ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जनप्रतिनिधिको विवादले खोलामै थन्कियो सवा करोडको स्काभेटर

२०७७ माघ, २९  
सुदूरपश्चिम प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन गिरी

महेन्द्रनगर । २०७४ असारमा स्थानीय तहको निर्वाचनलगत्तै जनप्रतिनिधि सरकार बन्यो । स्थानीय सरकारले विकास निर्माणका लागि योजना बनाए । योजना कार्यान्वयनका लागि आवश्यक जनशक्ति र उपकरण खरिद गरे ।

दार्चुलाको मालिकार्जुन गाउँपालिकाले पालिकाका वडामा सडक निर्माणलाई प्राथमिकतामा राख्यो । ०७४ पुस १६ गतेको कार्यपालिकाका बैठले सडक निर्माणका लागि स्काभेटर खरिद गर्ने निणर्य गर्‍यो । सोहीअनुसार २०७४ पुस १३ गते ललितपुरको एमडब्ल्युु अर्थमुुभर्स प्रालिसँग ठेक्का सम्झौता भएपछि १ करोड १५ लाख रुपैयाँमा स्काभेटर खरिद गरियो ।

स्काभेटर किनेको केही महिनाबाटै बिग्रिन सुरु भयो । सामान्य मर्मत गरी सञ्चालन हुँदै आएको स्काभेटर भने पछिल्लो १५ महिनायता खोलामै थन्किएको छ ।

महँगो मूल्यमा किनिएको स्काभेटर मर्मत नहुँदा मालिकार्जुन गाँउपालिका–८ को पपना खोलामा थन्किएको हो ।

मालिकार्जुन गाउँपालिकाका सूचना अधिकारी कृष्णराज जोशीले १५ महिनाअघि नै स्काभेटर बिग्रिएको बताए । उनका अुनसार स्काभेटर बिग्रेपछि गाउँपालिका उपाध्यक्ष पुष्पा अवस्थीको संयोजकत्वमा इन्जिनियर र लेखापालसहित तीन सदस्यीय मर्मत समिति गठन गरिएको छ ।

समिति गठन भए पनि स्काभेटर मर्मत हुन सकेको छैन । ‘स्काभेटर बिग्रिएपछि मर्मतका लागि समिति गठन गरिएको छ,’ सूचना अधिकारी जोशीले भने, ‘मर्मत प्रक्रिया अगाडि बढेको भन्ने छ । अरू विषय मलाई जानकारीमा छैन ।’

मर्मत समिति संयोजक एवं गाउँपालिकाकी उपाध्यक्ष अवस्थीले भने स्काभेटर सञ्चालन र मर्मतका लागि पटक–पटक कार्यपालिकामा निर्णय गरी पठाइएको बताइन् । समितिले स्काभेटर मर्मतका लागि आवश्यक बजेट निकासा गर्न कार्यपालिकामा निर्णय पेस गरिएको बताउँदै उपाध्यक्ष अवस्थीले भनिन्, ‘मर्मतका लागि कुरा राख्दासमेत गाउँपालिका कार्यालयले बजेट अभावको बहाना बनाएको छ ।’

प्राविधिकबाट चेकजाँच गर्दा स्काभेटर मर्मतमा १५ लाख रुपैयाँ खर्च लाग्ने देखिएकामा उक्त रकम कार्यालयले बेहोर्न नसक्ने जनाएको छ । आफूलाई संयोजक मात्रै बनाइएको र आर्थिक अख्तियारीको जिम्मेवारी नदिएको उपाध्यक्ष अवस्थीको आरोप छ ।

स्काभेटर बिग्रिँदा गाउँपालिकाले भाडाका उपकरणमा लाखौँ खर्च गरिरहेको छ भने योजनाअनुसार काम समेत हुन सकेको छैन । पालिकाका सबै वडामा सडक पु¥याउने योजना राखे पनि स्काभेटर बिगिँ्रदा हालसम्म ४ वटा वडामा मात्रै सडक पुगेको छ ।

गाउँपालिका अध्यक्षले नै चासो नदिँदा स्काभेटर मर्मत हुन नसकेको उपाध्यक्ष अवस्थीको दाबी छ ।  गाउँपालिका अध्यक्ष नरेन्द्रसिंह धामीले भने स्काभेटर सञ्चालन समितिले नै चासो नदिएका कारण मर्मत हुन नसकेको दाबी गरे । उनका अनुसार ०७४ चैत २ गतेको कार्यपालिका बैठकले नै गाउँपालिका उपाध्यक्ष अवस्थीको संयोजकत्वमा इन्जिनियर र लेखापालसहित ३ सदस्यीय स्काभेटर सञ्चालन तथा व्यवस्थापन समिति गठन गरेको हो ।

स्काभेटर बिग्रिएपछि २०७६ असोज २८ गतेको कार्यपालिका बैठकले सबै मर्मत खर्च गाउँपालिकाले बेहोर्ने निर्णय गरिसकेको अध्यक्ष धामीको भनाइ छ ।  स्थानीयले भने गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीचको विवादका कारण स्काभेटर मर्मत नभएको दाबी गरेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)