ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बैंकको कर्जा प्रवाहमा सुधार : सन्तुष्ट छैनन् बैंकर्स

२०७७ माघ, ३०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा

काठमाडौं । पछिल्लो समय वाणिज्य बैंकहरूको कर्जा प्रवाहमा थप सुधार हुन थालेको छ । तर यस्तो सुधारमा बैंकर्सहरू भने अझै सन्तुष्ट देखिँदैनन् । पछिल्लो समय कर्जा प्रवाहमा साप्ताहिक रूपमै करीब २० अर्बको थप वृद्धि भइरहेको नेपाल बैंकर्स संघले बताएको छ । यसअघि चालू आवकै अवधिभर अधिकांश समय कर्जा प्रवाहमा उतारचढाव आएको थियो । यद्यपि अहिले भने कर्जा प्रवाहको गति क्रमशः सुधारतिर उन्मुख भएको संघको तथ्यांकले देखाएको छ ।

चालू आवमा कोभिडको प्रभाव आंशिक रूपमा रहे पनि समग्रमा अर्थतन्त्र चलायमान हुन थालेपछि बैंकको कर्जा प्रवाह तथा निक्षेप संकलनमा सुधार देखिएको बैंकरहरू बताउँछन् । नेपाल बैंकर्स संघले सार्वजनिक गरेको तथ्यांकअनुसार २७ ओटा वाणिज्य बैंकहरूको माघको चौथो साता अर्थात् माघ २३ गतेसम्म सातामै रू. २० अर्बले लगानी बढ्दा कुल कर्जा प्रवाह रू. ३२ खर्ब ८८ अर्ब पुगेको छ । यसअघि माघको दोस्रो साता ११ अर्बले वृद्धि हुँदा कुल कर्जा प्रवाह ३२ खर्ब ६८ अर्ब र तेस्रो साता २१ अर्बले बढ्दा ३२ खर्ब ६८ अर्ब रुपैयाँ पुगेको थियो । जब कि माघको पहिलो साता भने रू. ८ अर्बले खुम्चिँदा कुल कर्जा प्रवाह रू. ३२ खर्ब ३६ अर्बमा सीमित भएको थियो ।

तथ्यांकअनुसार वाणिज्य बैंकहरूको कर्जा प्रवाहमा सुधार देखिए पनि बैंकरहरू भने अझै अपेक्षित रूपमा नयाँ क्षेत्रमा कर्जा नगएको बताउँछन् । यसैले पनि अहिले सुधार भएको कर्जा प्रवाहमा उनीहरू खासै सन्तुष्ट देखिँदैनन् ।

एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसी तथ्यांक हेर्दा पहिलाको तुलनामा कर्जा वृद्धि देखिए पनि बजारमा भएको माग अझै खासै हुन नसकेको बताउँछन् । साथै झट्ट हेर्दा अर्थतन्त्र चलायमान हुन थालेको देखिए पनि सरकारको बजेटमार्फत जारी भएका विकास खर्च समयमा नहुँदा भने प्रभावित हुन सक्ने उनको भनाइ छ ।

यस्तै नबिल बैंकका डेपुटी महाप्रबन्धक मनोज ज्ञवाली पछिल्लो समय यस्तो कर्जा प्रवाहमा नेपाल राष्ट्र बैंकको नीतिगत व्यवस्थाले पनि फरक पारेको तर्क गर्छन् । गतवर्ष यही अवधिको तुलनामा अहिले भने ४० प्रतिशत बढी कर्जा प्रवाह बढेको देखिए पनि यसपटक नयाँ क्षेत्रमा कर्जा प्रवाह हुन नसकेको उनले बताए । उनका अनुसार केन्द्रीय बैंकले चालू आवमा कोभिडबाट थला परेका व्यवसायलाई सञ्चालन पूँजीमा १० प्रतिशत बढाएर दिन भनेपछि वाणिज्य बैंकहरूले यसतर्फ पनि कर्जा प्रवाह बढाए । यसबीच नयाँ कर्जाभन्दा पनि एउटा बैंकको ऋणी अर्को बैंकमा सरेको अर्थात् बढी कर्जा स्वाप भएको उनले बताए । यस्तै माघ पहिलो साता संकुचनमा रहेको वाणिज्य बैंकको निक्षेप वृद्धि विगत २ सातादेखि सुधार हुन थालेको छ । माघको चौथो साता साप्ताहिक निक्षेप वृद्धिदर रू. ५ अर्बले बढेर कुल निक्षेप ३७ खर्ब ८४ अर्ब रुपैयाँमा सीमित भएको छ । तर माघ पहिलो साता यस्तो निक्षेप साप्ताहिक ३ अर्बले घटेर ३७ खर्ब ७९ अर्ब र माघ दोस्रो साता १० अर्बले घटेर ३७ खर्ब ६९ अर्बमा सीमित थियो । तर माघ तेस्रो साता आइपुग्दा यस्तो निक्षेप थप १० अर्बले बढेको थियो ।

पछिल्लो समय बैंकहरूबाट प्रवाह हुने कर्जाको ब्याजदर घटेपछि दुई पटकसम्म निक्षेपको ब्याजदर समेत घटाइएको छ । निक्षेपको ब्याजदरमा संकुचन आएसँगै निक्षेप संकलन समेत ऋणात्मक हुन पुगेको हुन सक्ने आकलन गरिन्छ । यसअघि गत कात्तिकमा पनि निक्षेप संकलन ऋणात्मक भएको थियो । तर मङ्सिरमा सुधार देखिएको थियो । गत कात्तिकमा यस्तो निक्षेप ६ अर्बले ऋणात्मक हुँदा कुल निक्षेप रू. ३६ खर्ब ४८ अर्बमा सीमित थियो । यस्तै, गत मङ्सिरसम्ममा निक्षेप संकलन ४६ अर्बले बढेर कुल निक्षेप संकलन रू. ३६ खर्ब ९४ अर्ब पुगेको थियो । यसैगरी मङ्सिरसम्म आइपुग्दा निक्षेपसँगै कर्जामा पनि क्रमशः सुधार भएको संघले बताएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)