ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

छडको मूल्य बढ्दो क्रममा

२०७७ फागुन, १९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं । सिमेन्ट र छड उद्योगको उत्पादन क्षमता वृद्धि र खपत पनि सकारात्मक भएका बेला छडको मूल्य बढ्दो क्रममा रहेको छ । गत मङ्सिरमा प्रतिकेजी रू. १५ देखि रू. २० सम्म वृद्धि भएको फलामे छडको मूल्यमा हाल प्रतिकेजी रू.३ देखि रू. ४ सम्म बढेको हो । अर्काे मुख्य निर्माण सामग्री सिमेन्टको मूल्य भने यथावत् नै रहेको छ ।

विगत २ हप्तादेखि छडको मूल्यमा पुनः वृद्धि हुन थालेका छड उत्पादक तथा विक्रेताहरू बताउँछन् । छड उत्पादक कम्पनीहरूले मंगलवारमात्रै छडको औसत मूल्य भ्याटसहित प्रतिकेजी रू. ७४ मा विक्री गरेका छन् । यो मूल्य पुनः बढ्न सक्ने उनीहरूको भनाइ छ ।

उपभोक्ताले किन्ने मूल्यमा भने ढुवानी खर्च तथा अन्य खर्च पनि जोडिने हुँदा यसको बजार मूल्य बढी हुने लक्ष्मी स्टील्स्का एक अधिकारीले बताए ।

उनका अनुसार ३ हप्ताअघि यसको मूल्य प्रतिकेजी रू. ७० सम्म झरेको थियो । अहिले अन्तरराष्ट्रिय बजारमै कच्चा पदार्थ बिलेटको मूल्य बढेकाले नेपाली बजारमा पनि यसको मूल्य दिनप्रतिदिन वृद्धि भएको हो ।

नेपालमा सिमेन्ट तथा यसको कच्चा पदार्थ नै उत्पादन हुने भएकाले यसको मूल्यमा खासै उतारचढाव नआउने भए पनि छडको कच्चा पदार्थ विलेट भारतलगायत देशबाट आयात गर्नुपर्ने भएकाले अन्तरराष्ट्रिय बजारमा यसको मूल्य बढ्दा नेपालमा पनि स्वतः मूल्य बढ्ने गरेको उत्पादकहरू बताउँछन् ।

केही समययता छडको मूल्य घटेको भए पनि अहिले बिलेटकै मूल्य बढी भएकाले यसको मूल्य थप बढ्न सक्ने एक उत्पादकले बताए । उनका अनुसार डलरको मूल्य बढेको र कच्चा पदार्थको मूल्य पनि बढेको हुँदा आगामी हप्तासम्म छडको मूल्य थप बढ्ने देखिएको छ । छड उत्पादकहरूले आइतवारसम्म बिलेट आयात गर्दा प्रतिटन ५२५ अमेरिकी डलर तिर्नु परेको बताउँछन् ।

आयात गरिने बिलेटको मूल्य अझै केही प्रतिशतले वृद्धि हुने भएपछि नेपाली बजारमा पनि छडको मूल्य बढ्ने ती अधिकारीले बताए । यसअघि बिलेट किन्दा उनीहरूले प्रतिटन ५०५ अमेरिकी डलर तिर्नुपर्थ्याे ।

केही दिनकै अन्तरमा डलरको मूल्य पनि ११६ बाट मंगलवार ११७ दशमलव ९७ पुगेकाले पनि छडको मूल्यमा केही वृद्धि हुने देखिएको छ । पूर्वाधार निर्माणको सिजन भएकाले अहिले सिमेन्ट तथा फलामे छड उद्योगहरूले उत्पादन क्षमतालाई बढाइ ८० देखि ९० प्रतिशतसम्म पुर्‍याएका छन् । कोभिड–१९ का कारण अतिप्रभावित भएका निर्माण सामग्री उद्योगहरू अहिले मागसँगै खपत पनि सोहीअनुसार नै वृद्धि भइरहेको छ । यसअघि पूर्वाधार निर्माण सिजनको शुरुआतमै अधिकांश निर्माण सामग्रीको मूल्य बढेको थियो । त्यस बेला सिमेन्टबाहेक गिट्टीबालुवा र छडको मूल्यमा उच्च वृद्धि भएपछि निर्माण व्यवसायीहरू चिन्तित भएका थिए । नेपाल निर्माण व्यवसायी महासंघले प्रेस विज्ञप्ति नै जारी गरेर निर्माण सामग्रीको मूल्य बढिरहे काम गर्नै नसकिने दाबीसमेत गरेको थियो । अन्तरराष्ट्रिय रूपमै छडको मूल्य बढिरहँदा नेपालमा मङ्सिरताका यसको फ्याक्ट्री मूल्य नै प्रतिकेजी रू.८० भन्दामाथि पुगेको थियो । तर, बन्दाबन्दी र निषेधाज्ञाका कारण असोज तथा कात्तिक महीनामा यसको औसत मूल्य प्रतिकेजी रू. ६५ देखि रू. ७० सम्म झरेको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)