ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अघि बढेन मोट्रेक्सको प्लान्ट स्थापना प्रक्रिया

२०७७ फागुन, ६  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar काशीराम बजगाईं

काठमाडौं । गत माघसम्ममा नेपालमै ६ हजार सवारीसाधन एसेम्बल गर्ने बताएको कोरियाली कम्पनी मोट्रेक्सको एसेम्बल प्लान्ट स्थापना प्रक्रिया हालसम्म अघि बढ्न सकेको छैन । २०७५ चैत १ गते लगानी बोर्डले सवारीसाधन एसेम्बलका लागि मोट्रेक्सको लगानी स्वीकृत गरेको थियो ।

लगानी स्वीकृत भएसँगै १० महीनामा प्लान्ट स्थापना गरी त्यसको १ वर्षभित्र ६ हजार सवारीसाधन एसेम्बल गर्ने प्रतिबद्धता कम्पनीले गरेको थियो । तर लगानी स्वीकृत भएको २२ महीना नाघ्दा पनि प्लान्ट स्थापनाको प्रक्रिया अघि बढेको छैन । गतवर्ष मङ्सिरमा बोर्ड र कम्पनीबीच प्रारम्भिक सम्झौता भएको थियो । नेपालमा ह्यन्दे र कियाको गाडी एसेम्बल गर्ने चासो मोट्रेक्सले राखेको थियो ।

प्रारम्भिक सम्झौतापछि कम्पनीले नेपाल सरकारसँग विभिन्न माग राखेकोमा हालसम्म ती मागको सम्बोधन हुन सकेको छैन । मोट्रेक्सले सम्झौता भएको ७ वर्षसम्म नेपालमा एसेम्बल उद्योगमा एकाधिकार हुनुपर्ने, पार्ट्सको आयातमा भन्सार छूट दिनुपर्ने, तर गाडी आयात भएकै मूल्यमा बेच्न पाउनुपर्ने लगायत शर्त राखेको थियो ।

सरकारले बुटवलको मोतीपुर औद्योगिक क्षेत्रमा प्लान्ट स्थापनाका लागि १०० रोपनी जग्गा उपलब्ध गराउने बताएको थियो । यद्यपि, हालसम्म कम्पनीलाई हस्तान्तरण गर्ने जग्गाको समेत टुंगो लाग्न सकेको छैन ।

मोतीपुर औद्योगिक क्षेत्रमा मोतीपुर ‘ए’ र मोतीपुर ‘बी’ गरी दुई क्षेत्रमा जग्गा रहेकोमा ‘ए’ क्षेत्रतर्फ केही मात्रामा वन छ । ‘ए’ तर्फको जग्गा मोट्रेक्सलाई उपलब्ध गराउने भनिए पनि त्यहाँ वन रहेकाले कसरी उपलब्ध गराउने भन्ने निक्र्योल भइसकेको छैन ।

बोर्डका सूचना अधिकारी धर्मेन्द्रकुमार मिश्रले जग्गा व्यवस्थापनका लागि काम भइरहेको बताए । मोतीपुर ‘ए’ क्षेत्रमा वनसँग सम्बन्धित विषय बाँकी भएकाले औपचारिक रूपमा यसलाई सुल्झाउने गरी काम अघि बढिसकेको उनको भनाइ छ । कोरोनाका कारण मोट्रेक्सका प्रतिनिधिसँग प्रत्यक्ष छलफल गर्न नसकिएकोमा गत मङ्सिरमा उक्त विषयमा भर्चुअल छलफल भएको उनले बताए ।

कम्पनीसँग चाँडै साझेदारी मध्यस्थ सम्झौता (पीआई) गर्ने तयारी अघि बढेको जानकारी उनले दिए । यस्तै मोट्रेक्सका लागि नेपाल प्रतिनिधि हिमेश खरेलसँग यस विषयमा बुझ्दा लगानी बोर्डसँग कम्पनी सम्पर्कमै रहेको बताए । नेपालमा सवारी एसेम्बल गर्न लागेको मोट्रेक्स नै पहिलो कम्पनी भने होइन । यसअघि गोल्छा समूहले नेपालमै मुस्ताङ ब्राण्डमा सवारीसाधन एसेम्बल गरेकोमा सरकारको नीतिगत कारण देखाउँदै २०७५ देखि बन्द भएको थियो । मोट्रेक्सले ह्यन्दे र कियाका सवारीसाधन एसेम्बल गर्ने चर्चा बढेसँगै नेपालका लागि ह्यन्दे र कियाको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले समेत एसेम्बल उद्योग दर्ता गरिसकेको छ । सवारीसाधन एसेम्बलका लागि उद्योग विभागमा हालसम्म २२ कम्पनी दर्ता भएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)