ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

३५.६% ले घटे नेपाल आउने विदेशी कामदार

२०७७ फागुन, १६  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा

काठमाडौं । नेपालमा रोजगारीका लागि विभिन्न मुलुकबाट आउने नयाँ विदेशी कामदारको संख्या घटेको पाइएको छ । चालू आर्थिक वर्षको माघ मसान्तसम्म नयाँ विदेशी कामदारको संख्या ३५ दशमलव ६ प्रतिशतले घटेको पाइएको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागबाट प्राप्त तथ्यांकले यस्तो देखाएको हो ।

विभागका अनुसार माघ मसान्त (७ महीना) सम्म ५०४ जना नयाँ विदेशी कामदारले नेपालमा काम गर्न श्रमस्वीकृति लिएका छन् । गत आवको सोही अवधिमा भने ७८३ जना नयाँ विदेशी कामदार रोजगारीका लागि नेपालमा आएका थिए ।

यस्तै यस अवधिमा नेपालमै कार्यरत ७९३ जना विदेशी कामदारले आफ्नो श्रमस्वीकृति नवीकरण गराएका छन् । गत आवको सोही अवधिमा ६२९ जनाले आफ्नो श्रमस्वीकृति नवीकरण गराएका थिए । गत आवभर भने १ हजार ९१ जनाले नयाँ श्रमस्वीकृति र ९५९ जनाले श्रमस्वीकृति नवीकरण गराएको विभागको तथ्यांकमा उल्लेख छ ।

हाल नेपालमा भारत, चीन, अमेरिका, अस्ट्रेलियालगायत ८० भन्दा बढी देशका १६ हजार ३७८ जना कामदार कार्यरत छन् । नेपालमा सबैभन्दा बढी कामदार चीनबाट आएको श्रम विभागको भनाइ छ । यी औपचारिक रूपमा श्रमस्वीकृति लिएर नेपालमा काम गर्दै आएका कामदार हुन् । दक्षिण छिमेकी मुलुक भारतका कयौं कामदार श्रमस्वीकृति नलिई नेपालको विभिन्न क्षेत्रमा काम गर्दै आएका छन् । नेपालमा जलविद्युत् आयोजना, पाँचतारे होटेल, विदेशी स्वामित्वका बैंक तथा बीमा कम्पनी, विमान कम्पनी, गैरसरकारी संस्थालगायत क्षेत्रमा विदेशी कामदार रहेका छन् । उनीहरूले नेपालबाट अर्बाैं रुपैयाँ रेमिट्यान्स (विप्रेषण) लैजाने गरेका पनि छन् । विशेषगरी यसपटक कोरोनाका कारण विदेशी कामदारको आगमन घटेको बताइएको छ ।

नेपालमा चिनियाँ कामदारहरूको अंश बढी छ । विशेषगरी नेपालको जलविद्युत् आयोजनामा चिनियाँहरू प्राविधिक जनशक्तिका रूपमा आउने गर्छन् । तर, कोरोनाका कारण विगत १ वर्षदेखि नै चिनियाँ कामदार आवश्यक मात्रामा नेपाल आउन सकेका छैनन् । यस्तै, कोरोनाका कारण पाँचतारे होटेल, पर्यटन उद्योगलगायत क्षेत्र प्रभावित हुँदा पनि त्यस्ता क्षेत्रमा पहिलाको जस्तो नयाँ विदेशी कामदार मगाउन नसकिएको बताइएको छ ।

विभागका महानिर्देशक सनत केसीले कोरोना महामारीका कारण विदेशी कामदार घटेको बताए । पहिला कोरोना नियन्त्रण गर्न लगाइएको बन्दाबन्दीमा त विदेशी कामदारको आगमन शून्य नै रहेको उनको भनाइ छ ।

पछिल्लो समय भने विदेशी कामदारको आगमन बढ्न थालेको उनको भनाइ छ । ‘बन्दाबन्दीमा नयाँ विदेशी कामदारको आगमन शून्य नै थियो । श्रमस्वीकृति नवीकरणको काम मात्र भएको थियो,’ उनले भने, ‘तर, सरकारले बन्दाबन्दी हटाएपछि र अन्तरराष्ट्रिय हवाई उडान खुलाएपछि विदेशी कामदार आउन थालेका छन् ।’

नेपालमा विदेशी कामदारलाई श्रमस्वीकृति दिने अधिकार श्रम विभागसँग छ । कामदारले रोजगारदाता संस्थाको निवेदन, कार्य क्षेत्रसँग सम्बद्ध मन्त्रालयको सिफारिश र गृह मन्त्रालयको सहमतिपत्र बुझाएपछि विभागबाट श्रमस्वीकृति पाउन सक्नेछन् । यसका लागि उनीहरूले वार्षिक रू. २० हजार रुपैयाँ बुझाउनुपर्ने हुन्छ । विदेशी कामदारले नेपालमा ७ वर्षसम्म काम गर्न पाउने श्रम ऐनमा व्यवस्था रहेको छ ।

नेपालको विभिन्न जलविद्युत् आयोजनाहरू, विदेशी स्वामित्वका स्ट्यान्डर्ड चार्टर्ड बैंक, एसबीआई बैंक, एभरेष्ट बैंक, नेशनल इन्स्योरेन्स, दि ओरियन्टल इन्स्योरेन्स, म्यारियट होटेल, याक एन्ड यति होटेल, सोल्टी होटेलजस्ता संस्थामा विदेशी कामदार रहेका छन् । यस्तै, विभिन्न शैक्षिक संस्थाहरू, विमान कम्पनीमा पनि विदेशी कामदार कार्यरत छन् । यसका अतिरिक्त निर्माणका क्षेत्रमा पनि विदेशी कामदार कार्यरत छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)