ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बीमापछि ८४ वर्षसम्म पेन्सन !

जीवन बीमामा सूर्या लाइफको नयाँ प्रडक्ट ‘सूर्या चौरासी पूजा’

२०७७ फागुन, ९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा

काठमाडौं । अब ८४ वर्षसम्म वार्षिक पेन्सन प्रदान गर्ने ‘सूर्या चौरासी पूजा’ नामक नयाँ बीमा योजना शुरुआत भएको छ । बजारका लागि यो बिल्कुल नयाँ प्रडक्टको रूपमा सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले शुक्रवारदेखि सार्वजनिक गरेको हो ।

सूर्या चौरासी पूजा बीमा योजनाको अनावरण शताब्दी पुरुष सत्यमोहन जोशी, कम्पनीका ब्रान्ड एम्बेसडर गायिका इन्दिरा जोशी, कम्पनीका संस्थापक शेयरधनी विवेक झा, कम्पनीका अध्यक्ष केशवप्रसाद भट्टराईले संयुक्त रूपमा गरेका थिए ।

दीर्घजीवन, समृद्ध भविष्य भन्ने सन्देशका साथ शुरू गरेको ‘सूर्या चौरासी पूजा’ नामक नयाँ बीमा योजनाले बीमितको उमेर ८४ वर्ष पुग्दासम्म रक्षावरण गर्ने छ । साथै, ‘सूर्या चौरासी पूजा’ बीमा योजनाले बीमाङ्कको २५० प्रतिशतसम्म बीमा कभर प्रदान गर्ने कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले बताए ।

उनका अनुसार यससँगै बीमितले बीमाशुल्क भुक्तानी अवधिपश्चात् एकमुष्ट आर्जित बोनस प्राप्त गर्नुका साथै यसपछि बीमितको उमेर ८३ वर्ष नपुग्दासम्म बीमाङ्कको ६ प्रतिशतका दरले वार्षिक पेन्सन समेत प्राप्त गर्न सक्नेछन् । ‘बीमितको उमेर ८३ पूरा भई ८४ मा प्रवेश गर्दा बीमितलाई बीमाङ्कको १५० प्रतिशत रकम बीमाबापतको अन्तिम भुक्तानी दिइनेछ । सो रकमबाट बीमितले निजको चौरासी पूजा उत्सवका रूपमा धुमधामका साथ मनाउन सक्नेछन्,’ उनले भने ।

कसरी पाइन्छ चौरासी पूजा गर्न एकमुष्ट रकम ?
यो पोलिसी लिन चाहनेको उमेर न्यूनतम १६ वर्षदेखि अधिकतम ६० वर्षको हुनुपर्छ । १६ वर्षको व्यक्तिले १० वर्षको पोलिसी लिएको छ भने सो व्यक्ति २७ वर्ष हुँदा बीमा परिपक्व हुन्छ । यस अवधिसम्म बीमाबापतको बोनससहितको रकम प्राप्त गर्छ । तर, यो प्रडक्टले दिने सुविधा अन्य जीवन बीमा जस्तो यत्तिमै सकिँदैन । यो योजनाअनुसार यसपछिका वर्षमा पनि सो व्यक्तिले ८४ वर्ष हुँदासम्म बीमांक रकमको वार्षिक करीब ६ प्रतिशतको दरले बोनसबापतको रकम कम्पनीले दिने गर्छ । ‘यदि कुनै १६ वर्षकाले १० वर्षसम्मको १ करोड रुपैयाँको यो बीमा पोलिसी लिएको छ । उसको २७ वर्षमा बीमा अवधि सकिन्छ । सकिँदा प्रोत्साहन तथा पेन्सनसरह पाउँछ । यसपछिका प्रत्येक वर्ष सो व्यक्ति ८४ वर्ष नहुँदासम्म कुल बीमांक रकम १ करोडको छ भने वार्षिक ६ प्रतिशतले हुन आउने ६ लाख रुपैयाँ बोनसबापत प्राप्त गर्छ । यसपछि ८४ पूजा गर्न पनि रकमको जोहो सो कम्पनीले गरिदिन्छ । सो पूजामा कम्पनीले अन्तिमपटक बीमांक रकमको डेढ गुणा रकम कम्पनीले दिने बताएको छ ।

‘सूर्या चौरासी पूजा’ बीमा योजना १६ वर्ष देखि ६० वर्षसम्म उमेरका व्यक्तिहरूले १० देखि ५० वर्षसम्म बीमाशुल्क भुक्तानी अवधिका लागि खरीद गर्न सक्नेछन् । यो बीमा प्रारम्भको २ वर्षपछि बीमा अवधिभर बीमा समर्पण र बीमालेख धितोमा कर्जा सुविधाको समेत व्यवस्था रहेको छ । सूर्यालाइफ इन्स्योरेन्सका प्रदेश ३ म्यानेजर सुशील चापागाईं न्यूनतम १ लाख रुपैयाँ बीमाङ्क तोकिएको सो बीमा योजना एकल भुक्तानी तरीकामा समेत उपलब्ध रहेको बताउँछन् । उनका अनुसार यो सामान्यतया इन्डोमेन्टभन्दा अलि बढी लाग्छ । तर, मनी ब्याक पोलिसीभन्दा सस्तो पर्न जान्छ । पैसा तिरिरहेको अवधिमा बीमितको मृत्यु हुन गएमा बीमांक रकमको अढाइ गुणा (साढे २ गुणा) प्लस दुर्घटनाबापत (एक्सिडेन्टल बेनिफिट) प्लस बोनस पाइने उनले जानकारी दिए । ‘अहिले बजारमा यस्तो सुविधा छैन । अहिलेसम्म १ करोडको बीमा गरेको बीमितको मृत्यु भएमा १ करोड र दुर्घटनाबापतको रकम पाउने प्रडक्ट मात्र छ । तर, हामीले नयाँ प्रडक्टअनुसार यस्तो अवस्थामा अढाइ गुणासम्म दिन्छौं,’ उनले भने, ‘१५ वर्षे पोलिसी लिएर वार्षिक प्रिमियम तिरिरहेको अवधिबीच ३० वर्षको मान्छे ४५ वर्षसम्म मृत्यु भइहाले बीमांक रकमको अढाई गुणा पाउँछन् । तर, प्रिमियम तिरेर सकिएको ७० वर्षको बीचमा मृत्यु भइहाले बीमांक रकमको दुई गुणासम्म बीमितको हकवालाले पाउँछ । यसपछि ८४ वर्षको उमेरसम्म आइपुग्दा भने बीमितले बीमांक रकमको डेढ गुणा रकम प्राप्त गर्न सक्नेछ ।’

उक्त प्रडक्टको उद्घाटन गर्दै प्रमुख अतिथि शताब्दी पुरुष सत्यमोहन जोशिले आगामी दिनमा यस योजनाले वृद्धवृद्धालगायत उत्पीडितलाई सहयोग पुग्नेमा आफू विश्वस्त रहेको बताए । यसै क्रममा कम्पनीका संस्थापक शेयरधनी विवेक झाले यो बीमा योजना करीब ५ वर्षदेखि सञ्चालनमा रहेको र २ वर्षपछि मात्रै यसमा केही परिवर्तन आएको बताए । ‘अब यस बीमा योजनाले भविष्यमा ठूलो फड्को मार्ने छ । बीमा बजारमा अरूको पछाडि नलागेर आफै दिन र लिन सक्नुपर्ने वातावरण नभएकाले यस्तो वातावरण सृजना गर्नुपर्छ,’ उनले भने, ‘आवश्यकताअनुसारका बीमा प्रडक्ट बजारमा ल्याउन जरुरी छ, जुन प्रडक्ट आफैलाई किनाैं किनौं लाग्छ त्यो बीमा नै बिक्छ ।’

नयाँ प्रडक्ट लञ्चसँगै कम्पनीले शताब्दी पुरूष सत्यमोहन जोशीलाई सम्मानसमेत गरेको छ । यस्तै कम्पनीले संस्थागत सामाजिक उतरदायित्वअन्तर्गत निःसहाय सेवा शान्तिनगरलाई ३ दिनको खर्च बराबरको रकम सहयोग गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)