ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोरोना खोप खरीदमा निजीक्षेत्रले देखाएन सक्रियता

२०७७ फागुन, १७  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar काशीराम बजगाईं

काठमाडौं । सरकारले औषधि ऐन २०३५ संशोधन गरी निजीक्षेत्रलाई समेत गरी कोरोना खोप आयातको बाटो खोलेको तीन महीना बित्दा पनि निजीक्षेत्रले आयातका लागि सक्रियता देखाएको छैन । सरकारले गत मङ्सिर पहिलो साता अध्यादेशमार्फत ऐन संशोधन गरी निजी कम्पनीले पनि औषधि व्यवस्था विभागमा दर्ता भई खोप आयात गर्ने बाटो खोलेको थियो ।

खोप आयातको बाटो खोलेपछि नेपालका लागि भारतीय कम्पनी सिरम इन्स्टिच्युटको आधिकारिक विक्रेता हुकम डिस्ट्रिब्युटर्स एण्ड लजिस्टिक प्रालि विभागमा दर्ता भएको थियो । सिरम अक्सफोर्ड–अस्ट्राजेनेकाले विकास गरेको कोभिशिल्ड खोप उत्पादन गरिरहेको कम्पनी हो । यद्यपि, भारत सरकारले सिरमले उत्पादन गरेको खोप नेपाललाई अनुदानमा उपलब्ध गराएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकार–सरकार (जीटूजी) मोडलमार्फत खोप ल्याएको थियो ।

दर्ता भए पनि हुकमले खोप आयातका लागि कुनै प्रक्रिया अघि नबढाएको विभागले बताएको छ । यसैगरी चीनले नेपाललाई अनुदानमा खोप उपलब्ध गराउने निर्णय गरेपछि विभागमा चिनियाँ कम्पनी सिनोफार्म दर्ता भएको छ । चिनियाँ राजदूतावासको सहजीकरणमा उक्त कम्पनी विभागमा दर्ता भएको हो । यसबाहेक अन्य कम्पनी विभागमा दर्ता भएका छैनन् । ‘एउटा निजी र अर्को चिनियाँ गरी दुईओटा कम्पनी दर्ता भएका छन्,’ विभागका सूचना अधिकारी सन्तोष केसीले भने । औषधि आयातको प्रक्रिया एवं दर्ताबारे निजी कम्पनी हालसम्म बुझ्न समेत नआएको उनको भनाइ छ ।

सरकारले भारत सरकारको अनुदानमा माघ ८ गते १० लाख डोज खोप पाएको थियो । यस्तै फागुन ९ मा १० लाख डोज खोप खरीद गरेको छ । सरकारले हालसम्म कोभिड विरुद्धको अभियानमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी, पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाई खोप लगाएको छ भने आगामी फागुन २३ गतेदेखि सर्वसाधारणलाई खोप लगाउने तयारी छ ।

औषधि आयातकर्ता संघका महासचिव पवन आचार्यले निजीक्षेत्र खोप ल्याउन तयार भएको, तर नेपालमा खोपको माग नभएकाले खोप नल्याएको तर्क गरे । हाल सरकारले वितरण गरिरहेको खोप समेत लक्ष्यअनुसार लगाउन नसकिएकाले नेपालमा खोपको माग नदेखिएको उनको भनाइ छ । ‘निजीक्षेत्र खोप ल्याउन तयार छ, तर खोप ल्याउन ठूलो लगानी चाहिने र नेपालमा माग नदेखिएकाले निजीक्षेत्र जोखिम लिन तयार नभएको हो,’ उनले भने । खोपको माग बढेपछि निजीक्षेत्रले खोप ल्याउने प्रक्रिया अघि बढाउने उनले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)