ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेप्सेको सिस्टममा फेरि समस्या

२०७७ फागुन, १३  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) मा बुधवार समस्या देखिएको छ । यसअघि विभिन्न समयमा टीएमएसको समस्याबाट प्रभावित भएको बजार बुधवार पनि प्रभावित बन्न पुग्यो ।

नेप्सेको टीएमएसमा पछिल्लो समय भदौ २५ गते समस्या आउँदा केही समय बजार बन्द गरेर पुनः सुचारु गरिएको थियो । बुधवार भने प्राविधिक समस्या भए पनि एक कम्पनीको मात्र कारोबार बन्द गरेर बजार सुचारु गरियो ।

नेप्सेले नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर म्याचिङमा देखिएको नयाँ समस्याका कारण सिस्टममा समस्या देखिएको बताएको छ । नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बुधवार सिस्टममा देखिएको समस्या नयाँ भएको बताए ।

दोस्रो बजारमा हालसम्मकै सर्वाधिक कित्ता शेयर सूचीकृत रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैैंक (निफ्रा) को शेयर शून्य मूल्यमा म्याचिङ हुन पुगेकाले समस्या आएको पराजुलीको भनाइ छ । समस्या पहिचानको क्रममा निफ्राकै कारण पत्ता लागेपछि कारोबार रोक्का गरी समाधान गरिएको उनले बताए ।

बुधवार अन्य कम्पनीको शेयर किनबेचमा कुनै समस्या नदेखिएको पराजुलीको भनाइ थियो । शून्य मूल्यमा निफ्राको शेयर म्याचिङ हुँदा शेयरमूल्य शतप्रतिशत घट्न गएको समेत उनले जानकारी दिए ।

नेप्सेको आईटी टीमले निफ्राको शेयर कारोबारमा परेको चापका कारण बुधवार सिस्टममा नयाँ समस्या देखिएको निष्कर्ष निकालेको बताउँदै पराजुलीले उक्त समस्या पहिचान भए पनि कसरी हुन गयो भन्ने निष्कर्ष भने आईटी टीमबाट आइनसकेको बताए ।

नेप्सेले ११ बजेर २२ मिनेटदेखि १ बजेर १५ मिनेटसम्म निफ्राको शेयर कारोबार बन्द गरेको थियो । साताैं कारोबार दिनसम्म उच्च दरमा बढेर रू. ६६० प्रतिकित्ता मूल्य कायम गरेको निफ्राको आठौं दिनदेखि विक्री चाप भएसँगै मूल्यमा नकारात्मक असर परेको थियो ।

बुधवार निफ्राको शेयरमूल्य सर्वाधिक ५ दशमलव ३९ प्रतिशत अर्थात् प्रतिकित्ता रू. ३२ ले घटेर अन्तिम मूल्य रू. ५६२ कायम भएको छ । यस दिन प्राविधिक अवरोध हुँदाहुँदै पनि नेप्से परिसूचक भने शून्य दशमलव ४९ प्रतिशत बढेर २ हजार ५९९ दशमलव शून्य ७ विन्दुमा पुगेको छ ।

नेप्सेले निफ्राको कारोबारका कारण सिस्टममा समस्या आएको बताए पनि लगानीकर्ताले भने निफ्राको शेयरलाई हतियार बनाएर लगानीकर्ताको मनोबल गिराउने खेल भएको आरोप लगाएका छन् । लगानीकर्ताका पाँच संगठनहरूले नै बुधवार संयुक्त विज्ञप्ति जारी गरी परिसूचकमा नियोजित रूपमा नकारात्मक सूचक देखाई लगानीकर्ताको मनोबल गिराउने काम भएको आरोप लगाएका हुन् ।

नेप्सेको कारोबार व्यवस्थापन प्रणालीमा बारम्बार समस्या दोहोर्‍याएर लगानीकर्ताको सम्पत्तिमाथि खेल्न नपाउने चेतावनी लगानीकर्ताले दिएका छन् । नेप्सेको कमजोर सिस्टमकै कारण आम लगानीकर्ता क्लोज आउटमा परेर दैनिक करोडौंको क्षति बेहोर्नु परेको पनि संघहरूले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बुधवारको बजारको प्रकृतिले आम लगानीकर्ताको बजार सञ्चालक निकायप्रतिको विश्वसनीयतामा नराम्रो धक्का लागेको गुनासो लगानीकर्ताको छ । नेपाल इन्भेस्टर्स फोरम, शेयर लगानीकर्ता संघ नेपाल, नेपाल पूँजीबजार लगानीकर्ता संघ, नेपाल पूँजीबजार संघ र शेयर लगानीकर्ता दबाब समूहकले संयुक्त रूपमा विज्ञप्ति जारी गरी नियामक निकायसँग आम लगानीकर्ताको सम्पत्ति सुरक्षाको माग गरेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [1]
User Image

Pushpa Raj Amatya

[Feb 25, 2021 03:05pm]

NIFRA को ७ दिन सम्म बजारभाउ बढी रहदा चाँप भएर पनी कुनै गडबडी नअाउनु तर शेयरधनीले अाफूलाइ रकमको अावश्यक्ता पर्दा बेच्ने समयमा चाँप बढेको भनेर समस्या देखाउनु लाइ अाम जन्ताहरू र शेयरधनीले कसरी बुझने भन्ने प्रश्न सर्वत्र फैलिएको छ । तसर्थ यस्मा परेको शेयरधनीको अार्थिक समस्यालाइ मध्यनजर गरी सहि ढंगबाट कसैलाइ हानी नोक्सानी नहुने गरी कार्यान्वयन हुन अति जरूरी छ । सम्बन्धित निकायले यस्तो गडबडीलाइ नजरअन्दाज गरी अागामी दिनहरूमा अाउन नदिनेगरी सहकार्य गर्नहुनु बिनम्र अनुरोध छ । होइन भने केही दिन बन्द गरेर भएपनी अपग्रेड वा प्राबिधिक गडबडी समाधान गरेर मात्र संचालन गर्नहुन अनुरोध गर्दछाैं । साथै नया नेप्से प्राइभेट कम्पनी खोल्ने स्विकृती प्रदान गरेको कहिले देखी संचालन हुने हो यस्ले पनी कार्य संचान गरेमा प्राबिधिक भारमा कमी अाएर संचाल गर्न मदत पुग्दछ भने यो पनी सहि बाटो हुनसक्दछ । अन्यथा शेयरधनीहरूलाइ जिस्काउने काम बन्द गर्नहुन अनुरोध छ । ५० केजी भार बोक्ने गधालाइ १०० केजी भार बोक्दा स्वतः गधा भार नबोकेर बस्न बाध्य हुने जस्तै यो कुराहरू जान्न पनी जरूरी हुन्दछ । तसर्थ समयमा नै सबै कुराहरू पुरा गरेर संचालन गरेमा सानातिन झिनामसिना समस्या भनेको अाइरहनेलाइ सुल्झाउन सकिन्छ होइन भने भाडा टाल्ने काम नगराैं ।तसर्थ सम्बन्धित निकायको गम्भिर ध्यान समयमा जान जरूरी देखिन्छ । धन्यवाद



   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)