ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सार्वजनिक जग्गा अतिक्रमण : जग्गा खोज्दै वीरगञ्ज महानगर

२०७७ फागुन, ३  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल

वीरगञ्ज । वीरगञ्ज नगरक्षेत्रका विभिन्न स्थानमा भूमाफिया र कर्मचारीको मिलेमतोमा व्यक्तिको नाममा दर्ता भएका जग्गाको वीरगञ्ज महानगरपालिकाले खोजबिन थालेको छ । मुख्य बजारक्षेत्र आदर्शनगरलगायत ३२ ओटै वडाको सार्वजनिक जग्गा पहिचान र व्यक्तिको नाममा दर्ता जग्गा महानगरको नाममा ल्याउने अभियान शुरू गरिएको हो ।

महानगरको जग्गा विभिन्न व्यक्तिले कब्जा गरेको पाइएपछि त्यस्तो जग्गा महानगरको नाममा ल्याउन प्रक्रिया अघि बढाइएको नगर प्रमुख विजयकुमार सरावगीले बताए ।
‘आदर्शनगरको २१ ओटा कित्ता जग्गाको हालसाबिक गरेको भेटिएको छ । त्यस्ता सबै जग्गा महानगरको नाममा ल्याउने प्रक्रिया अघि बढाएका छौं,’ प्रमुख सरावगीले आर्थिक अभियानसित भने ।

वीरगञ्जको मुख्य बजार आदर्शनगरमा मात्रै ३ दर्जनभन्दा बढी कित्ता जग्गा व्यक्तिहरूले अनधिकृत रूपमा हकभोग गरिरहेको दाबी महानगरका कर्मचारीको छ । भूमाफिया, महानगर, नापी र मालपोत कर्मचारीको मिलेमतोमा तीमध्ये अधिकांश जग्गाको हक व्यक्तिको नाममा गइसकेको पाइएपछि महानगरले खोजबिन थालेको हो । अहिलेसम्म २१ कित्ताको विवरण फेला पारेको महानगरले अन्य जग्गा खोजबिन भइरहेको बताएको छ । व्यक्तिको नामा दर्ता भएको एउटा कित्ता जग्गा हालै पर्सा जिल्ला अदालतले महानगरको नाममा दर्ता कायम गर्न आदेश दिएको छ ।

वीरगञ्ज महागरपालिका वडा नंं. १० को साबिक ८१७ नम्बर कित्ताको जग्गाको हक व्यक्तिको नामबाट बदर गर्न अदालतले आदेश दिएको महानगरका कानूनी सल्लाहकार कमलमोहन पोखरेलले जानकारी दिए । न्यायाधीश माधवप्रसाद मैनालीको इजलाशले यो जग्गा महानगरको नाममा दर्ता कायम गर्न आदेश दिएको हो ।

हाल नापीमा कित्ता नम्बर १८ र ५२ मा रहेको १ कट्ठा जग्गाको दर्ता बदर गरी महानगरको नाममा ल्याउन माग गर्दै महानगरले जिल्ला अदालतमा मुद्दा हालेको थियो । यो जग्गा वीरगञ्ज ३ छपकैयाकी नजमा बेगमले स्थानीय अरूणकुमार अग्रवालसँग खरीद गरेको मालपोतको स्रेस्ताले देखाउँछ ।

यो जग्गामा अहिले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाममा खोलिएको जीपी कोइराला फाउन्डेशनको पर्सा जिल्ला कार्यालय छ । फाउन्डेशनका जिल्ला अध्यक्ष महम्मद सहाबुद्दिन जग्गाधनी नजमाकार श्रीमान् हुन् ।

आदर्शनरगरमा व्यवस्थित बसोवासका लागि विक्रम संवत् २०२० सालमा शहरी विकास योजनाले जग्गा प्लटिङ गरेको थियो । यो योजनाअन्तर्गत पशुपति आदर्श निर्माण समितिले जग्गा अधिग्रहण गरेको थियो । त्यसबेला विक्री नभएको जग्गा तत्कालीन वीरगञ्ज नगरपञ्चायतालाई हक हस्तान्तरण गरिएको थियो । हस्तान्तरण हुँदै महानगरको हकमा आएको जग्गामा भूमाफियाको चलखेल शुरू भएको हो ।

महानगरको जग्गा हत्याउने प्रपञ्चमा महानगरका कर्मचारीको समेत मिलेमतो भेटिएको महानगरसम्बद्ध स्रोतले बताएको छ । कर्मचारीले तत्कालीन स्थानीय निकाय चलाएका बेला भूमाफियासँगको साँठगाँठमा सार्वननिक जग्गा व्यक्तिको नाममा गएको भेटिएको छ ।

सार्वजनिक जग्गा हड्पिनेमा स्थानीय नेतादेखि व्यापारीसम्मका व्यक्तिहरू छन् । महानगरका कर्मचारीले बेलाबेलामा यस्तो जग्गा खाली गर्न सूचना पनि निकालेको छ । माफियाको प्रभावमा कारबाही अघि बढ्न सकेको छैन ।

सार्वजनिक जग्गा कति छ भन्ने तथ्यांक महानगरसित छैन । महानगरमा जनप्रतिनिधि आइसकेपछि ३२ ओटै वडाको सार्वजनिक जग्गाको खोजबिन भइरहेको प्रमुख सरावगीले बताए । महानगरले प्रत्येक वडालाई आआफ्नो क्षेत्रमा पर्ने सार्वजनिक जग्गाको विवरण अद्यावधिक गरी पठाउन भनेको छ ।

वडा कार्यालयहरूले खाली जग्गाको विवरण पठाएको र त्यस्तो जग्गामा वृक्षरोपण गरी संरक्षणको योजना राखिएको महानगरको वातावरण तथा हरियाली प्रवर्द्धन शाखा प्रमुख सुनील कर्णले बताए । वडा समितिले सार्वजनिक भनेर पठाएको जग्गासमेत व्यक्तिको नाममा गइसकेको भेटिएको छ ।

यसअघि महानगरले कार्यपालिका सदस्य निरञ्जन सर्राफको संयोजकत्वमा सार्जवनिक जग्गा खोजबिन समिति बनाएको थियो । यो समितिको काम प्रभावकारी हुन सकेको छैन ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)