ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कार्यविधि तयार नहुँदा इजरायलको रोजगारीमा नेपाली जान पाएनन्

२०७७ फागुन, ६  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar विजय दमासे

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले समयमै कार्यविधि तयार नगर्दा इजरायलको रोजगारीमा नेपालीहरू जान पाएका छैनन् ।

त्यहाँको रोजगारीमा नेपालीहरू पठाउन सबै तयारी सकिए पनि मन्त्रालयबाट कार्यविधि तयार नगरिदिँदा आवेदन लिन कठिन भएको वैदेशिक रोजगार विभागका अधिकारीहरूको भनाइ छ । सरकारले इजरायलमा कामदार पठाउन पछिल्लो समय दुईपटकसम्म विभिन्न सम्झौता गरेको थियो ।

विभागका महानिर्देशक कुमार दाहालले भने, ‘श्रम मन्त्रालयले कार्यविधि नै पठाएन, आवेदन लिन हामी तयारी अवस्थामा छौं ।’

उनका अनुसार रोजगारीका लागि इजरायल जान चाहने नेपालीका लागि अनलाइनबाटै आवेदन दिन सक्नेगरी विभागले प्रणाली तयार गरेको छ ।

अनलाइन आवेदनका लागि आवश्यक पर्ने सफ्टवेयर बनाउने काम पूरा भएको र कार्यविधि आउनासाथ आवेदन खुला गरिने दाहालको भनाइ छ । ‘इजरायलले नेपाली कामदार छिटो लैजान चासो दिएकाले विभागले पनि त्यसैअनुसार काम गरिरहेको थियो । तर, के–कसरी कामदार पठाउने भन्नेबारे मन्त्रालयले सबै कुरा खुलाएर कार्यविधि पठाउनुपर्नेमा अझैसम्म पठाएको छैन,’ उनले भनाइ छ । श्रममन्त्रालयका एक उच्च अधिकारीले कार्यविधिको मस्यौदा तयार भए पनि मन्त्रालयका कतिपय अधिकारीको स्वार्थका कारण अघि बढ्न नसकेको बताएका छन् । उनका अनुसार तत्काल कार्यविधिको मस्यौदा अघि बढ्ने छाँटकाट देखिँदैन । वैदेशिक रोजगार विभागले तयार गरेको अनलाइन प्रणालीमार्फत आवेदन खुला गरेपछि रोजगारीका लागि इजरायल जान इच्छुक कामदारले आफै घरबाटै आवेदन दिन सक्नेछन् ।

आवेदन खुलेसँगै पहिलो चरणमा ५०० नेपाली युवा केयरगिभर क्षेत्रमा रोजगारीका लागि इजरायल जानेछन् ।

ती युवाले इजरायली श्रम कानूनअनुसार सेवासुविधा पाउनेछन् । इजरायली रोजगारमा निजीक्षेत्रलाई सहभागी नगराएकाले दुई देश बीचको (जीटुजी) बाट नेपाली इजरायल जानेछन् ।  यसअघि भएको सहमतिअनुसार पहिलो क्षेत्रका रूपमा इजरायलको नर्सिङ क्षेत्र (अस्पताल, नर्सिङ होम, दिवा स्याहार केन्द्रलगायत) मा नेपालीले रोजगारीको अवसर प्राप्त गर्ने वैदेशिक रोजगार विभागको भनाइ छ ।

वैदेशिक रोजगार विभागले इजरायलको रोजगारीमा जीटुजीमार्फत पठाउने भएकाले कुनै व्यक्ति वा बिचौलियाको प्रलोभनमा नपर्न अनुरोध गरेको छ । केही व्यक्ति र वैदेशिक रोजगार कम्पनीले इजरायल पठाउँछु भन्ने कुरा सुन्नमा आएको बताउँदै विभागका महानिर्देशक दाहालले गलत सूचनाको भरमा नपर्न आग्रह गरे । ‘ठग्ने नियतले केहीले इजरायल पठाउँछु भन्नेहरू सक्रिय हुन थालेका छन्, प्रमाणका साथ विभागमा उजुरी गरे तुरुन्तै कारबाही प्रक्रिया अगाडि बढाउनेछु,’ दाहालले भने । इजरायलको रोजगारीमा वैदेशिक रोजगार कम्पनी र निजीक्षेत्रको कुनै भूमिका नरहेको पनि उनको भनाइ छ ।उनका अनुसार वैदेशिक रोजगार विभागले कामदारको योग्यता हेरेर छान्ने भएकाले निजीक्षेत्रको कुनै हात हुँदैन । इजरायल जाँदा कुनै शुल्क नलाग्ने विभागले बताएको छ । इजरायल जानुअघि सम्पूर्ण तवरबाट योग्य भएपछि कामदारले टिकट खर्च, मेडिकल, बीमा र कल्याणकारी कोषमा जम्मा गर्ने पैसाबाहेक अरू कुनै शुल्क लाग्दैन ।

रोजगारीमा जानेको फर्म पनि विभागबाट भर्ने भएकाले सबैलाई अरू कुनै बिचौलियाको भरमा नपर्न विभागले अनुरोध गरेको छ । अहिले इजरायलमा केयर गिभरको संख्या बढी छ र नेपालीहरू पनि धेरैजसो केयर गिभरका रूपमै नै त्यहाँ जाने गरेका छन् । इजरायलमा करीब २ हजार ५०० को संख्यामा नेपाली रहेको सरकारी अनुमान छ । केही वर्षदेखि नेपाली कामदार लैजान बन्द गरेको इजरायलले पछिल्लो समय नेपाली श्रमिक लैजाने चाहना गरेको थियो । नेपाल र इजरायलबीच गत असोजमा भएको ‘इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौता’ कार्यान्वयन गर्न दुई देशका अधिकारीबीच ‘इम्प्लिमेन्टेशन प्रोटोकल’ मा हस्ताक्षर भएको थियो । सोही सम्झौता कार्यान्वयनमा लैजान सरकारले प्रक्रिया अघि बढाएको हो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)