ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मिथिला सोलारले फागुन २१ देखि व्यावसायिक उत्पादन थाल्ने

२०७७ फागुन, १६  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar मिलन विश्वकर्मा

काठमाडौं । मिथिला सौर्य आयोजनाले आगामी फागुन २१ गतेदेखि व्यावसायिक रूपमा विद्युत् उत्पादन गर्ने भएको छ । १० मेगावाटको उक्त आयोजनाबाट गत हप्तादेखि परीक्षण उत्पादन शुरू भइसकेको छ । परीक्षण अवधि सकिएलगत्तै व्यावसायिक   उत्पादन थालिने आयोजनाले बताएको छ ।

इको पावर डेभलपमेन्ट कम्पनीले ९० करोड रुपैयाँ लगानीमा धनुषामा सो आयोजनाको निर्माण गरको हो । आयोजनाबाट उत्पादित विद्युत् नेपाल प्राधिकरणको ढल्केबर सबस्टेशनमा जोडिएको छ । प्राधिकरणका निर्देशक प्रबल अधिकारीले हाल परीक्षणको रूपमा विद्युत् उत्पादन गरेर ग्रिडमा जोडिएको बताए । फागुन २१ गतेदेखि भने व्यावसायिक रूपमै उत्पादन हुने उनको भनाइ छ ।

निजीक्षेत्रको यो सबैभन्दा ठूलो सोलार प्लान्ट हो । यसअघि रिडी हाइड्रो पावर कम्पनीले बुटवलमा ८ दशमलव ५ मेगावाटको सोलार प्लान्ट आयोजना सञ्चालनमा ल्याइसकेको छ । अन्य सोलार प्लान्ट निर्माणको चरणमा छन् ।

प्राइम बैंकको ऋण लगानीमा उक्त सौर्य आयोजना निर्माण गरिएको हो । निर्माण शुरू भएको ६ महीनामै आयोजनाको काम सम्पन्न भएको थियो । आयोजनाको डिजाइन, निर्माण, जडान तथा सञ्चालनको काम कुशल प्रोजेक्ट्स नेपालले गरेको कम्पनीले बताएको छ ।

२२ बिघा क्षेत्रफलमा फैलिएको आयोजनामा ४ मेगावाटका दुईओटा र १ मेगावाट क्षमताको एउटा विद्युत् उत्पादन युनिट छन् । हाल तीनओटै युनिटबाट विद्युत् उत्पादन भइरहेको छ । आयोजनाबाट विद्युत् उत्पादन शुरू भएपछि हिउँदमा भारतबाट आयात हने विद्युत्को मात्रामा घटाउन सकिने कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार सो आयोजनाबाट दैनिक ६० हजार युनिट विद्युत् उत्पादन भइरहेको छ । साथै, मासिक १९ लाखभन्दा बढी युनिट विद्युत् उत्पादन हुने बताइएको छ । उत्पादित विद्युत् विद्युत् प्राधिकरणले प्रतियुनिट ७ रुपैयाँ ३० पैसामा खरीद गर्ने सम्झौता भएको छ ।

सरकारले मिश्रित ऊर्जाको अवधारणा ल्याएर १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने नीति लिएको छ । सोही अनुसार निजीक्षेत्रले सोलार प्लान्टतर्फ लगानी गर्न थालेका छन् । इको पावर डेभलपमेन्ट कम्पनीले पनि मिथिलाबाहेक अन्य पाँचओटा सौर्य विद्युत् आयोजना निर्माण प्रक्रिया पनि अघि बढाएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)