ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रदेश गौरवको परियोजनालाई नै रकम अभाव

२२ किमी सडक बनाउन सहलगानी कोषमा पठाउने तयारी

२०७७ फागुन, ९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर । विराटनगर महानगर पालिकाको वडा नम्बर १ मा पर्ने घिनाघाटदेखि २२ किलोमिटर उत्तर पूर्वपश्चिम राजमार्गमा पर्ने विराटचोक जोड्ने प्रदेश १ कै गौरवको योजना रकम अभावमा निर्माण प्रभावित भएको छ । घिनाघाट–विराटचोक चारलेन सडक आयोजनालाई प्रदेश सरकारले सहलगानी कोषमा सूचीकृत गर्ने प्रक्रिया अघि बढाएको छ । आयोजना सम्पन्न हुन चार महीना बाँकी हुँदा करीब ४० प्रतिशत भौतिक र ३७ प्रतिशत मात्रै आर्थिक प्रगति छ ।

उक्त सडकको तीनओटा भागमा ठेक्का लागे पनि मिलनचोकदेखि घिनाघाटसम्म २ किलोमिटर सडकमा भने ठेकेदारले भर्खरै काम थालेका छन् । प्रदेश सरकारले समयमा ठेकेदारलाई भुक्तानी नदिएपछि अहिले ठेकेदार कम्पनीले काम रोकेका छन् । प्रदेश १ को भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको पूर्वाधार विकास कार्यालय मोरङका अनुसार ठेकेदारलाई हालसम्म साढे १२ करोड रुपैयाँ मात्रै भुक्तानी गरिएको छ ।

कोरोना महामारीको कारण ठेक्काको रकम भुक्तानी हुन ढिलाइ भएकाले ठेकदारले समयमा रकम नपाएका हुन् । आयोजनामा बजेट अभाव हुन नदिन प्रदेश सरकारले घिनाघाट–विराटचोक सडकलाई संघीय सरकारको सहलगानी कोषमा सूचीकृत गर्ने प्रक्रिया अघि बढाएको छ । सहलगानी कोषले प्राथमिकतामा राखिएका १ अर्ब माथिका आयोजनालाई सूचीकरण गरी बजेटको सुनिश्चितता गर्ने गर्दछ । घिनाघाट–विराटचोक सडकको तीनओटै खण्डको कुल बजेट १ अर्ब ७६ करोड रहेको छ । त्यही भएर सरकारले बजेट सुनिश्चितताका लागि सहलगानी कोषमा पठाउने प्रक्रिया अघि बढाएको पूर्वाधार विकास कार्यालयका प्रमुख डिभिजन इन्जिनियर राजनराज रेड्डीले बताए ।

‘हामीले रकम अभाव हुन नदिन चारैतिर प्रयास गरेका छौं, संघबाट प्राप्त हुने सशर्त अनुदानको निश्चित अंश खर्च गरिन्छ,’ डीई रेड्डीले भने, ‘सहलगानी कोषमा पनि यो प्रोजेक्ट पठाएका छौं, त्यहाँबाट पनि बजेट आउने सम्भावना ठूलो छ, ठेकेदारहरूलाई पनि आश्वस्त पारेका छौं, म पनि आशावादी छु, जसरी पनि बजेट व्यवस्था हुन्छ ।’

आयोजनाको तीनओटै खण्डका लागि कुल १ अर्ब ७६ करोड रुपैयाँमा ठेक्का लागेको थियो । विराटचोक–नेताचोक खण्ड र नेताचोक–मिलनचोक खण्डको ठेक्का पाएको ठेकेदार कम्पनी श्रेष्ठ रमण एपेक्स जेभीले थप ७ करोड रुपैयाँ भुक्तानी माग गरेको छ । सरकारले उक्त रकम भुक्तानी नगर्दा काम गर्न समस्या भएको भन्दै ठेकेदारले निवेदन दिएको बताइएको छ ।

उक्त आयोजनाको काम अघि बढाउन थप ८८ करोड रुपैयाँ प्रदेश सरकारसँग माग गरिसकेको डीई रेड्डीले बताए । सरकारका तर्फबाट बजेट सुनिश्चित गर्ने कार्य अन्तिम चरणमा रहेको जानकारी गराएपछि ठेकेदार पक्षले काम शुरू गर्न लागेको उनको भनाइ छ । ‘तीनओटा खण्डको बजेट व्यवस्थापनमा शुरूमा ठूलो समस्या थिएन, कोरोना महामारीमा पनि हामीले जेनतेन काम अघि बढाइरहेका छौं,’ रेड्डीले भने, ‘अहिलेसम्म साढे १२ करोड भुक्तानी गरिसक्यौं, पहिलो दुई खण्ड सम्पन्न गर्न ८८ करोड माग गरेका छौं ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)