ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

तरकारी खेतीमा रमाउँदै कृष्णपुरका किसान

२०७७ माघ, २८  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन गिरी

महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिकाका किसान व्यावसायिक रूपमा तरकारी खेतीतर्फ आकर्षित हुन थालेका छन् । सरकारी तथा गैरसरकारी संघ–संस्थाको अनुदान तथा प्राविधिक सहयोग पाएपछि स्थानीय किसान व्यावसायिक खेतीमा आकर्षित भएका हुन् ।

कञ्चनपुरको उदयदेव बहुउद्देश्यीय सहकारी संस्थाले कृष्णपुर नगरपालिका– ७ मा व्यावसायिक तरकारी खेतीका लागि कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रममार्फत स्थानीय किसानलाई अनुदानमा बिउबिजन वितरण, तालिम र कृषि सामग्रीसमेत उपलब्ध गराएको छ ।

सहकारीले किसान–२ परियोजनासँगको साझेदारीमा दुई हजार चार सय शेयर सदस्यलाई लक्षित गरी कार्यक्रम सञ्चालन भइरहेको हो ।

कष्णपुर नगरपालिका–६ बलुवाफाँटाका पतिराम चौधरीले डेढ बिघा क्षेत्रफलमा तरकारी खेती गरेका छन् । पहिलेदेखि नै तरकारी खेती गर्दै आएका चौधरी अहिले सहकारीलगायत साझेदार संस्थाहरूको प्राविधिक सहयोग पाएपछि व्यावसायिक रूपमा तरकारी खेतीका लागेका छन् ।

‘अहिले व्यावसायिक रूपमै तरकारी खेती गरिरहेको छु,’ स्थानीय किसान चौधरीले भने, ‘सिजनको समय बजारको समस्या छ । वार्षिक ५ देखि ६ लाखसम्म आम्दानी हुन्छ । त्यसैबाट घर खर्च चलेको छ ।’ सामान्य रूपमा तरकारी खेती गर्दै आएका स्थानीय अहिले लिजमा जमिन लिएर पनि व्यावसायिक तरकारी खेतीमा लागेका छन् ।

कृष्णपुर नगरपालिका–६ बलुवाफाँटाका हरिराम चौधरीे त्यहाँका अग्रज किसान हुन् । उनले करिब अढाई बिघामा तरकारी खेती गरेका छन् । पहिलेदेखि नै तरकारी खेती गरिरहेका चौधरी पछिल्लो समय सहकारीको प्राविधिक सहयोग पाएपछि उत्साहित भएर व्यावसायिक तरकारी खेतीमा लागेका छन् ।

सहकारीबाट ५० प्रतिशत अनुदानमा बिउ र अन्य प्राविधिक सहयोग पाएको बताउँदै चौधरीले भने, ‘तरकारीबाट वार्षिक १० देखि १२ लाखसम्म आम्दानी हुन्छ । सिजनमा बजारीकरण समस्या छ । यसलाई सरकारी निकायबाट व्यवस्थापन गर्नुपर्छ ।’

सहकारीका प्रमुख प्रशासकीय अधिकृत गणेशबहादुर चन्दले सहकारीका सदस्यको आर्थिक स्तर उकास्नका लागि कार्यक्रम सञ्चालन गरिएको बताए । उनका अनुसार कृष्णपुर नगरपालिकाको १, २, ३, ४, ५, ६, ७ र ८ वडामा सञ्चालन भइरहेको उक्त कार्यक्रममार्फत ८० वटा तरकारीको नर्सरी व्यवस्थापन गरिएको छ ।

त्यस्तै, मसुरो खेती व्यवस्थापन १६ वटा, हिउँदे मकै व्यवस्थापन १०, धानको पोस्ट हारभेस्ट ५० र तरकारी पोस्ट हारभेस्ट १५ वटा सञ्चालन गरिएको छ । त्यस्तै, सहरकारीले उक्त कार्यक्रममार्फत हिउँदे तरकारी, मेसिनबाट मसुरो र मकै खेती, हाई प्लास्टिक टनेल प्रदर्शनी गरेको छ भने ५ वटा पावर डिलर, ३ वटा धान, चुट्ने मेसिन किसानलाई हस्तान्तरण गरेको छ ।

सिँचाइका लागि ३ वटा ट्युबवेल जडान गरेको सहकारी प्रमुख कार्यकारी अधिकृत चन्दको भनाइ छ । कार्यक्रमार्फत ठूलो संख्यामा व्यावसायिक किसान उत्पादन गर्ने लक्ष्य लिइएको छ ।

सहकारीको सहयोगमा भइरहेको व्यावसायिक कृषि खेतीको कृषि ज्ञान केन्द्र कञ्चनपुर र सहकारीका तर्फबाट संयुक्त रूपमा अनुगमन गरिएको छ । अनुगमनमा कृष्णपुर नगरपालिकाका नगरप्रमुख कर्णबहादुर हमाल र उपप्रमुख रमिता राना र किसान–२ परियोजनाका जिल्ला संयोजक अनुप बमलगायतको उपस्थिति थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)