ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गाउँमै मोटर पुगेपछि नाचगान र खुशियाली

९० वर्ष कटेका बृद्धबृद्धा र १० वर्षिया बालिकाले गरे उद्घाटन

२०७७ फागुन, १८  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

फागुन १८, म्याग्दी । म्याग्दीको अत्यन्त विकट मानिएको अजिङ्गर भीरमा ट्याक खोलेर सोही बाटो हुँदै गाउँमा नै पहिलो पटक मोटर पुगेपछि दर्मिजा, चिमखोला र कुइनेमंगलेका वासिन्दाहरुले पञ्चेवाजा बजाएर नाचगान गरी खुसीयाली मनाएका छन् ।

सोमवार रघुगंगा गाउँपालिको दग्नाम, दर्मिजा–चिमखोला हुँदै कुईनेमंगले जोड्ने मोटरबाटोको ९६ वर्षिय दलबहादुर गर्बुजा, ९३ वर्षिया उदिमा कमिनी र १० वर्षिया लिस्मा पुनले मोटरबाटोको संयुक्त रुपमा उद्घाटन गरेपछि तीनओटै गाउँमा खुसीयाली छाएको हो । 

जिल्लाकै जोखिमयुक्त मानिने दग्नामको अजिंगर भिर छिचोलेर भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने कुइनेमंगलेको करीब ३६ किलोमिटर सडकखण्डको विस्तारसँगै गाउँमा मोटर गुड्न थालेपछि तीन गाउँका वासिन्दा हर्षले गद्गद् भएका छन् ।

दर्जिमामा आयोजित उद्घाटन समारोहमा बोल्ने बक्ताले दग्नाम र दर्मिजाको बिचमा पर्ने अक्करे अंजिगर भिरमा दुई तर्फबाट ट्याक खुलेसँगै तीन वडाका बासिन्दाको घरआगनमै मोटरबाटो पुगेकाले ठूलो सपना पूरा भएको बताएका थिए ।

मोटरबाटो उद्घाटन गर्दै ज्येष्ठ नागरिकद्वय कमिनी र गर्बुजाले गाउँमा सडक निर्माण भई गाडीहरु आएको देख्दा आफूलाई निकै खुसी लागेको बताए । ‘खुट्टाले हिड्न समेत नसक्ने चट्टानमा अहिले सडक बनेको छ, ‘मर्ने बेलामा गाउँमै आएको सडकको उद्घाटन गर्न पाइयो’ उनीहरुले भने । 

दर्मिजा, चिमखोला र कुईनेमंगले क्षेत्रका बासिन्दालाई सडक सञ्जालको सहज पहुँच पुयाउन अजिंगर भिरमा विष्फोटक पदार्थको समेत प्रयोग गरी सडक विस्तार गरिएको गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले बताए । ‘हाम्रो गौरवको आयोजनामा ठूलो सफलता मिलेको छ, ‘हामीले स्थानीयबासीलाई दिएको बाचा पूरा गरेका छौ’ अध्यक्ष भण्डारीले भने । 

उनले सडक सञ्जाललाई हरेक बर्ष मर्मत सहितको योजना समेत बनाउने बताए । उनले गाउँको विकासका ढोका अब खुलेकोले जनप्रतिनिधिसँग समन्वय गरी आयमूलक कार्यमा उपयोग गर्न माटो सुहाउँदो कृषि उत्पादनलाई समेत प्रोत्साहन गरिने बताए । सडक सञ्जालको अभावले कृषि उत्पादनको बजारीकरणमा समस्या भएको बताउँदै अब कृषकहरु निर्वाहमूखीभन्दा व्यवसायमूखी बनाउने गरी कृषि, पशुपालन सहित उत्पादनमुखी क्षेत्रमा आत्मनिर्भर बनाउने अध्यक्ष भण्डारीले प्रतिबद्धता जनाए । 

गाउँपालिकाको तीन करोड ६२ लाख ६० हजार ७५६ रुपैयाँ, गत आर्थिक वर्ष प्रदेश सरकारको र स्थानीय पूर्वधार साझेदारीको कार्यक्रमबाट ४३ लाख ११ हजार ९३१ रुपैयाँ खर्च भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिए ।

आव २०७५/७६ मा ६५ लाख बजेट परेकोमा २१ लाख ५४ हजार ४६४ मात्र खर्च भएको र २०७७/७८ मा पूर्वधार साझेदारी कार्यक्रममा आएको ५० लाममा २१ लाख ५७ हजार ४६५ रुपैयाँ खर्च भएको र बाँकी कोेरोना कोषमा जम्मा गरिएको सुवेदीले कार्यक्रममा पेश गरेको आर्थिक प्रतिवेदनमा  उल्लेख गरिएको छ ।  

प्रशासकीय अधिकृत सुवेदीका अनुसार स्थानीय तहको बजेट बाहेक तुँदी पावर कम्पनी प्रालि र संयुक्त उर्जा प्रालिको करीब ११ करोड लागतमा उक्त ट्रयाक खोलिएको हो । गलेश्वर–मौवाफाँट–दग्नाम हुँदै कुईनेसम्म पुग्ने ३६ किलोमिटर सडकको निमार्ण भएपछि हामी निकै शुखी भएका छौँ वडा न ४ दग्नामा वडा अध्यक्ष एकबहादुर गर्बुजाले भने । 

उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति खम बहादुर गर्बुजाले जनतालाई राहत मिलेको बताउँदै बाह्रमहीना सञ्चालन गर्न आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)