ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वाणिज्य बैंकको स्प्रेडदर नियन्त्रणमा

२०७७ फागुन, ६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रयमासमा २६ ओटा वाणिज्य बैंकहरूको निक्षेप तथा कर्जाको भारित औसत ब्याजदर अन्तर (स्प्रेड दर) नियन्त्रणमा आएको छ । तर, ग्लोबल आईएमई बैंकको भने अझै नियन्त्रणमा आउन सकेको छैन । यसअवधिमा समग्र बैंकको भारित औसत ब्याजदर ४ दशमलव शून्य ६ प्रतिशत रहेको छ ।

नेपाल राष्ट्र बैंकले गत असार मसान्तसम्म सञ्चालित वाणिज्य बैंकहरूले स्प्रेड दर ४ दशमलव ४ प्रतिशतभित्र ल्याइसक्न निर्देशन दिएको थियो । यसअघि ५ प्रतिशत हाराहारीमा गर्न पाउँथे । स्प्रेड दर घट्दा ऋणीलाई कर्जाको ब्याजदरको बोझ केही मात्रामा कम हुन्छ ।

यसअघिको त्रयमासिक विवरणमा चारओटा बैंकको स्प्रेड दर सीमाभन्दा बढी थियो । चालू आवको पहिलो त्रयमासमा ग्लोबल आईएमईको ५ दशमलव शून्य ३ प्रतिशत रहेको थियो । नेपाल बंगलादेश बैंकको ४ दशमलव ८८, हिमालयन बैंकको ४ दशमलव ७८ र बैंक अफ काठमाडौंको ४ दशमलव ७० थियो । चालू आवको दोस्रो त्रैमासमा भने ग्लोबल आईएमईबाहेकका बैंकको नियन्त्रणमा आएको छ ।

स्प्रेड दर भनेको बैंकले निक्षेप संकलन गर्दा दिने ब्याज र कर्जा प्रवाह गर्दा लिने ब्याजबीचको अन्तर हो । यस्तो अन्तर बढी भएमा बैंकहरूको मुख्य आम्दानीको स्रोत ब्याज आम्दानी धेरै हुन्छ । साथै यस्तो दर कम भए बैंकले कम ब्याज आम्दानी गर्छ । बैंकको नाफा घट्ने वा बढ्नेमा यस्तो दरको पनि भूमिका रहन्छ ।

निक्षेपकर्ताबाट लिएको संकलित निक्षेपलाई बैंकले लगानी गरेर यसबाट प्राप्त ब्याजदरबाट निक्षेपकर्ताको ब्याज भुक्तानी गरेर बचेको रकम बैंकको आम्दानी हुन आउँछ । सोही आम्दानीबाट बैंकले सञ्चालन खर्च, करलगायत खर्च कटाएर बाँकी रहेको रकम बैंकको मुनाफा हो ।

चालू आवको पुसमसान्तसम्म आइपुग्दा २५ ओटा वाणिज्य बैंकहरूको स्प्रेड दर ४ दशमलव ४ प्रतिशतभन्दा कम छ । एनआईसी एशिया बैंकले ठ्याक्कै सीमामा पु¥याएको छ भने ग्लोबल आईएमईलाई भने अझै यस्तो दर घटाउन चुनौती छ । सो बैंकको पुससम्ममा ४ दशमलव ६९ प्रतिशत स्प्रेड दर रहेको छ । अझै यो बैंकको स्प्रेड दर सीमाभन्दा शून्य दशमलव २९ प्रतिशत बढी छ ।

दोस्रो त्रैमासमा ग्लोबल आईएमई बैंकलाई नेपाल राष्ट्र बैंकले नीतिगत व्यवस्थाको सीमामा रहनसमेत सचेत गरेको छ । केन्द्रीय बैंकले सीमा उल्लंघन गर्नेलाई कार्बाही गर्नुअघि पटकपटक सचेत तथा चेतावनी दिने गरेको र टेर्दै नटेरे कार्बाहीको दायरामा ल्याउने गरेको राष्ट्र बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक मुकुन्दकुमार क्षत्रीले बताए ।

उक्त दुई बैंकबाहेकका २५ वाणिज्य बैंकको स्प्रेडदर सीमाभन्दा कम छ । १७ ओटा वाणिज्य बैंकको स्प्रेड दर ४ दशमलव ४ प्रतिशतभन्दा कम र ४ प्रतिशतभन्दा बढी रहेको छ । तिनमा नेपाल बैंक, कृषि विकास, मेगा, प्राइम, सानिमा, स्ट्यान्डर्ड चार्टर्ड, सिद्धार्थ, नेपाल बंगलादेश, माछापुच्छ्रे, नेपाल इन्भेस्टमेन्ट, सनराइज, लक्ष्मी, राष्ट्रिय वाणिज्य, सिटिजन्स, नबिल, नेपाल एसबीआई र एनएमबी बैंक रहेका छन् ।

यसबाहेक बाँकी ८ ओटा वाणिज्य बैंकको स्प्रेड दर ४ प्रतिशतभन्दा कम रहेको छ । यिनमा नेपाल क्रेडिट एन्ड कमर्श, सेञ्चुरी, हिमालयन, एभरेष्ट, प्रभु, कुमारी, सिभिल र बैंक अफ काठमाडौं रहेका छन् ।

पुससम्ममा ४ दशमलव शून्य २ प्रतिशत स्प्रेड दर रहेको एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनील केसी पछिल्लो समय बैंकहरू बीच भएको प्रतिस्पर्धाले समग्रमा बैंकको स्प्रेड दर कम हुन आएको बताउँछन् । ‘अहिले प्रतिस्पर्धाले गर्दा बैंकहरूलाई कर्जाको ब्याजदर घटाउने दबाब छ । यसरी स्प्रड दर कम हुँदा बैंकले अली कममा कर्जा प्राप्त गर्न सक्छन् तर बैंकको नाफामा भने संकुचन हुन्छ,’ उनले अभियानसँग भने ।

गत असोजमा ३ दशमलव ९७ प्रतिशत रहेको नबिल बैंकको स्प्रेडदर गत पुसमा ४ दशमलव शून्य ७ प्रतिशत रहेको छ । बजारमा ब्याज घटाउ मात्रै भन्ने नयाँ कर्जा पनि आधार दरमै खोज्नेहरू भएकाले पनि स्प्रेड दर सीमाभन्दा तल नै रहेको नबिल बैंकका सहायक महाप्रबन्धक मनोज ज्ञवालीले बताउँछन् ।

पछिल्लो समय बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्था रहेपछि बैंकहरूले निक्षेपको ब्याजदर धमाधम घटाएका थिए । यसबीच वाणिज्य बैंकले साधारण बचतको ब्याजदर न्यूनतम साढे १ देखि ३ प्रतिशतको हाराहारीमा झारे भने मुद्दती निक्षेपको ब्याजदर अवधिअनुसार न्यूनतम ६ प्रतिशतदेखि साढे ८ प्रतिशतमा झारेका थिए ।

यसपछि बैंकहरूले निक्षेपको ब्याजदर घटाएपछि कर्जाको ब्याजदरसमेत घटाउन दबाब पर्‍यो । सो आधारमा निर्धारण भएको आधार दरमा करीब २ देखि साढे २ प्रतिशत हाराहारीमा प्रिमियम थपेर बैंकहरूले कर्जाको ब्याजदर निर्धारण गरेको पाइन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)