ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रुमको स्लेट र जडीबुटीलाई बजार अभाव

२०७७ फागुन, १४  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । घर छाउने ढुंगा, स्लेट र जडीबुटीको प्रचुर सम्भावना भएको म्याग्दीको रुम गाउँ सरोकारवाला निकायको बेवास्ताका कारण ओझेल पर्दै गएको छ ।

पश्चिम म्याग्दीको मालिका गाउँपालिका वडा–२ मा पर्ने रुमगाउँको सिरानमा रहेको डुडे लेकमा घर छाउने ढुंगा, स्लेट र औषधीजन्य जडीबुटीको खानी नै भए पनि त्यसबाट स्थानीय सरकारले पर्याप्त लाभ लिन नसकेको हो ।

गाउँको सिरानमा रहेको भिरालो पाखोमा विदेशबाट आयातीत संगमरमरभन्दा पनि स्तरीय स्लेट ढुंगा खानी रहेको छ । सो ढुंगाखानीलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने हो भने रोजगारीका साथै गाउँपालिकालाई समेत मनग्ये आम्दानी हुने स्थानीय टेकबहादुर रोकाले बताए ।

‘यहाँको स्लेट र ढुंगा गुणस्तरका हिसाबले साह्रै उत्कृष्ट छ । प्रविधि र प्रशोधनको व्यवस्था हुन सक्ने हो भने अन्तर्राष्ट्रिय बजारमा समेत अब्बल ठहरिने सम्भावना हुँदाहुँदै पनि सरोकारवाला निकायले ध्यान दिन सकेनन्’, रोकाले भने । रुमका विभिन्न ७ ठाउँमा स्लेट खानी रहेका छन् । त्यसबाहेक व्यक्तिगत जग्गा र पाखोमा समेत स्लेट खानी रहेका स्थानीय जगबहादुर पुनले जानकारी दिए । उनका अनुसार सरकारी पाखोमा रहेका खानीबाट वडालाई थोरै आम्दानी हुने गरे  पनि ती खानीलाई व्यवस्थापन गर्न नसक्दा ठूलो राजस्व गुमेको छ ।

रुम स्लेट र जडीबुटीका लागि महत्वपूर्ण ठाउँ भएको मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले बताए । यहाँ रहेका सम्पदाको पहिचान र व्यवस्थापन गरी तिनलाई स्थानीय तहको आयसँग जोड्ने प्रयास भइरहेको उनले दाबी गरे ।

केही वर्षअघिसम्म म्याग्दी, पर्वत, बागलुङ, कास्की, स्याङ्जा, अर्घाखाँचीलगायत जिल्लाका विभिन्न गाउँबाट यहाँका घर छाउने ढुंगाको माग आउने गर्दथ्यो । तर, हिजोआज पक्की घर निर्माण गर्ने क्रम बढ्दै गएपछि म्याग्दीबाहेक अन्यत्रबाट माग आउन छाडेको ४० वर्षदेखि खानीबाट ढुंगा निकाल्दै आएका ७२ वर्षीय छेमबहादुर विकले सुनाए ।

जडीबुटी र पर्यटकीय सम्भावना उत्तिकै

प्राकृतिक सौन्दर्यले भरिपूर्ण डुडेलेक बहुमूल्य जडीबुटीको प्रचुर सम्भावना भए पनि आवश्यक पूर्वाधार र प्रचार–प्रसार अभावमा ओझेल परेको छ । रुमको बेली गाउँबाट करिब ५ घन्टाको दूरीमा रहेको डुडेलेकबाट विभिन्न हिमशृंखला, मालिका गाउँपालिकाको अधिकांश भूभागका साथै मंगला गाउँपालिका र बागलुङका विभिन्न बस्तीसमेत देखिन्छन् ।

यहाँ बहुमूल्य जडीबुटी, भीर मौरी, लालीगुँराससहितका वनस्पतिसमेत प्रशस्तै पाइने रुम बेलीका तुलप्रसाद पुनले बताए । जडीबुटी र पर्यटनका लागि महत्वपूर्ण स्थान भए पनि सरकारी निकायबाट सहयोग नभएको गुनासोपछि मालिका गाउँपालिकाले स्थलगत अनुगमनसहित प्रचार–प्रसारको तयारी थालेको छ ।

लेकलाई धार्मिक, पर्यटकीय तथा मह सिकारको गन्तव्य बनाएर आन्तरिक पर्यटकलाई भित्र्याउन सकिने भएकाले गाउँपालिकाले पूर्वाधार विस्तारमा समेत बजेट विनियोजनको तयारी गरेको अध्यक्ष रोकाले बताए ।

उनले पदमार्गका लागि करिब ३ लाख बजेट समेत विनियोजन गरिएको जानकारी दिए । ‘त्यस ठाउँ जडीबुटी र पर्यटनको प्रचुर सम्भावना रहेको क्षेत्र हो,’ रोकाले भने । गाउँपालिकाभित्रका हरेक वडामा रहेका सम्भावनालाई प्राथमिकता दिएको अध्यक्ष रोकाको दाबी छ । विकट लेकमा मृग, रतुवासहितका वन्यजन्तुसमेत देखिन्छन् । लेकमा हरेक वर्ष जेठ २० गते विशेष पूजाआजासहित मेला लाग्ने गर्दछ ।

लेकमा रहेको शिवमन्दिरमा पूजा गर्न रुम, ओखरबोटसहित बागलुङबाट मनोकामना पूरा हुने जनविश्वासका साथ मानिस आउने गर्छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)