ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ब्याज अनुदानको युवा स्वरोजगार कर्जा प्रवाह शून्य

२०७७ माघ, २९  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar ममता थापा

काठमाडौं । कोभिड महामारीका बीच सरकारले गत असोजमा युवा स्वरोजगारलाई प्रोत्साहन गर्न ५ प्रतिशत ब्याज अनुदानमा ल्याएको सहुलियतपूर्ण कर्जामा बैंक तथा वित्तीय संस्थाहरूले अझै कर्जा प्रवाह गरेका छैनन् ।

मन्त्रिपरिषद्ले गत असोज ८ गते ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकिकृत कार्यविधि, २०७५’को तेस्रो संशोधन, गर्दै युवा स्वरोजगार कर्जा थपेको थियो । यसैअनुसार नेपाल राष्ट्र बैंकले पनि गत असोज २७ गते कार्यान्वयनमा ल्याउन बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको थियो । करीब ३ महीना अवधि बितिसक्दा पनि एउटै कर्जा प्रवाह भने भएको छैन ।

कार्यविधिमा १२ कक्षा पास वा माध्यमिक शिक्षा वा सोसरह उत्तीर्ण युवावर्गले तोकिएको उद्यमका लागि ५ प्रतिशत ब्याज अनुदानमा रू. ५ लाखसम्मको युवा वर्ग स्वरोजगार कर्जा लिन पाउने व्यवस्था छ । यस्तो खालको कर्जाको माग नआएको प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनको भनाइ छ ।

उनका अनुसार युवाहरू देशभित्र भन्दा पनि देशबाहिर जाने क्रम बढेकाले पनि यसको माग नआएको हुनसक्छ । ‘यद्यपि यो कार्यक्रम लागू भएको भर्खर ३ महीना भएकाले पनि प्रवाह नभएको देखिनसक्छ । साथै कोभिडका कारणले कुनै पनि नयाँ व्यवसाय शुरू गर्ने अवस्था पनि थिएन । उद्यमका लागि राम्रो परियोजना प्रस्ताव पनि आएको छैन । तर, यो पनि अब क्रमशः जाला,’ उनले अभियानसँग भने । साथै प्रमाणपत्र धितो राखेर प्रवाह गर्ने कर्जामा बैंकहरू भने हच्किने गरेको उनको भनाइ छ ।

यस्तो कर्जा लिन शीप विकास उद्यमशीलता तालीम केन्द्र, घरेलु तथा साना उद्योग कार्यालय वा समिति, प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्लगायत सरकारी निकायमध्ये कुनै निकायबाट कम्तीमा ७ दिनको उद्यम वा व्यवसाय गर्ने शीप विकास उद्यमशीलता तालीम अनिवार्य लिएको हुनुपर्छ । अथवा उक्त कर्जा स्वीकृत भएपछि त्यस्तो संस्थामा शीप विकास तालीम लिएको प्रमाण पेश गर्न पनि सकिने व्यवस्था कार्यविधिले गरेको छ । यस्तो कर्जाका लागि आवेदन गर्दा उद्यम सञ्चालन तथा कर्जा उपयोगसम्बन्धी संक्षिप्त प्रस्ताव पेश गर्नुपर्ने छ ।

समूहमा कर्जा लिने हो भने सामूहिक जमानीको कागजात पेश गर्नुपर्छ । युवा स्वरोजगारका लागि कर्जा प्रवाह नभए पनि २०७७ पुस मसान्तसम्ममा ६० हजार ८ सय ७९ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भएको छ । यसको रू.१०० अर्ब ३७ करोड कर्जा बक्यौता रहेको छ ।

यसमध्ये कृषि तथा पशुपक्षी व्यवसाय कर्जाअन्तर्गत ३३ हजार ८ सय १७ ऋणीलाई प्रवाह भएको रू.७६ अर्ब ५९ करोड कर्जा रहेको छ । यसबाहेकको सहुलियतपूर्ण कर्जाको अन्य शीर्षकअन्तर्गत २७ हजार ६२ ऋणीको रू.२३ अर्ब ७७ करोड कर्जा बक्यौता रहेको छ । तर, सहुलियतपूर्ण कर्जाअन्तर्गत सबैभन्दा बढी कृषि र महिला उद्यमशीलतामा केन्द्रित छन् । तर, अझै उद्यमीले कर्जा नपाएको गुनासो गरेका छन् ।

बैंक तथा वित्तीय संस्थामार्फत प्रवाह भएका १० शीर्षकका सहुलियतपूर्ण कर्जामध्ये व्यावसायिक कृषि तथा पशुपक्षी व्यवसाय र महिला उद्यमशीलता कर्जा सबैभन्दा बढी उपयोग भएको तथ्यांकमा देखिन्छ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार गत पुससम्ममा ३३ हजार ८ सय १७ जनामा ७६ अर्ब ५९ करोड रुपैयाँ कर्जा बक्यौतामा रहेको छ । यसमध्ये कृषिमा विनाधितो रू. १ अर्ब २१ करोड ११ लाख र धितोमा रू ७५ अर्ब ३७ करोड ९५ लाख रुपैयाँ कर्जा बक्यौतामा रहेको राष्ट्र बैंकले बताएको छ । ब्याज अनुदानमा सहुलियतपूर्ण कर्जा व्यावसायिक कृषि तथा पशुपक्षी व्यवसायका लागि प्रतिव्यक्ति रू. ५ करोडसम्म ५ प्रतिशत ब्याज अनुदान पाउन सकिन्छ ।

महिला उद्यमशीलतामा २५ हजार २ सय ९८ जनाले ६ प्रतिशत ब्याज अनुदानमा सहुलियतपूर्ण कर्जा उपयोग गरेका छन् । उक्त संख्याका ऋणीले पुससम्म २१ अर्ब ७८ करोड १८ लाख रुपैयाँ बराबरको ऋण बक्यौता रहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । महिला उद्यमशीलता कर्जा प्रतिव्यक्ति १५ लाखसम्म लिन पाइन्छ । तर, विनाधितो लिन पाइने यस्तो सहुलियतपूर्ण कर्जामा बैंकहरूले धेरै सास्ती दिने गरेको र कतिपयले नपाएको महिला उद्यमीहरू गुनासो गर्छन् । न्यू बिजनेश एज प्रालिले आयोजना गरेको न्यूबिज वुमन समिट एन्ड अवार्ड २०२१ कार्यक्रममा नेपलिज योङ्ग आन्त्रप्रेनर्स फोरमकी महिला उपाध्यक्ष निभिता प्रधानले पनि यस्तो गुनासो गरेकी थिइन् । उनले सहुलियतपूर्ण कर्जा लिन जाँदा कागजात नपुगेको भन्दै पटकपटक फर्किनु परेको बताइन् ।

गत पुससम्मा सहुलियत कार्यक्रमअन्तर्गत ‘शिक्षित युवा स्वरोजगार कर्जा’ शीर्षकमा जम्मा १ सय ३ को संख्यामा ५ करोड १३ लाख रुपैयाँ बराबरको ऋण बक्यौता रहेको तथ्यांकले देखाउँछ । गतवर्षको तुलनामा भने यो करीब दोब्बर हो । गतवर्ष सोहीे अवधिमा यस्तो कर्जा ४८ जनाले रू.२ करोड ४८ लाख रुपैयाँ बराबरमा उपयोग गरेका थिए ।  यसैगरी, ‘विदेशबाट फर्केका युवा परियोजना कर्जा’ शीर्षकमा ५ सय ३९ को संख्यामा रू. ४० करोड २० लाखको ऋण बक्यौता रहेको छ । गतवर्ष १ सय २८ जनाले रू. ८ करोड ५६ लाखको उपयोग भएको थियो । शिक्षित युवा स्वरोजगार कर्जा रू. ७ लाखसम्म, विदेशबाट फर्केका युवा परियोजना कर्जा रू. १० लाखसम्म लिन पाइने व्यवस्था छ । यस्तै, दलित समुदाय व्यवसाय विकास कर्जाअन्तर्गत ६ सय ३० को संख्यामा रू. ३६ करोड ५१ लाख रुपैयाँ कर्जा बक्यौता रहेको छ । यसैगरी उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जाअन्तर्गत हालसम्म ८७ को संख्यामा ३ करोड ४३ लाख रुपैयाँ कर्जा बक्यौता रहेको छ । भूकम्प पीडितहरूको निजी आवास निर्माण कर्जा २ सय ४० को संख्यामा ५ करोड ६८ लाख रुपैयाँ बराबर लिएको तथ्यांकमा उल्लेख छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)