको छ । यो गत आवभन्दा तीन गुणाले बढी हो । यो आवको अन्त्यसम्ममा १० अर्ब मूल्यको भटमासको तेल निकासी हुने देखिएको छ ।

तेस्रो मुलुकबाट कच्चा तेल मगाएर प्रशोधन गरी पाम आयल भारत निकासी हुँदै आएकोमा गतवर्षदेखि त्यसमा प्रतिबन्ध लागेपछि उद्योगीहरू भटमासको तेलको निकासीमा केन्द्रित भएका हुन् । परिणाम स्वरूप चालू आवमा भटमासको तेलको निर्यात गत आवको भन्दा दोब्बर हुने भएको छ ।

चालू आवको दोस्रो त्रैमासिक अवधिमा ४ अर्ब ८५ करोड ४० लाख मूल्यको ३३ हजार २ सय ५३ मेट्रिक टन भटमासको तेल भारत निर्यात भएको तथ्यांक विराटनगर भन्सार कार्यालयले दिएको छ । गत आवको सोही अवधिको तुलनामा यो आवको भटमासको तेल निकासीको तथ्याङ्क तीन गुणाले बढी हो ।

गत आवको दोस्रो त्रैमासिकमा १ अर्ब ५२ करोड ७० लाख मूल्यको ११ हजार ९ सय ४८ मेट्रिक टन भटमासको तेल निर्यात गरिएको थियो । गत आव २०७६/७७ अर्थात् पूरा १ वर्षमा गरिएको भटमासको तेलको निर्यात चालू आवको पुस मसान्तको भन्दा ५६ करोडले कम छ । उक्त आवमा ४ अर्ब २९ करोड ४९ लाख मूल्यको ३१ हजार ६ सय ३४ मेट्रिक टन भटमासको तेल निकासी गरिएको थियो ।

आव २०७५/७६ मा अझ कम ८४ करोड ८६ लाख मूल्यको ८ हजार ३ सय ३१ मेट्रिक टन भटमासको तेल भारततर्फ निकासी भएको थियो ।

तथ्यांकका आधारमा भन्ने हो भने पामको निकासी प्रतिबन्ध भएपछि उद्योगीहरूले भटमासको तेलको उत्पादनमा वृद्धि गरेको देखिन्छ । साफ्टा सम्झौताबमोजिम भटमासको तेल शून्य प्रतिशत भन्सार महसुलमा भारत निकासी भइरहेको छ । भारत सरकारकी अर्थमन्त्री निर्मला सीतारमणले भर्खरै ल्याएको बजेटमार्फत भारतमा भटमासको कच्चा तेल पैठारीमा लाग्ने भन्सार महसुलमा १ प्रतिशतले थप गरेकी छन् । भारतमा भटमासको कच्चा तेलमा लाग्ने ३८ दशमलव ५ प्रतिशत भन्सार महसुलमा १ प्रतिशत थपेर ३९ दशमलव ५ प्रतिशत बनाइएको हो । यसबाट भारतीय उद्योगपतिलाई प्रति मेट्रिक टन भारू ८ सय ३२ को खर्च थपिएको छ । नेपाली उद्योगहरूलाई भने उक्त महसुल वृद्धिले केही फाइदा हुने देखिएको छ ।

विराटनगर नाकाबाट देवकीनन्दन अग्रवालको वाग्मती आयल, प्रदीप मुरारकाको श्रीराम रिफाइनरी, अविनाश बोहराको एभरेस्ट सोलभेन्ट, शारडा समूहको पशुपति सोल्भेन्ट, केएल दुगडको स्वस्तिक आयल, प्रकाश मुन्दडाको बाबा भेजिटेबल, घनश्याम काबराको क्वालिटी आयल गरी सातओटा उद्योगले भटमासको तेल निकासी गर्दै आएका छन् ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)