ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सरकार र चन्दबीच वार्ता : निजीक्षेत्र उत्साहित

२०७७ फागुन, २०  
समाचार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar विजय दमासे

काठमाडौं । हिंसात्मक गतिविधिमा लागेको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग सरकारले बुधवारदेखि शुरू गरेको वार्ता सकारात्मक उन्मुख देखिएको छ । यसले निजीक्षेत्रलाई उत्साहित बनाएको छ ।

द्वन्द्वरत पक्ष शान्तिपूर्ण राजनीतिमा आउँदा लगानीमैत्री वातावरण विस्तारमा सघाउ पुग्ने र उत्पादन बढाउनका साथै, आपूर्ति प्रणालीलाई समेत चुस्तदुरुस्त राख्न सहज पुग्ने भन्दै निजीक्षेत्रले चन्दसँगको वार्तालाई सरकारले सफल पार्नुपर्ने बताएको छ ।

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले राजनीतिक अस्थिरता हटाउन र संविधानको सही कार्यान्वयन गरी मुलुकलाई आर्थिक समृद्धिको बाटोमा डोर्‍याउन द्वन्द्वरत पक्षसँगको वार्ता सफल पार्न सके महत्त्वपूर्ण हुने बताउँछन् । ‘संविधान सबैले स्वीकार्ने वातावरण भयो भने पनि लगानीमैत्री वतावरण सृजना हुनेछ,’ उनले भने ।

नेपाल उद्योग परिसंघका अध्यक्ष सतीशकुमार मोरले द्वन्द्वरत पक्षसँग सरकारले वार्ता थाल्नु सकारात्मक भएको बताए । उनका अनुसार सबै राजनीतिक दल शान्तिपूर्ण राजनीतिमा आउनुपर्छ र मुलुकलाई आर्थिक सबलीकरणमा लैजान लाग्नुपर्छ । हिंसात्मक गतिविधिमा लागेकाहरू शान्तिपूर्ण राजनीतिमा आउनेबित्तिकै उद्योगहरूलाई उत्पादन बढाउन र आपूर्ति प्रणालीलाई सहज बनाउन सहयोग पुग्ने उनको भनाइ छ ।

‘सबै राजनीतिक दललाई सरकारले शान्तिपूर्ण हिसाबले राजनीति गर्ने ठाउँमा ल्याउने हो भने निजीक्षेत्रलाई काम गर्ने वातावरण बन्छ, सरकारले राखेका महत्त्वाकांक्षी लक्ष्यहरूसमेत पूरा हुनेछन्,’ मोरले भने ।

गृहमन्त्री रामबहादुर थापाले चन्द नेतृत्वको नेकपासँगको वार्ता सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् ।

बुधवार बिहान र साँझ गरी दुई चरणमा सरकारी वार्ता टोली र चन्द नेतृत्वको नेकपाको वार्ता टोलीबीच संवाद भएको थियो । पहिलो चरणको वार्तापछि सामाजिक सञ्जाल फेसबुकमार्फत वार्ता सकारात्मक दिशातर्फ उन्मुख रहेको जानकारी गृहमन्त्री थापाले दिए । वार्ता सैद्वान्तिक र प्राविधिक विषयमा सहमति नजीक पुगेको दाबी गर्दै उनले लेखेका छन्, ‘केही विषयमा छलफल जारी छ । छिट्टै सुखद परिणाम आउने अपेक्षा छ ।’

सरकारी वार्ता टोली सदस्य एवं प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले दोस्रो चरणको वार्तापछि सामाजिक सञ्जालमा लेख्दै भनेका छन्,‘ वार्ता विषय केन्द्रित भएको र दुवै पक्ष समान धारणा नजीक पुगेको र छिट्टै सकारात्मक निष्कर्षमा पुगिँदै छ ।’

वार्तामा सरकारका तर्फबाट गृहमन्त्री थापा र प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार भट्टराई तथा चन्द समूहका तर्फबाट खड्गबहादुर विश्वकर्मा र उदय चलाउने सहभागी थिए ।

गृहमन्त्री थापा र चन्द समूहको वार्ता टोली संयोजक विश्वकर्मा सशस्त्र द्वन्द्वकालका सहयोद्धा हुन् । उनीहरू पुष्पकमल दाहाल नेतृत्वको तत्कालीन नेकपा माओवादी केन्द्रबाट छुट्टिएर गठन भएको मोहन वैद्य नेतृत्वको नेकपा माओवादीमा पनि सँगै थिए । वैद्य समूहबाट चन्द र विश्वकर्मासहितको समूह अलग भएको थियो । थापा भने देव गुरुङ, पम्फा भुसाललगायतसँग दाहाल नेतृत्वको तत्कालीन माओवादी केन्द्रमै फर्किएका थिए ।

बुधवार भएको वार्तामा आगामी वार्ताका लागि मोडालिटीबारे छलफल भएको बताइएको छ । यससँगै नेपाल प्रहरी र महान्यायाधिवक्ताको कार्यालयसँग थुनामा रहेका चन्द समूहका नेता कार्यकर्ताको विस्तृत विवरण झिकाएर अर्काे चरणमा थप छलफल गर्ने समझादरी बनेको चन्द पक्षीय वार्ता टोलीका एक सदस्यले बताए । आगजनी, विस्फोट, तोडफोड, जबर्जस्ती चन्दा असुलीलगायत आपराधिक, विध्वंसात्मक र हिंसात्मक गतिविधिमा संलग्न रहेको आरोप लगाउँदै सरकारले २०७५ फागुन २८ गते मन्त्रिपरिषद् बैठकबाटै निर्णय गराएर नेत्रविक्रम चन्द समूहमाथि प्रतिबन्ध लगाएको थियो । उसका गतिविधि नियन्त्रण गर्ने निर्णयसमेत गरेको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)