ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पर्वतको बिहादीमा औद्योगिक ग्राम

२०७७ फागुन, १४  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar रोशन तिवारी

पर्वत । पर्वतको बिहादी गाउँपालिकामा औद्योगिक ग्राम विस्तारको पहिलो चरणको काम सम्पन्न भएको छ । संघ र प्रदेश सरकारको सहलगानीमा गत वर्षदेखि औद्योगिक ग्राम स्थापना सुुरु भएको थियो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धु्रव दयालका अनुसार संघीय सरकारको प्राप्त बजेटबाट अहिलेसम्म करिब ५८ लाख रुपैयाँ खर्चिएर विभिन्न संरचना निर्माण भएका छन् ।

‘सर्तअनुसारको पहिलो चरणको काम सकिएको छ’, दयालले भने, ‘पूर्वाधार निर्माणका अन्य काम संघ र प्रदेश सरकारको सहयोगमा निर्भर रहन्छ ।’ एक स्थानीय तह एक उद्योग कार्यक्रमअन्तर्गत बिहादी गाउँपालिका–२ बर्राचौरमा औद्योगिक ग्राम निर्माण अगाडि बढेको हो । पूर्वाधार निर्माणअन्तर्गत जग्गा सम्याउने, तारबार लगाउने, विद्युत् जडान, सडक निर्माण, पानीको व्यवस्थापन, सुरक्षा पर्खाल निर्माण, ढल निकासलगायत काम सम्पन्न भएका छन् ।

औद्योगिक ग्राममा संघबाट रकम प्राप्त भएर पूर्वाधार निर्माणको काम भएको र प्रदेश सरकारबाट हालै ३० लाख रुपैयाँ प्राप्त भएको दयालले बताए ।  प्रदेश सरकारले उपलब्ध गराएको रकमबाट थप काम गर्न बोलपत्र आह्वान गर्ने तयारी छ । औद्योगिक ग्राममा स्थानीय स्तरका ७ देखि १२ प्रकारका घरेलु तथा साना उद्योग स्थापना गर्ने लक्ष्य छ ।

फर्निचर उद्योग, कुटानी पिसानी मिल निर्माण, सलाई, अगरबत्ती उद्योग तथा स्थानीय कच्चा पदार्थमार्फत बन्ने वस्तु उत्पादन हुने उद्योग स्थापना गरिने गाउँपालिकाले जनाएको छ । प्रदेश सरकारबाट प्राप्त बजेटले साना तथा घरेलु उद्योग निर्माण हुने गाउँपालिकाका अध्यक्ष कमलप्रसाद भुसालले जानकारी दिए । औद्योगिक ग्रामलाई सञ्चालन गर्न गाउँपालिकाले अर्थ मन्त्रालयमा बजेट माग गरेको पनि भुसालले बताए ।  

मन्त्रालयमा २८ करोड रुपैयाँको डीपीआर तयार पारेर पेस गरिएको उनको भनाइ छ । ‘अर्थ मन्त्रालयमा थप बजेट माग गरेर पठाएका छौं’, भुसालले भने, ‘सरकारले साथ दिए यहाँ उद्योग स्थापनाको योजना साकार हुन्छ ।’

सरकारलाई बहुवर्षे पूर्वाधार विकासको रूपमा बिहादीको औद्योगिक ग्रामलाई समावेश गर्न प्रस्ताव गरिएको भुसालले जानकारी दिए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)