फागुन ९, धनगढी । कञ्चनपुरमा दैजी–छेला औद्योगिक क्षेत्र निर्माणका लागि तयार पारिएको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)ले करीब ९ अर्ब लगानी आवश्यक पर्ने देखाएको छ । केहि समयअघि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सुदूरपश्चिम प्रदेशबाट औद्योगिक विकासको युग शुरु भएको भन्दै सो औद्योगिक क्षेत्रको उद्घाटन गरेका थिए ।
आइतवार मन्त्री भट्टको गृहनगर अत्तरियामा आयोजित पत्रकार सम्मेलनमा प्रदेशमा धमाधम औद्योगिक क्षेत्र सञ्चालनमा आउने बताउँदै दैजी छेला औद्योगिक क्षेत्र उद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओली सोमवार सुदूरपश्चिम आउन लागेको जानकारी गराए ।
प्रधानमन्त्री ओली सोमवार दैजी छेला औद्योगिक क्षेत्रको उद्घाटन गर्न आउँदै हुनुहुन्छ, मन्त्री भट्टले भने, ‘सुखी नेपाली समृद्ध नेपालको नारालाई कार्यान्वयन गर्न देशभर औद्योगिक क्षेत्रहरूको शिलान्यास गर्ने कार्यक्रम तय भएको छ ।’ ९ अर्बको लागतमा ५ वर्षभित्र निर्माण सम्पन्न हुने गरी दैजी छेला औद्योगिक क्षेत्रको निर्माण हुन लागेको मन्त्री भट्टले बताए ।
कैलालीको हरैयामा साढे ३०० बिगाहा क्षेत्रफलमा विशेष आर्थिक क्षेत्र (सेज) निर्माण, डुढेझारीमा औद्योगिक क्षेत्र, कञ्चनपुरमा सुक्खा बन्दरगाहको अध्ययन प्रतिवेदनको काम अघि बढीसकेको छ, मन्त्री भट्टले भने, विशेष गरी यो क्षेत्रका खानीहरूको पहिचान गरेर उत्खनन अन्वेषण गर्ने कार्य शुरु भएको छ । बैतडीमा रहेको फलाम खानीको पनि यो वर्षभित्र काम अघि बढ्ने छ ।’
२०५३ मा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको नेतृत्वको सरकारले दैजी छेला औद्योगिक क्षेत्र स्थापना गर्न पहिलो पटक बजेट विनियोजन गरेको थियो । अहिले आएर बल्ल औद्योगिक क्षेत्र स्थापनाका लागि गरिएको वातावरणीय प्रभाव मूल्यांकन स्वीकृत भएको छ । लामो समयदेखि अलपत्र जस्तै बन्न पुगेको औद्योगिक क्षेत्रको वातावरणीय प्रभाव मूल्यांकन स्वीकृत भएको हो ।
वन कार्यालयको गलत लगत संकलनका कारण मूल्यांकन स्वीकृत गर्न धेरै समय लागेको बताइएको छ । २०६६ मा जिल्ला वन कार्यालयले आवश्यक जमिन उपलब्ध गराउने सहमतिसँगै जनचेतना सामुदायिक वन र वेदकोट सामुदायिक वनले औद्योगिक क्षेत्र स्थापनाका लागि आवश्यक जमिन उपलब्ध गराउन सहमति जनाएका थिए ।
यसअघिको मन्त्रिपरिषद्को निणर्यले समेत दैजी छेलाको ४ किल्लाभित्र औद्योगिक क्षेत्र बनाउने निर्णय गरिसकेको बताउँदै मन्त्री भट्टले औद्योगिक क्षेत्रको डीपीआर भइसकेको बताए । ‘अब स्थलगत रुपमा देखिने गरी पाँच वर्षभित्रै निर्माणले पूर्णता पाउँछ र त्यसका लागि प्रधानमन्त्री आफै औद्योगिक क्षेत्र उद्घाटनका लागि आउन लागेको मन्त्री भट्टको भनाइ छ ।
२०७५ असोजमा डिभिजन वन कार्यालय महेन्द्रनगरले वन तथा वातावरण मन्त्रालयमा दैजीछेलामा उद्यौगिक क्षेत्र स्थापना गर्न नसकिने विवरण पेस गरेपछि सो काम रोकिएको थियो ।
वन कार्यालयले दैजी औद्योगिक क्षेत्रसँग शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज जोडिएको, औद्योगिक क्षेत्रबाट करीब ७० किलोमिटर टाढा रहेको भारतमा पर्ने दुधुवा नेशनल पार्कलाई औद्योगिक क्षेत्रसँग जोडिएको, सालको पुर्नउत्पादित क्षेत्र र जंगली जनावरको वासस्थान भन्दै उक्त क्षेत्रमा उद्योग स्थापना गर्न सकिँदैन भनेर वन कार्यालयले भुटो लगत संकलन गरेपछि काम रोकिएको थियो ।