ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विद्युतीय भुक्तानीको सीमा बढ्यो, धितोपत्र कारोबारमा हट्यो*

प्रतिदिन मोबाईलबाट २ लाख र ईन्टरनेटबाट २० लाख कारोबार गर्न पाइने

२०७७ फागुन, १९  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा

फागुन १९, काठमाडौं । नेपाल राष्ट्र बैंकले मोबाईल तथा ईन्टरनेट बैंकिङमार्फत हुने दैनिक कारोबार सीमा बढाएको छ भने धितोपत्रको कारोबार गर्न भने सीमा हटाएको छ ।

केन्द्रीय बैंकले वुधबारदेखि लागू हुने गरी मोबाईल बैंकिङको कारोबार प्रतिदिन रू.२ लाख सम्म गर्न पाउने व्यवस्था  गरेको छ । यसअघि यस्तो सीमा दैनिक रु. १ लाखसम्म मात्र गर्न पाइन्थ्यो ।

अब धितोपत्र वयवसाय गर्न अनुमतिप्राप्त धितोपत्र दलालहरुसँग धितोपत्रहरुको कारोबार बापत तोकिएको बैंक खातामा रकमको भुक्तानी गर्न कुनै सीमाले नरोक्ने भएको छ । 

यसअघि धितोपत्र दलालहरूसँग धितोपत्रहरूको कारोबार गरे वापत सेवाग्राही ग्राहकबाट/ लाई प्रतिभुक्तानी कारोबार अधिकतम मोवाइल बैंकिङ तर्फ रु १ लाख र इन्टरनेट बैंकिङ तर्फ रु १० लाखका हिसाबले रकम भुक्तानी गर्न/ प्राप्त गर्ने व्यवस्था थियो ।

धितोपत्र कारोबारमा सीमा त्यती आवश्यक नदेखिएको र कहिलेकाहीं साबीक सीमाले नपुगेकोले यसको सीमा हटाएको राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कायृकारी निर्देशक भुवन कडेंल बताउँछन् । दिनप्रतिदिन कारोबारको आकार बढ्दै गएकाले विद्युतीय सीमालाई बढाईको उनको भनाइ छ ।  

यससँगै अब ईन्टरनेट बैंकिङमार्फत मर्चेन्ट पेमेन्ट र खातामा ट्रान्सफर गर्ने सीमा पनि दोब्बरले बढाएर २० लाख रुपैंयाँसम्म गर्न पाउने भएको छ ।  यसअघि यस्को सीमा दैनिक रु १० लाखसम्म मात्र थियो । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले भुक्तानी सम्बन्धि एकीकृत निर्देशन २०७७ मा संशोधन गर्दै उक्त सीमा तोकेको हो ।

राष्ट्र बैंकले विद्युतीय कारोबारलाई प्राथमिकता दिंदै नगद कारोबारलाई भन्दा विद्युतीय कारोबारलाई बढाउन यस्तो सीमा बढाएको हो । चालू आवको अर्धवार्षिक मौद्रिक नीतिको समिक्षामा समेत विद्युतीय भुक्तानीको सीमा क्रमश : बढाउदै जाने उल्लेख थियो ।

खासगरी क्यूआर कोडमा पनि बढि टर्नओभर भइरहेको छ ।कतिपयअवस्थामा मोबाईल बैंकिङको कारोबारमा १ लाख  रुपैयाँ नपुग देखिएकाले पनि यसलाई व्यवस्थापन र सहज गर्न सीमा बढाएको हो ।

यो सीमाले सेवाग्राहीले स्वतन्त्र रुपमा कारोबार गर्न सक्छन्,’ कार्यकारी निर्देशक कडेंलले अभियानसँग भने, ‘सबैबाट बुझेर सीमा बढाएका हौं । अझै यसलाई समयअनुसार थप सीमा बढाउदै जाने छौं । हामीले क्रमशः विद्युतीय भुक्तानीलाई सहज बनाउदै जान्छौं ।’ उनका अनुसार उक्त सीमा केहि क्षेत्रमा भने नलाग्ने साबीकको व्यवस्थालाई कायम गरिएको छ ।

जसअन्तर्गत व्यक्तिको नाममा बैंक तथा वित्तीय संस्थामा रहेको एउटा खाताबाट सोही व्यक्तिको नाममा सोही संस्थामा रहेको अर्को खातामा रकमान्तर गर्न सो सीमा लागू हुदैन ।

यसैगरी, नेपाल सरकारको सम्बन्धित कार्यालयमा भुक्तानी गर्नुपर्ने कर, राजस्व, जरिवाना, सवारी दस्तुर, रजिष्ट्रेशन तथा सेवा शुल्क जस्ता विविध शुल्कहरू भुक्तानी गर्न पनि सीमाले प्रभाव पार्दैन ।

यस्तै,विद्युत सेवा, दूरसञ्चार सेवा, खानेपानी सेवा, बीमा प्रिमियम, सामाजिक सुरक्षा भत्ताको रकमको भुक्तानी गर्न पनि सो सीमा लागू हुँदैन । यसैगरी, शिक्षण संस्था (विद्यालय/ कलेज), स्वास्थ्य संस्था, हवाई सेवा, यातायात सेवा र होटल तथा रेष्टुरेन्ट सेवा कारोबारको भुक्तानी गर्नुपर्ने बिल बमोजिमको रकम भुक्तानी गर्न सीमाले बाधा पुग्दैन ।

यसैगरी केन्द्रीय बैंकबाट अनुमती प्राप्त भुक्तानीका विशेष उपकरणमा पनि उक्त सीमाले बाधा नपुग्ने बताइएको छ । राष्ट्र बैंकका अनुसार भुक्तानी सम्बन्धी कारोबारको जोखिम मूल्याङ्कन र व्यवस्थापन गर्ने जिम्मेवारी अनुमतिपत्रप्राप्त सम्बन्धित संस्थाहरूको हुने भएकोले संस्थाहरूले यसमा आ–आफ्नो जोखिमको स्तरलाई आधार मानी आन्तरिक सीमा कायम गर्न सक्नेछन् । 

*बेलुका ८: ५२ बजे अद्यावदिक गरिएको

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)