ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पूँजीगत खर्च न्यून : निर्माण क्षेत्रका उद्योगको उत्पादन खुम्चियो

२०७७ फागुन, ५  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar वेदराज पौडेल

विराटनगर । संघीय र प्रदेश सरकारको पूँजीगत खर्च नहुँदा निर्माणको क्षेत्रसँग जोडिएका सिमेन्ट, फलामे डन्डी, इँटा उद्योगहरूको उत्पादन ५० प्रतिशतले खुम्चिएको छ ।

प्रदेश सरकारले चालू आर्थिक वर्षको बजेटको २० प्रतिशत पनि खर्च गर्न सकेको छैन । संघीय सरकारले समेत विकास निर्माणका लागि छुट्ट्याएको रकम खर्च गर्न नसक्दा निर्माणसँग जोडिएका उद्योगहरूको उत्पादन खपत हुन सकेको छैन । माग घटेपछि उद्योगहरूले आफ्नो उत्पादन क्षमता आधा कटौती गरेका छन् ।

प्रतिदिन ८ सय मेट्रिक टन फलामे डन्डी उत्पादन गर्दै आएको दुहबीको प्रिमियर स्टीलले कोभिडपछि पनि आफ्नो उत्पादन पूर्ण क्षमतामा सञ्चालन गर्न सकेको छैन । अहिले दैनिक ३ देखि ४ सय टन मात्र उत्पादन भइरहेको छ । प्रिमियर स्टीलका सञ्चालक तथा मोरङ व्यापार संघका पूर्वअध्यक्ष पवन शारडाले सरकारी योजनाका बजेट खर्च नभएपछि आयोजनाहरूले निर्माण सामग्री खपत गर्ने कुरा आएन । साथै, पूँजीगत बजेट खर्च नभएपछि सरकारी खातामा रहेको रकम बजारमा नआएकाले निर्माण क्षेत्रका सामग्रीको माग घटेको उनको भनाइ छ ।

उनका अनुसार सरकारले विकास निर्माणका लागि छुट्ट्याएको बजेट नै खर्च नभएपछि विकास निर्माणले गति लिने कुरा भएन । यस्तोमा निर्माण सामग्रीको माग घट्ने मात्र होइन, बजारमा रकम नआएपछि अन्य वस्तुको खरीदविक्री पनि हुँदैन । ठेकेदारले ठेक्का लिए पनि बजेट भुक्तानी नपाएपछि उत्पादनको खरीदविक्री नै हँुदैन । त्यही भएर डन्डी, सिमेन्ट र इँटा उद्योगको उत्पादन घटेको शारडाले बताए ।

प्रदेश १ मा मैनबती, प्रिमियर स्टील, पशुपति आइरन, आरती स्ट्रिप, हुलास वायर, कमला रोलिङ र पाथिभरा स्टील उद्योग रहेका छन् । सबै स्टील उद्योगको क्षमता दैनिक ३ सय टनभन्दा बढी छ । तर, माग नभएपछि सबै उद्योगको उत्पादन आधा घटेको उद्योगीहरू बताउँछन् ।

अन्नपूर्ण सिमेन्टका सञ्चालक तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजेन्द्र राउतले प्रदेश र केन्द्रीय सरकारको बजेट खर्च २० प्रतिशत पनि नपुगेकाले विकास निर्माणका कामहरू सञ्चालन नहुँदा सिमेन्टको माग ५० प्रतिशत घटेको बताए । प्रदेश १ का झापामा ७, मोरङमा ४, सुनसरीमा १, धनकुटामा १, र उदयपुरमा सरकारी स्वामित्वको सिमेन्ट उद्योग गरी १४ सिमेन्ट उद्योग सञ्चालनमा छन् । अहिले सबै उद्योगको उत्पादन ५० प्रतिशत घटेको छ ।

कोशी इँटा व्यवसायी संघका अध्यक्ष महेद्रप्रसाद साहले कोरोनाका कारण भारतको कुचविहारबाट मजदूर आउन नसकेकाले प्रदेश १ का ८५ ओटामध्ये १७ ओटा मात्र इँटा उद्योग सञ्चालनमा रहेको बताए । उनका अनुसार अहिलेसम्म निर्माणको क्षेत्रमा जेनतेन पुरानो स्टकबाट इँटा पु¥याइरहे पनि वैशाखदेखि इँटाको अभाव हुन्छ ।

भारतीय मजदूर नेपाल प्रवेश गर्ने अनुमति नपाउँदा प्रदेश १ का ६८ ओटा इँटा उद्योगले यो वर्ष इँटा उत्पादन गर्न सकेनन् । प्रदेश १ मा वार्षिक ३४ करोड इँटा निर्माण क्षेत्रमा प्रयोग हुँदै आएको छ ।

प्रदेश १ का ८५ ओटा इँटा उद्योगमा २२ हजार मजदूर पश्चिमबंगालको कुचविहारबाट प्रत्येक वर्ष आएर काम गर्थे । तर, यो वर्ष कोरोनाको कारण सीमा नाका बन्द गरिएकाले उनीहरू आउन सकेनन् । इँटा उद्योगमा ९० प्रतिशत मजदूर भारतीय छन् । कोरोनाका कारण सीमा सिल भएपछि उनीहरू नेपाल आउन नपाउँदा इँटा उत्पादन प्रभावित भएको हो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)