ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बाबियाचौर र लभ्लीहिलमा हरियाली पार्क निर्माण

२०७७ फागुन, १८  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

फागुन १८, म्याग्दी । म्याग्दीका दुई ओटा स्थानीय तहका पर्यटकीय स्थलमा हरियाली पार्क निर्माण गरिएको छ ।

बेनी नगरपालिका २ ज्यामरुककोटको खबरामा पर्ने लम्भीहिल र मंगला गाउँपालिका २ बाबियाचौरमा हरियाली पार्क निर्माण गरिएको हो ।

गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा पर्यापर्यटन कार्यक्रमअन्तर्गत प्रदेश सरकारको १८ लाख रुपैयाँको लागतमा मंगलाको बाबियाचौर तथा १२ लाख रुपैयाँको लागतमा लभ्लीहिलमा हरियाली पार्क निर्माण भएको डिभिजन वन कार्यालय म्याग्दीले जानकारी दिएको छ ।

शहरी क्षेत्रको बढ्दो प्रदूषणबाट बच्न र पर्यावरणको समेत संरक्षण गर्ने उद्देश्यसहित हरियाली पार्क निर्माणको अभियान सञ्चालन गरिएको हो । पर्यटकहरुको चहलपहल बढाउन तथा बालबालिका, ज्येष्ठनागरिक र पर्यटकलाई लक्षित गरेर निर्माण गरिएको हरियाली पार्कमा विभिन्न प्रजातिका सुगन्धवाल फलफुलका विरुवाहरु रोपिएका छन् । 

अक्सिजन उत्सर्जन गर्न, पर्यटकलाई वनस्पतिसम्बन्धी विषयमा सूचना दिन र जैविक विविधताको संरक्षण एवम् अभिवृद्धि गर्ने उद्देश्यले हरियाली पार्क निर्माण गरिएको डिभिजन वन कार्यालय म्याग्दीका निमित्त प्रमुख सन्तोष खनालले बताए । 

सामुदायिक वन क्षेत्रमा रहेका खाली तथा पाखो जग्गालाई हरियाली बनाई सफा र स्वच्छ हावा लिनका लागि समेत पार्क निर्माणमा जोड दिइएको छ ।

म्याग्दीको विभिन्न स्थानमा सामुदायिक वनअन्तर्गत खाली जग्गाजमिन र पाखो क्षेत्रलाई उपयोग गर्नेगरी हरियाली पार्क निर्माण गरिएको हो । निर्माण गरिएका पार्कमा दुबो, धुपी, कपुर, अशोक, बुलमहर, कल्कीफुल प्रजातिका सदाबहार हरियाली भैरहने र सुगन्धवाल बिरुवाहरु रोपिएका छन् । 

लभ्लीहिलमा हरियाली पार्क बनाएर विभिन्न प्रजातिका बोटबिरुवा रोपेसँगै पछिल्लोपटक लभ्लीहिल भ्रमण गर्ने आन्तरिक पर्यटकहरु बढ्दै जान थालेको खबराका स्थानीय चन्द्रबहादुर कार्कीले जानकारी दिए ।

मंगला गाउँपालिकाले भने गत आर्थिक वर्षमा मंगला इन्द्रेणी पार्क निर्माणमा २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । बाबियाचौर निवासी क्या ईन्द्रबहादुर अधिकारीले करीब ४ रोपनी जग्गा निःशुल्क दिएपछि इन्द्रेणी पार्क निर्माण गरिएको छ । 

इन्द्रेणी पार्क पसिरमा दुवो, धुपीलगायत सुगन्धवाल फलफुलका विरुवाहरु रोपिएको गाउँपालिकाका अध्यक्ष शतप्रसाद रोकाले बताए । दुवै ठाउँमा निर्माण गरिएका हरियाली पार्कले जिल्लामा आन्तरिक तथा बाह्य पर्यटकहरुको समेत चहलपहल बढाउने अपेक्षा गरिएको छ । 

यसैबीच चालू आर्थिक वर्षमा पनि म्याग्दी जिल्लाको विभिन्न स्थानमा प्रदेश सरकारको आर्थिक सहयोगमा गुराँस पार्क, हरियाली पार्क, रावणपार्क, पिक्नीक स्पोट, साईकल लेन बनाउने जस्ता योजनाहरु रहेका छन् । 

कार्यक्रमअनुसार सामुदायिक वन क्षेत्रको खाली जग्गामा बगैंचा बनाउने, बोटविरुवा रोप्ने, वृक्षारोपण गर्ने, शोभनीय खालका नयाँनयाँ विरुवाहरु लगाउने र बस्न मिल्ने ठाउँ बनाई हरियाली पार्कमा रुपान्तरण गर्ने तयारी अगाडि बढाइएको छ । पार्क निर्माण भएपछि यहाँ आउने पर्यटक र बालबालिका तथा बृद्धबृद्धाहरुलाई समेत निकै सहज भएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)