ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निजीक्षेत्रलाई कोरोनालगत्तै चन्दाको मार

२०७७ माघ, ३०  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar ओमप्रकाश खनाल

काठमाडौं । कोरोना महामारीको असरबाट तङ्ग्रिने प्रयासमै रहेका बेला निजीक्षेत्रमाथि चन्दाको दबाब थपिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्धको आन्दोलन र ओलीको समर्थन दुवैथरी प्रदर्शनका लागि चन्दा दिन बाध्य भएका हुन् ।

सरकार पक्षीय प्रदर्शन र विपक्षमा जारी आन्दोलनले निजीक्षेत्र थप मारमा परेको उद्यमीहरूले बताए । दुवै पक्षले आआप्mनो पक्षको प्रदर्शनमा सहभागिता जुटाउन उद्योगी व्यवसायीसँग चन्दा उठाउन थालेपछि उद्योगी व्यवसायी सकसमा परेका छन् । संघीय राजधानी काठमाडौंमा प्रतिस्पर्धात्मक शैलीमा भएका प्रदर्शनमा जिल्लाजिल्लाबाट सहभागी पुर्‍याउने नाममा चन्दा उठाइएको हो ।

प्रधानमन्त्री ओलीको सिफारिशमा प्रतिनिधिसभा विघटन भएयता राजनीतिक अन्योल बढेर गएको छ । सत्तासीन नेकपाकै प्रचण्ड–माधव समूह सडक आन्दोलनमा छ । अन्य विपक्षी दलहरूले पनि प्रधानमन्त्रीको कदमको विरोधमा प्रदर्शन गरिरहेका छन् । ओली समूह समर्थकले प्रधानमन्त्रीको समर्थनमा प्रदर्शन गरेका छन् ।

मुख्य औद्योगिक प्रतिष्ठानहरू रहेको वीरगञ्ज–पथलैया कोरिडोरका उद्योग र प्रतिष्ठानका कार्यालयहरूमा सत्तासीन राजनीतिक दलका समूहले प्रतिस्पर्धात्मक रूपमा चन्दा उठाइरहेको एक उद्योगीले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपा र प्रचण्ड–माधव दुवै समूहले उद्यमी व्यवसायीसँग चन्दा मागेका छन् ।

दुवै नेकपाका स्थानीय नेताहरूले आन्दोलनमा सहभागिता जुटाउने नाममा व्यवसायीलाई सहयोगका लागि दबाब दिएका छन् । प्रचण्ड–माधव समूह र ओली समूहले संघीय राजधानीमा गरेको प्रदर्शनमा सहभागिता जुटाउन भन्दै ती समूहका नेताहरूले चन्दा उठाएका हुन् ।

ओली समूहको पर्सा जिल्ला समितिले पत्र काटेरै चन्दा मागेको भेटिएको छ । बलियो बहुमतको सरकार बनेपछि औद्योगिक र व्यावसायिक वातावरण बन्ने अपेक्षा पालेर बसेको निजीक्षेत्र यतिखेर अस्थिरता र चन्दाको शिकार भएको एक उद्यमीले गुनासो गरे ।

राजनीतिक स्थायित्वको आशमा बसेको निजीक्षेत्र यतिबेला चरम अन्योलमा परेको छ । ‘एकथरी सरकारको समर्थनमा मानिस उतार्न सहयोग चाहियो भन्दै आउँछन्, अर्काथरी विरोधमा प्रदर्शन गर्नुपर्ने भयो भन्छन्,’ वीरगञ्जका एक औद्योगिक घरानाका सञ्चालकले भने, ‘सत्ता र सडक दुवैतिरको तानातानले व्यवसायी मारमा परेका छौं ।’

राजनीतिक दलले गर्ने सडक प्रदर्शन र बन्दहडतालमा व्यवसाय गर्न नपाएर मार सहने व्यापारी नै यस्ता आन्दोलनमा आर्थिक सहयोग दिन बाध्य भएको वीरगञ्ज उद्योग वाणिज्य संघका एक पदाधिकारीले बताए । ‘आर्थिक गतिविधि नै अवरुद्ध हुने गरी देशलाई अस्थिरतातिर लैजाने गतिविधिलाई निजीक्षेत्रले कहिल्यै पनि स्वीकार गर्दैन । तर, त्यस्तै प्रयोजनका लागि चन्दा पनि दिनुपरेको छ,’ उनले गुनासो गरे । मुलुकमा बलियो बहुमतसहितको सरकार बनेपछि उद्योग व्यापारमैत्री वातावरणको अपेक्षा पालेर बसेको निजीक्षेत्र पछिल्ला राजनीतिक गतिविधिले निराश बन्न पुगेको संघका ती पदाधिकारीले बताए ।

राजनीतिक दलका नेता कार्यकर्ता भने राजनीतिक गतिविधिका लागि सहयोग लिनु सामान्य भएको बताउँछन् । ‘विगतका अनेक आन्दोलन र संघर्षलाई पनि व्यापारीले सघाएकै हुन् । अहिले चन्दा मागिनुलाई अन्यथा भन्न मिल्दैन,’ नेकपा ओली समूहका एक जिल्ला नेताले भने ।

अहिले मुख्य रूपमा सत्तासीन दलकै दुई समूहले शक्ति प्रदर्शनका लागि प्रतिस्पर्धा गरिरहेका छन् । विपक्षी दलसमेत सशक्त रूपमा सडकमा उत्रिएमा चन्दाको दबाब अझ बढ्ने आशंका व्यवसायीहरूमा छ । ‘सडकमा उत्रिनेहरू जति बढी भए खर्च उठाउने पनि त्यत्ति नै बढ्ने हुन्,’ उद्योगीको चिन्ता छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)