ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्राधिकरणको कार्यकारी प्रमुखमा शाक्यको आगमन : विद्युत् उत्पादनदेखि खपतसम्म नै चुनौती

२०७७ माघ, ३०  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar मिलन विश्वकर्मा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशक रहेका हितेन्द्रदेव कार्यकारी निर्देशकमा नियुक्त भएका छन् । उक्त पदमा ४ वर्षका लागि नियुक्त शाक्य ऊर्जा क्षेत्रका अनुभवी एवं जानकार मानिन्छन् । यद्यपि प्राधिकरणको नेतृत्वमा उनको प्रवेश भने चुनौतीपूर्ण देखिएको छ ।

तत्काललाई प्रसारण लाइन बनाउने र विद्युत्को खपत बढाउनुपर्ने मुख्य चुनौती देखिएको ऊर्जाविज्ञ तथा व्यवसायीहरू बताउँछन् । प्राधिकरणले समयमै सोलु, कोशी, त्रिशूलीलगायत थुप्रै प्रसारण लाइन समयमा बनाउन नसक्दा त्यही क्षेत्रका करीब २० अयाोजनाको विद्युत् उत्पादन पूर्णरूपमा भएको छैन । त्यसअनुसार तत्काललाई त्यस्ता प्रसारण लाइनको निर्माण कार्य सम्पन्न गर्न उनलाई चुनौती हुने देखिएको छ ।

यस्तै, विद्युत् खपत बढाउने मामलामा पनि उत्तिकै चुनौती देखिएको छ । विशेषगरी वर्षात्को विद्युत् खपत गर्न शाक्यलाई मुख्य चुनौती हुनेछ । नेपालमा अझै पनि वर्षात्मा बिजुली खेर जाने गरेको छ । यस्तै अब छिट्टै ४५६ मेगावाटको माथिल्लो तामाकोशी आयोजना र निजीक्षेत्रबाट पनि विभिन्न आयोजना सञ्चालनमा आउने तयारी छन् । आउँदो वर्षात्मा धेरै मात्रामा नै विद्युत् खेर जाने देखिन्छ । यस अवस्थामा शाक्यलाई विद्युत्को खपत बढाउन ठूलै चुनौती हुने स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष कृष्णाप्रसाद आचार्यले बताए ।

‘यस अवस्थामा नव नियुक्त कार्यकारी निर्देशक शाक्यले वितरण प्रणाली, सबस्टेशनलगायत पूर्वाधारको क्षमता विस्तार तथा नयाँ पूर्वाधारको निर्माणमा पनि जोड दिनुपर्छ,’ उनले भने, ‘विशेषगरी पहिला देशभित्र नै विद्युत् खपत बढाउने गरी काम गर्नुपर्छ ।’

यस्तै, ऊर्जाविज्ञ तथा व्यवसायी ज्ञानेन्द्रलाल प्रधानले अब पुरानो ढंगले काम गर्दा विद्युत् खपतमा सुधार नआउने बताए । अब नयाँ ढंगले काम गरे मात्र विद्युत् खपतमा उपलब्धि हुने उनको भनाइ छ । ‘अबको मुख्य चुनौती नै विद्युत् खपत बढाउने हो,’ उनले भने, ‘विशेषगरी औद्योगिक विद्युत् खपत बढाउने दिशामा प्राधिकरणले काम गर्न आवश्यक छ ।’ अझै पनि अधिकांश उद्योगले विद्युत् नपाएका छैनन् । केही उद्योग डिजेलजस्ता इन्धन प्रयोग गरेर चलेका छन् । यस अवस्थामा प्राधिकरणले औद्योगिक क्षेत्रमा विद्युत् विस्तार गर्नुपर्ने प्रधान बताउँछन् ।

प्राधिकरणले शुरू गरेको विभिन्न जलविद्युत् तथा प्रसारण लाइनको आयोजनाको निर्माण सम्पन्न गर्नु पनि शाक्यका लागि अर्काे चुनौती हुनेछ । प्राधिकरणले प्रसारण लाइनतर्फ शुरू गरेको सोलु कोरिडोर, कोशी कोरिडोर, त्रिशूली कोरिडोर, कुश्मा–बुटवल प्रसारण लाइन, हेटौंडा–ढल्केवर प्रसारण लाइन अझै बनेका छैनन् ।

यस्तै, विद्युत् उत्पादनतर्फ बहुप्रतीक्षित माथिल्लो तामाकोशी, तनहुँ सेती स्टोरेज, मध्येभोटेकोशी, रसुवागढी आयोजना पनि अझै बनेका छैनन् । यी आयोजना सम्पन्न गर्नमा पनि शाक्यलाई चुनौती रहेको इप्पानका पूर्वउपाध्यक्ष कुमार पाण्डेले बताए ।

सरकारले खुला प्रतिस्पर्धाबाट प्राधिकरणको कार्यकारी निर्देशक छनोट गर्ने भनेर कुलमान घिसिङलाई पुनः नियुक्ति गरेको थिएन । सार्वजनिक रूपमा नै ठूलो छवि कमाएका कुलमानलाई पुनः नियुक्त गर्न चौतर्फी रूपमा माग गरिएको पनि थियो । यस अवस्थामा शाक्यलाई कुलमानको जस्तै छवि हुने गरी काम गर्न अर्काे चुनौती रहेको इप्पान अध्यक्ष आचार्य बताउँछन् ।

त्यसो त प्राधिकरणका नव नियुक्त कार्यकारी निर्देशक शाक्य स्वयं अबका दिन आफ्ना लागि चुनौतीपूण नै हुन सक्ने बताउँछन् । यद्यपि, त्यस्ता चुनौतीलाई सामाना गर्दै आफू अगाडि बढ्ने उनको भनाइ छ ।

विशेषगरी अब विद्युतीकरणलाई शतप्रतिशत पुर्‍याउने गरी अगाडि बढ्ने उनले बताए । ‘अहिले विद्युतीकरण ८६ प्रतिशत छ, अबको केही वर्षमै त्यो १०० प्रतिशत पुग्नेगरी काम गर्छु,’ उनले भने, ‘बन्न नसकेको प्रसारण लाइन बनाउने, उत्पादित विद्युत् ग्रीडमा जोड्ने काम गर्ने योजना बनाएको छु ।’

यस्तै, विद्युत् खपत बढाउने दिशामा पनि आफू सकारात्मक भएको उनको भनाइ छ । ‘अहिले प्राधिकरणले ५ हजार मेगावाटभन्दा बढी क्षमता भएका आयोजनासँग पीपीए गरेको छ । उनीहरूको विद्युत् खेर नजाने गरी काम गर्छु,’ उनले भने, ‘विशेषगरी औद्योगिक क्षेत्रमा विद्युत् खपत बढाउने प्रयास गर्नेछु ।’ यसअतिरिक्त विद्युत्को निर्यात बढाएर व्यापारलाई सन्तुलनमा ल्याउन पनि पहल गर्ने उनको भनाइ छ ।

ऊर्जा तथा औद्योगिक क्षेत्र शाक्यबाट उत्तिकै आशावादी पनि छ । इप्पान अध्यक्ष आचार्यले ऊर्जाक्षेत्रका अनुभवी व्यक्ति शाक्यबाट आफूहरूले धेरै अपेक्षा गरेको बताए । अबका दिनमा प्राधिकरणले निजीक्षेत्रलाई सहकार्य गरेर अगाडि बढाउनुपर्ने व्यवसायीहरूको माग छ ।

इप्पान पूर्वउपाध्यक्ष पाण्डेले निजी ऊर्जाक्षेत्रलाई प्राधिकरणकै कारण टाट पल्टिने अवस्था आउन दिन नहुने बताए ।

ऊर्जाविज्ञ प्रधानले भने अब प्राधिकरणले निजीक्षेत्रसँग प्रतिस्पर्धा पनि गर्नुपर्ने बताए । ‘प्राधिकरण र निजीक्षेत्रबीच सहकार्य आवश्यक छ । तर, विद्युत् उत्पादन, प्रसारण र वितरणमा निजीक्षेत्रसँग प्रतिस्पर्धा गर्न प्राधिकरण तयार हुनुपर्छ,’ उनले भने ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारका पनि उद्योगहरूलाई सहज रूपमा विद्युत् उपलब्ध गराउने गरी प्राधिकरणले काम गर्नुपर्ने बताउँछन् । समग्रमा प्राधिकरणले सस्तो र पर्याप्त विद्युत् उद्योगहरूलाई दिनुपर्ने उनको भनाइ छ ।

‘नेपालको औद्योगिक क्षेत्रले छिमेकका दुई ठूला मुलुकका उद्योगहरूसँग प्रतिस्पर्धा गर्नुपर्छ । यस्तो अवस्थामा उनीहरूसँग प्रतिस्पर्धा गर्न हामीसँग गर्ने सस्तो माध्यम केही पनि छैन,’ उनले भने, ‘तर, बिजुली भने उपयुक्त माध्यम हुन सक्छ । त्यसैले, हामीलाई सस्तोमा बिजुली दिनुपर्छ ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)