ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लयमा फर्कंदै बैंकिङ व्यवसाय

२०७७ फागुन, १२  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा

काठमाडौं । वाणिज्य बैंकहरूले आफ्नो व्यवसाय प्रत्येक साता बढाउँदै लगेका छन् । चालू आर्थिक वर्ष (आव) को शुरुआतदेखि कोरोना महामारीले व्यवसाय विस्तारमा चुनौती देखिए पनि अहिले बैंकहरू पुरानै लयमा फर्किन थालेको बैंकरहरू बताउँछन् ।

नेपाल बैंकर्स संघ (एनबीए)को तथ्यांकअनुसार २७ वाणिज्य बैंकहरूको व्यवसाय अर्थात् कर्जा प्रवाह गत माघ पहिलो साता ८ अर्ब रुपैयाँले संकुचन हुँदा कुल कर्जा प्रवाह ३२ खर्ब ३६ अर्ब रुपैयाँ पुगेको थियो । तर, फागुन पहिलो सातासम्म आइपुग्दा भने समग्रमा वाणिज्य बैंकको व्यवसायमा सुधार भएर रू. १८ अर्ब रुपैयाँको थप कर्जा प्रवाह भएको छ । थप कर्जा प्रवाह भएसँगै फागुन पहिलो सातासम्म कुल रू. ३३ खर्ब ३५ अर्ब कर्जा प्रवाहमा रहेको छ ।

माघको पहिलो साता संकुचन आएपछिका प्रत्येक साता भने कर्जा प्रवाह वृद्धि हुँदै गयो । तर, माघ दोस्रो साता भने ११ अर्बले वृद्धि हुदा कुल कर्जा प्रवाह रू. ३२ खर्ब ६८ अर्ब र तेस्रो साता २१ अर्बले वृद्धि भई कुल कर्जा प्रवाह ३२ खर्ब ६८ अर्ब रुपैयाँ पुगेको थियो । माघको चौथो साता अर्थात् माघ २३ गतेसम्म सातामै रू.२० अर्बले लगानी बढ्दा कुल कर्जा प्रवाह रू. ३२ खर्ब ८८ अर्ब पुगेको छ । यसैगरी माघको अन्तिम साता २९ अर्ब रुपैयाँले कर्जा प्रवाह थपिदा कुल कर्जा ३३ खर्ब १७ अर्ब रुपैयाँ पुगेको थियो ।

सबैखाले व्यवसाय सुचारु रूपले चल्न थालेकाले पनि कर्जाको माग बढेको बैंकरहरू बताउँछन् । सिटिजन्स बैंक इन्टरनेशनलका नायब प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा मुलुकमा खुलापन बढेसँगै कामहरू बढेकाले माग पनि बढेको र आयातमा समेत सुधार हुँदा यसका लागि कर्जा आवश्यक परेको बताउँछन् ।

‘बजारमा चहलपहल बढेसँगै आयातको माग पनि धेरै बढ्न थालेको छ । आयातका लागि धेरै कर्जा जान थाल्यो । यसले गर्दा बैंकको व्यवसाय पुरानै लयमा फर्कन थालेको छ,’ उनले भने ।

अहिले भ्याक्सिन आएसँगै कोरोना त्रास घट्दै गएकाले पनि व्यवसायहरू पुरानै रौनकमा आउन थालेको नबिल बैंकका नायब महाप्रबन्धक मनोज ज्ञवालीको भनाइ छ । बैंकको कर्जा प्रवाह पहिलाको लयमा भन्दा पनि अझै द्रुत गतिमा बढ्नुपर्ने उनको तर्क छ । ‘कोरोना कालमा ठप्प रहेका केही होटेलहरू पनि सञ्चालनमा आएका छन् । बाह्य पर्यटक पनि पहिलाको जस्तो नआए पनि अहिले आन्तरिक पर्यटकले होटेल तथा रेस्टुराँ खचाखच हुन थालेका छन्,’ उनले अभियानसँग भने, ‘अर्थतन्त्र पूर्णरूपमा चलायमान भइसक्यो । अर्थतन्त्र वृद्धि हुन थाले बैंक त स्वतः वृद्धि भइहाल्छ ।’

चहलपहल बढेसँगै आन्तरिक पर्यटनले होटेलहरूको कारोबार फस्टाए पनि बाह्य पर्यटनमा भने अझै चुनौती भएको बैंक विज्ञ अनलराज भट्टराई बताउँछन् । उनका अनुसार अझै बाह्य पर्यटकले भरिने ठूलाठूला होटेलहरू सञ्चालनमा आउन सकेको छैन । त्यसैले यसबाट मुलुकले विदेशी मुद्रा आर्जन गर्ने क्षमता अझै राखिसकेको छैन । ‘गत आवको फागुन अन्त्यपछि खासै कारोबार भएको थिएन र कर्जा पनि वृद्धि भएको थिएन । अघिल्ला ४–५ महीनामा कतिपय क्रियाकलाप भइरहेका थिए । कर्जाको नवीकरण गर्नसमेत असहज भएको थियो । तर, अहिले कारोबारको चहलपहल बढ्यो । चहलपहल बढ्दा कर्जाको माग त स्वतः बढ्ने भइहाल्यो,’ उनले भने । यद्यपि अहिलेको बेला कर्जा प्रवाह बढ्न भने जोखिमपूर्ण भएको र नबढे पनि अप्ठ्यारो रहने परिस्थिति भएको उनले तर्क गरे ।

जुन गतिमा कर्जाको वृद्धि बढेको छ सो गतिमा निक्षेप संकलन हुन नसकेको समेत उनको भनाइ छ । कोरोना कालमा बैंकमा अधिकांशको निक्षेप आइडल बस्यो । तर, अहिले खर्च धेरै बढ्न थालेकाले पनि निक्षेप केही समय नबढ्ने देखिन्छ ।

गत माघ पहिलो साता संकुचनमा रहेको वाणिज्य बैंकको निक्षेप वृद्धि फागुन पहिलो साता १३ अर्ब रुपैयाँले थपिएर कुल निक्षेप संकलन ३७ खर्ब ९९ अर्ब रुपैयाँ पुगेको छ ।

यसअघिको साता अर्थात् माघ अन्तिम साता २ अर्बले वृद्धि हुँदा ३७ खर्ब ८६ अर्ब रुपैयाँ पुगेको थियो । यसैगरी, माघको चौथो साता साप्ताहिक निक्षेप वृद्धिदर रू. ५ अर्बले बढेर कुल निक्षेप ३७ खर्ब ८४ अर्ब रुपैयाँमा सीमित भएको थियो । तर, माघ पहिलो साता यस्तो निक्षेप साप्ताहिक ३ अर्बले घटेर ३७ खर्ब ७९ अर्ब र माघ दोस्रो साता झन् १० अर्बले घटेर कुल ३७ खर्ब ६९ अर्बमा सीमित थियो । तर, माघको तेस्रो सातामा आइपुग्दा यस्तो निक्षेप थप रू. १० अर्बले वृद्धि भएको थियो ।

यसअघि गत कात्तिकमा पनि निक्षेप संकलन ऋणात्मक भएको थियो । तर, मङ्सिरमा आएर सुधार देखिएको थियो । गत कात्तिकमा यस्तो निक्षेप ६ अर्बले ऋणात्मक हुँदा कुल निक्षेप रू. ३६ खर्ब ४८ अर्ब रुपैयाँमा सीमित थियो । यस्तै, गत मङ्सिरसम्ममा निक्षेप संकलन ४६ अर्ब रुपैयाँले वृद्धि भएर कुल निक्षेप संकलन रू. ३६ खर्ब ९४ अर्ब पुगेको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)