ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सडकले सिकायो विकासको परिभाषा : मोटर गुड्न थालेपछि दर्मिजा र चिमखोलाको मुहार फेरिदैँ

२०७७ फागुन, १७  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

फागुन १७, म्याग्दी । पैदल हिड्दा समेत आङै जिरिंग हुने अजिंगर भीर । वर्षौदेखि त्यही भीरहुँदै गाउँ–शहर आउजाउँ गर्ने दर्मिजा, चिमखोला, कुइनेमंगले लगायतका क्षेत्रका वासिन्दाहरु अब भने मोटर चढेर भीरलाई छिचोल्दै सरर गाउँ–शहरमा पुग्न पाएपछि विकासको परिभाषालाई बुझ्न थालेका छन् । 

२०७४ सालको माघदेखि म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटदेखि वडा नं ७ चिमखोला जोड्ने मोटरबाटो निर्माण गर्न थालिएको थियो । 

सडकको ट्याक खोल्ने काम सदरमुकाम बेनीदेखि रघुगंगाको मौवाफाँट, दग्नाम हुँदै अजिंगर भिरमा पुगेर रोकिएको थियो । तीन वर्षको लगातारको प्रयास पछि सडकको ट्याक निर्माणले पूर्णता पाएपछि दर्मिजा, चिमखोला र कुइने मंगले लगायतका गाउँको मुहार उज्यालिएको हो ।

रघुगंगाा गाउँपालिका ७ चिमखोलाका ७९ वर्षिय पार्थबहादुर थापा जीपबाट झरेर पछाडी फर्किए पछि दंग परे । पहिलो पटक जीप चडेर बेनीबाट आफ्नो गाउँ पुगेका थापाको चाउरीएको मुहारमा मुस्कान भरियो । ‘विकास, विकास भन्थे, कस्तो हुँदो रैछ ट भन्ने लाग्थ्यो, यस्टो पो हुँडो रैछ’ आफ्नै स्थानीय लवजमा उनले भने ‘जाँडा ट खुप डर लागेको, फर्किडा ट पटक्कै लागेन ।’

थापा मात्रै होइन, चरो नअडिने भीरमा मोटरगाडी गुड्न थालेपछि त्यस क्षेत्रका प्रायः सबै मानिसहरु दंगै परेका छन् । सडक र यातायातसँग विकासको के साइनो हुँदो रहेछ भन्ने कुरा यहाँका स्थानीयले बल्ल बुझ्न थालेका कुइनेमंगलेका हरि छन्त्यालले बताए ।

देख्दै डरलाग्दो ‘अजिंगर भिर’ मा सडक निर्माण भएपछि रघुगंगा गाउँपालिका–४ दर्मिजा, वडा नम्बर ७ चिमखोला र वडा नम्बर ८ कुइनेमंगले क्षेत्रका करीब ८०० घरधुरी प्रत्येक्ष रुपमा लाभान्वित बनेका छन् ।

आफ्नै जीवन कालमा यो भीरको बाटो हुँदै मोटर चढेर गाउँ र शहरमा आवत जावत गर्न सकिएला भन्ने कल्पनासम्म नगरेका यहाँका वृद्धवृद्धाहरु अहिले खुसीले दंग परेका स्थानीय अंकित पुनले बताए ।

उनीहरुलाई सडक कसरी बन्यो ? कति पैसा खर्च भयो ? पैसा कुन सरकारले दियो ? आदि कुराहरुको पनि चासो बढ्दै गएको छ । यस संवाददाता सँगसँगै गाडीमा बसेका फबहादुर छन्त्यालले निकै चासोका साथ सोधे ‘थोरैमोरै खर्चले ट के सकिन्ठ्यो होला र ? ज्यादा पैसो लागे होला है बाबु ।’

रघुगंगा गाउँपालिका र तुँदी पावर कम्पनीको साझेदारीमा यस वर्ष अजिंगर भिरमा सडक निर्माण गरिएको हो । कडा चट्टान भएको यस भिरमा विष्फोटक पदार्थको समेत प्रयोग गरि यस वर्ष करीब ८०० मिटर सडक निर्माण भएपछि सडकको ट्याक निर्माणले पूर्णता पाएको हो ।

यस भिरलाई लक्षित गरी चालू आर्थिक वर्षमा वडा नम्बर ७ चिमखोला र ८ नम्बर वडा कुइनेमंगलेको गौरवको योजनाको रुपमा रू. १ करोड र वडा नम्बर ४ को २५ लाख बजेट परिचालन गरिएको र गाउँपालिकाको बजेट बराबर तुँदी पावर कम्पनीले साझेदारी गरेको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए ।

यस सडक खण्डमा संघ, प्रदेश र स्थानीय सरकार मार्फत गरि अहिलेसम्म करीब ३ करोड बढी बजेट खर्च भैसकेको उनको भनाइ थियो । ट्याक खुलेपछि हिजोआज दैनिक रुपमा जिप, बोलेरो, ट्याक्टर, मोटरसाइकल आवत जावत गर्ने थालेका छन् । यातायातका साधनहरु सञ्चालन भएपछि गाउँ शहरसँग जोडिएको छ । स्थानीय उत्पादनको बजारीकरणमा सहज भएको छ ।

गाउँमा उत्पादन हुने तरकारी, कुखुरा, अन्न, भेडाबाख्रा विक्री हुन थालेपछि स्थानीयको आय समेत बढेको छ । अन्यन्त दुर्गम ठाउँ भएकोले पहिले फाट्टफुट्ट मात्र सदरमुकामबाट मानिसहरु जाने गरेकोमा अहिले भने घुम्न र मनोरञ्जन गर्नका लागि बेनीबाट समेत मानिसहरु जान थालेका स्थानीयले बताएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)